PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

शेखरले जारी गरे संकल्पपत्रः सबै नागरिकको स्वास्थ्य बिमा, ज्येष्ठको निःशुल्क उपचार



अनन्तराज न्यौपाने

शेखरले जारी गरे संकल्पपत्रः सबै नागरिकको स्वास्थ्य बिमा, ज्येष्ठको निःशुल्क उपचार

विराटनगरः मोरङ ६ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको एजेन्डा अघि सारेका छन्। निर्वाचन क्षेत्रका लागि छुट्टै संकल्पपत्र सार्वजनिक गर्दै नेता डा. कोइरालाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको प्रतिबद्धता व्यक्त गरेका हुन्।

डा. कोइरालाले सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम पनि ल्याउने बताए।

संकल्पपत्रमा मोरङका गछिया, केसलिया (बुढी) र सिङ्गिया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने उल्लेख छ। तीन वटै खोलामा बर्खा याममा बाढी आउँदा मोरङको विराटनगर महानगरपालिकालगायत अन्य स्थानमा ठूलो क्षति हुने गरेको छ।

कोइरालाले विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईका पहलमा सरकारले १२६ बिघा जमिन अधिग्रहण गर्नुपर्ने भन्दै रोक्का राखेको थियो। तर अर्थमन्त्रीमा जनार्दन शर्मा आएपछि उनले ल्याएको बजेटले अधिग्रहणका लागि बजेटको निकासा गरेन। बजेटको सुनिश्चितता नभएपछि रोक्का राखिएको उक्त १२६ बिघा जग्गालाई डा. कोइरालाकै पहलमा सरकारले फुकुवा गर्ने निर्णय गरिसकेको छ।

नेता कोइरालाले संकल्पपत्रमा पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार गर्दै विश्वविद्यालयको आफ्नै मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइने जनाएका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा छ। विश्वविद्यालयले गोठगाउँमै मेडिकल कलेज सञ्चालन गर्न विगत २ दशकदेखि प्रयास गरिरहेको छ। तर सञ्चालनमा ल्याउन सकेको छैन। कलेजका लागि पूर्वाधार निर्माण भइसकेको छ।

कोइरालाले विराटनगरमा चक्रपथको काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन्। चक्रपथको निर्माण सुरु भएको २५ वर्ष भइसकेको छ। तर हालसम्म पूरा भएको छैन।

‘यस क्षेत्रको आर्थिक असमानता र गरीबीजस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ’, कोइरालाले भनेका छन्, ‘युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन। हाम्रो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको छ। अब विविधताका बिच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सद्भावलाई संरक्षण गर्दै यस क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउनु छ।’

मोरङ ६ मा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा डा. कोइरालासहित प्रदेश सभामा (क) बाट माओवादी केन्द्रका जीवन आचार्य र (ख) बाट कांग्रेसका केदार कार्की उम्मेदवार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell