पोखरा: चुनावको सरगर्मीले यतिबेला कास्कीको बजार क्षेत्र तातेको छ। दलहरुको घरदैलो कार्यक्रम पनि उत्तिकै चर्को गतिमा बढेको छ। चिया गफदेखि भेटघाटमा कुरा राजनीतिकै। १३ दिन बाँकी छ मतदानका लागि। पोखराको भित्री ग्रामीण क्षेत्रमा भने निर्वाचनको माहोल अझै बनिसकेको छैन। लेकसाइडबाट उत्तरतिर लागेपछि पोखरा महानगरपालिकाको २३ मा पर्ने फेवा फाँट र तालको मुहान पुगिन्छ। पर्यटकीय गन्तव्य पामेदेखि डुँडेफाँट, चंखपुर, लौरुक, ठूलाखेत र घाटीछिना यहीँ पर्छन्।
हिउँद लाग्न सुरु भयो। किसानलाई बाली थन्काउने चटारो छ। धान काट्ने चटारोले किसान खेतमै भेटिन्छन्। फेवा फाँटको क्षेत्र पुग्दा कहीँकतै मात्र देखिन्छ चुनावी प्रचारप्रसारको रौनक। त्यो पनि सम्पर्क कार्यालय मात्र। यीबाहेक चुनावी माहोल छैन यसक्षेत्रमा। आफनै दैनिकीमा व्यस्त छन् यहाँका बासिन्दा। दलहरु घरदैलो कार्यक्रमका लागि पनि पुगेका छैनन् यतातिर। शनिबार डुँडेफाँट पुग्दा केही स्थानीय गफिँदै थिए। गफ राजनीतिकै। आउँदो निर्वाचनका लागि उत्साहजनक गफ भने होइन। गुनासोको पोको फुकाउँदै थिए एकआपसमा उनीहरु।
गुनासो थियो सिँचाइको। नजिकै सुसाइरहेको हर्पन खोला। बस्ती नजिकै हर्पन खोला बगे पनि खेतीका लागि किसानलाई पानीको समस्या छ। फाँटमा लहलह झुलेको धानको बाला देखेर हरकोही लोभिन्छन्। तर, लहलह झुलेको धान पछाडिको दु:ख किसानलाई मात्रै थाहा छ।
डुँडेफाँटमा छ लोकबहादुर विकको घर। घरको आँगनमा सुकाएको एकपाथी जति धान। त्यहीँ आँगनको एक कुनामा गफिँदै थिए लोकबहादुर, डिल्लीराम र गोपाल विक। आफनै खेत छैन लोकबहादुरको। अधियाँ कमाउँछन् उनी। यसवर्ष धानमा बाली राम्रो लागेन। मल अभाव त थियो नै खेतमा पानीको समस्या उस्तै। आकाशे पानीमा भर पर्दै आइरहेका किसानलाई यसवर्षको बर्खामा थप समस्या पर्यो।
सिँचाइको कुलो नहुँदा खेतमा पानी लगाउन समस्या छ। त्यसैलै भल पानी छोपेर खेती गर्छन् किसान।
‘आफनो खेत छैन। एकहलको खेत उताबाट अधियाँ रोप्छु। कुलो नहुँदा पानी हुँदैन। हैरान परिन्छ। पानी हुँदा अलिकति रोप्ने हो नत्र त्यत्तिकै हो। भल छोपेर लगाउने हो। पानी आएपछि हिलो गर्यो तर हिलो सुकिहाल्छ,’लोकबहादुर भने।
गफिँदै गर्दा अर्का एक जनाको हातमा कागज थियो। कागज देखाउँदै गुनासो पोख्न हतारिँदै थिए डिल्लीराम अधिकारी। उनको हातको पर्चा थियो जसमा सांसदले विगतको पाँच वर्षमा गरेको कामको बारेमा उल्लेख थियो।
पामे क्षेत्र कास्कीको प्रतिनिधि सभातर्फ क्षेत्र नं. ३ मा पर्छ भने प्रदेश सभा ३ ‘ख’। २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट एमालेका जगत विश्वकर्माले जित्दा प्रदेशमा माओवादी केन्द्रका रामजी बराल विजयी भएका थिए। उनै निवर्तमान सांसद रामजी बरालले पाँच वर्षमा गरेको उपलब्धिको फेहरिस्त थियो उक्त कागजमा। बराल यसपटक पनि यही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार छन्। तर, कागजमा लेखिएका उपलब्धि उनले देखेका भने छैनन्।
३३ वटा बुँदामा समावेश भएका काम पढ्दै सुनाउँदै थिए उनी – पैसा आयो भन्छन् काम खै! के भयो? त्यहीँ बुँदाको ५ नं मा थियो – मजुवा डुँडेफाँट सिँचाइ योजनाका लागि ३० लाख। ‘प्रदेशबाट निर्वाचित सांसदको पहल कदमीमा पाँच वर्षको अवधिमा भएका काम’ भन्दै बुँदामा उल्लेख भए पनि किसानले भने त्यसको अनुभूति गर्न पाएनन्। सोही कुरा औल्याउँदै थिए डिल्लीराम।
‘यो पर्चा हाम्रो सांसद राजीव पहारीले पाँच वर्षमा यति–यति काम गरेँ फलाना–फलाना ठाउँमा भनेर लेखेको हो। उति बेला कुलो हुन्छ बस्ती संरक्षण हुन्छन् तपाईँले के समस्या छ भनेर सोधेका थिए। काम केही भएन,’उनले गुनासो पोखे।
अघिल्लो पटक मत माग्न आउँदा समस्या टिपेर गएका सांसद फेरि मत माग्न दैलोमा आउँदै छन्। समाधान नभएको कुलोको समस्या देखेर उनलाई मन छैन मत दिन।
‘खोला बढेर आयो भने चाहिँ कता बस्तीमा पस्छ भन्ने डर छ खेतमा पानी थोपा छैन। नेताहरुलाई भन्दा महानगरपालिकाले गर्छ भन्छन्। महानगरले केही गर्दैन,’ निराश हुँदै सुनाए, ‘हामी भोट नै हाल्दैनौँ जसलाई हाले पनि त्यस्तै रैछ। भोट हालेर जितायौँ के भयो? आफनो खुशी भए हाल्छौँ हालेनी नहाले मतलब के भयो? त्यो भोटले केही गर्दो नरहेछ।’
लगभग २८–३० घरधुरी छन् डुँडेफाँटमा। फाँटमा पुग्दा ७० वर्षका विष्णु पौडेल धान काट्न हिँड्दै थिए। उनको गुनासो पनि उस्तै।
‘त्यहाँ त्यत्रो खोला छ यहाँ पानी च्यापै छ अब के भन्ने। कुलो हुन्थ्यो भने यहाँ हिउँदमा पनि धान लगाउन हुन्थ्यो। पहिलाकाले तपाईँ जे भन्नुहुन्छ त्यहीँ पुर्याइदिन्छु भनेर भोट लिइहाले। अब भएपछि त्यस्ता कुरा हराए। त्यस्तै हो। बाटोघाटो पानीपँधेरो सबै सुविधा दिन्छौँ हामी भनेर भन्थे। भोट लिइसकेपछि आफ्नै सुर हुन्छ,’ उनले भने।