काठमाडौं : ठमेलस्थित होटल एल्फ्टमा आज छुटटै माहोल थियो। ‘म जिम्मेवार मतदाता’ लेखिएको सेल्फी पोइन्टमा फोटो खिच्नेको बाक्लो भिड थियो। नेपाली कलाकारहरु निर्वाचनका बारेमा छलफलका लागि भेला भएका थिए।
सेल्फी प्वाइन्टमा मात्रै नभई उनीहरु हातमा प्लेकार्ड समातेर फोटो खिच्न तम्सिरहेका थिए। प्लेकार्डमा ‘मेरो मत मेरो भविष्य’, ‘नेपालको लोकतन्त्र तपाईंको हातमा’, ‘तपाईंको मत महत्त्वपुर्ण छ’ र ‘जाउँ मतदान गर्न’ जस्ता नाराहरु लेखिएको थियो।
मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। आयोगले चुनावी माहोल निर्माणमा सहयोग गर्न कलाकारहरुलाई कार्यक्रममा बोलाएको थियो। जहाँ सन्तोष पन्त, हरिहर शर्मा, मनोज गजुरेल, कृष्ण मल्ल, दीपाश्री निरौला, आनी छोइङ डोल्मा, रमेश बुढाथोकी, राजा राजेन्द्र, शैलेन्द्र सिंखडा, दिनेश डीसी, सत्यराज आचार्य, जितु नेपाल, प्रकाश सपुत, मिलन नेवार,सुनिता दुलाल, माण्डवी त्रिपाठी, दीपक आचार्य काकु लगातयका कलाकारहरुको उपस्थिति थियो।
सुरुमै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सम्बन्धी केही जानकारी गराए। कलाकारबाट मुख्यतः सातवटा अपेक्षा राखेको उनले बताए। चुनावी माहोल बनाउने, सामाजिक सञ्जालमार्फत आयोगका सन्देश पुर्याउन मद्दत गर्ने, मतदाता शिक्षाका सन्देश प्रवाह गर्ने, निर्वाचन सम्बन्धी झुटा र गलत समाचारप्रति सजग रहन, आचारसंहिताको पूर्ण पालना गर्न मद्दत गर्न उनको आग्रह थियो। यति मात्रै होइन उनले मतदान गर्ने तरिका समेत सिकाए कलाकारहरुलाई।
अब बोल्ने पालो कलाकारहरुको। सुरुमै फ्याट्ट बोलिहाले सन्तोष पन्त। उनले मञ्चमै गएर प्रश्न तेर्साए ‘अहिले सामाजिक सञ्जालमा ‘नो, नट अगेन’को बारेमा चर्काचर्की नै छ। जसमा निर्वाचन आयोगले पनि पत्र काटिसक्यो। त्यो साँच्चिकै के हो? के हामीले नो, नट अगेन भन्न नपाउने नै हो? त्यसको प्रष्ट जवाफ चाहियो।’
थपलियाले हाँस्दै पन्तले निकै सान्दर्भिक कुरा उठाएको भनि जवाफ फर्काए। उनले ‘नो, नट अगेन’ को विषयमा स्पष्ट पार्दै भने, ‘निर्वाचन आयोगले निर्वाचनको बेलामा लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्ने, मिथ्या सुचना दिने र घृणात्मक फैलाउने कुरा जोड्न हुँदैन भनेको हो। साथै कसैलाई कुनैपनि किसिमले गालिगलौच गर्न पाइँदैन भनेको हो। अहिले हामी निर्वाचनको सुन्दर तलाउमा छौँ। कुनामा बसेर वा टाढा बसेर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुहोस् भन्न खोजेको हो।’
उनले सभ्य भाषामा नो, नट अगेन भन्न पाइने समेत बताए। उनले भने, ‘यहाँहरुले मजाले ‘नो, नट अगेन’ भन्न पाउनुहुन्छ। ‘नो, नेभर अगेन’ पनि भन्न पाउनुहुन्छ। तर सभ्य भाषा र मित्रवद्ध भाषामा भन्नुपर्छ। समाजले पचाउने भाषामा भन्नुपर्छ। सामाजिक सञ्जाल भन्नाले असामाजिक किसिमका कुनै पनि कार्य गर्न हुँदैन भन्ने आयोगको भनाई हो।’
थपलियाले निर्वाचनको बेला मात्रै नभएर अरु बेला पनि असभ्य तरिकाले लेख्न र बोल्न नहुने धारणा राखे।
कार्यक्रममा मनोज गजुरेलले ‘नो, नट अगेन’ बारेमा प्रस्ट पारेकोमा खुसी व्यक्त गरे। उनले निर्वाचनमा भोट कसरी हाल्ने सम्बन्धि आयोगले पिसिएहरु बनाउन आवश्यक रहेको बताए। साथै निवार्चनको बेला मिडिया र कलाकाहरुले पनि सकरात्मक कुरा प्रचार गर्नु जोड दिनुपर्ने गजुरेलको तर्क थियो।
त्यसैगरि, हाँस्य कलाकार शैलेन्द्र शिंखडाले चुनावमा नो भोटको व्यवस्थाबारे चासो राखे। त्यसैगरि, कलाकार हरिहर शर्माले धेरैलाई भोट कसरी हाल्ने र उम्मेदवार नै को हो भन्ने अन्यौल रहेको गुनासो पोखे। मतदाता शिक्षा पुग्न नसकेको ठाउँहरुमा आयोगले भोट कसरी हाल्ने भनेर प्रचार गर्न जोड दिनुपर्ने शर्माले तर्क राखे।
त्यस्तै हाँस्य कलाकार दिपक आर्चायले पहिलोपटक आयोगले यस्तो कार्यक्रम राखेको भनि खुसी व्यक्त गरे। निर्देशक तथा कलाकार दिपा श्री निरौलाले पनि चुनावी माहोलको छोटो समयमा आयोगले मोवाइलबाट नै चुनावी शिक्षा दिन सुझाव दिइन्।
गायक प्रकाश सपुतले निर्वाचन आयोगले सधैँ सहयोग गर्न तयार भएको बताए। आयोगले चुनाव प्रचारसामाग्री बनाउँदा कसै कलाकारलाई पारिश्रमिक दिने कसैलाई फ्रीमा काम गराउने प्रथाको विरोध गर्दैँ आफू सधै नि:शुल्क काम गर्न तयार रहेको सुनाए।
थपलियाले अन्तिममा बोल्दै आयोगले मतदाता शिक्षा दिने व्यक्तिहरु सम्पुर्ण गाउँगाउँमा पठाएको दाबी गरे। साथै उनले नो भोटको विषयलाई पनि सरकारसमक्ष लैजाने सुनाए।