PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पोखरा विमानस्थलमा एरो थाईको जहाजबाट यान्त्रिक उडान, मंसिर १४ को मिति तय



रासस

पोखरा विमानस्थलमा एरो थाईको जहाजबाट यान्त्रिक उडान, मंसिर १४ को मिति तय

काठमाडौंः देशकै तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान हुने भएको छ। नोभेम्बर ३० अर्थात् मङ्सिर १४ गतेका दिनमा यान्त्रिक उडान गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

उक्त यान्त्रिक उडानका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी भएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार उक्त जहाजले यान्त्रिक उडानमार्फत विमानस्थलमा कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे-नगरेका विषयमा जाँच गर्नेछ। एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका छ।

उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ। सोही कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो। एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो।

चरा विज्ञले छोटो अनुसन्धान गरी चराचुरुङ्गी अनुकूल उडान हुनेगरी सुरुवातमा रातिको समयमा उडान गर्नेगरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना बनाएको छ। हालको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान गर्ने योजना रहेको महानिर्देशक अधिकारीले बताए। उनले भने, 'देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा पर्यटन प्रवर्दधन तथा आर्थिक गतिविधि बढाउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ। विमानस्थल सञ्चालन भएसँगै पोखरा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालमा सिधा जोडिनेछ।'

करिब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ। विमानस्थलमा हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ। एटिसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीले विमानस्थल निर्माण गरेको हो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार ‘फोरडी मोडल’ मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने बताइएको छ। उक्त विमानस्थलमा तीन वटा न्यारोबडी, चार वटा एटिआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ। विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell