PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना



दिनेश खड्का

विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना

काठमाडौं : विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नहुँदा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)का दुई आयोजना अलपत्र परेका छन्।

अध्ययन सकेर निर्माणमा जान तयार अवस्थामा रहेका ७७.५ मेगावाटको घुन्साखोला र ७०.३४ मेगावाटको सिम्बुवा खोला जलविद्युत आयोजना पीपीएकै नभएकै कारण रोकिएका हुन्। पीपीए नहुँदा फाइनान्सियल क्लोजरलगायतको प्रक्रिया सुरु गर्न नसकिएको कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमले बताए।

उनका अनुसार पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइएको छ। प्राधिकरणले कोटा सकिएको र हिउँदको माग नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका आयोजनाहरुले पूरा नगर्ने भन्दै साढे तीन वर्षदेखि रोकेको छ। दुवै आयोजना आरओआर प्रकृतिका हुन्। जसका कारण पूर्व तयारी सकेर निर्माणमा जानुपर्ने आयोजनाको भविष्य नै अन्योलमा परेको छ।

‘हामीले प्राधिकरणदेखि ऊर्जा मन्त्रालयसम्मै आग्रह गरिरहेका छौं। हाम्रा लागि मात्रै पीपीए खुलाउने कुरा भएन’, कम्पनीका एक अधिकारीले भने, ‘मन्त्रालय पनि निरीह छ।’ यी दुई आयोजना विकासका लागि करिब ३५ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

घुन्साखोला एचआइडीसीएलको सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडमार्फत निर्माण गर्न लागेको छ भने सिम्बुवा रेमिट हाइड्रो लिमिटेड मार्फत सिम्बुवा खोला निर्माण गर्न लागिएको छ। एचआइडीसीएलले नेपालमा भित्रने रेमिट्यान्सको केही अंश प्रयोग गरेर निर्माण गर्नेगरि नयाँ अवधारणा बनाएर यो आयोजना निर्माण अघि बढाउन लागेको हो।

रेमिट हाइड्रो २०१४ मा स्थापना गरेर अध्ययन सुरु गरिएको थियो। ८ वर्ष अध्ययनमै सीमित भएको छ। एचआइडीसीएलका एक इन्जिनियरले लगानीका लागि स्थापना भएको कम्पनीलाई आयोजना विकासको जिम्मेवारी दिन नहुने बताउँछन्।

‘जुन कम्पनी जे उद्देश्यका लागि स्थापना भएको त्यही काम गर्नुपर्छ। हामी वित्तीय संस्था हौ। हामीलाई आयोजना विकासको जिम्मा दिन हुँदैन’, उनले भने, ‘विद्युत उत्पादनका लागि स्थापना भएका कम्पनीलाई त्यस्तो जिम्मेवारी दिनुपर्छ।’

घुन्साखोला जलविद्युत आयोजना

घुन्साखोला जलविद्युत आयोजना ताप्लेजुङको घुन्सा खोलामा निर्माणको प्रस्ताव गरिएको छ। जसको विस्तृत अध्ययन प्रतिवेदन ( डीपीआर) र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (इआइए) रिपोर्ट तयार भएको छ।

आयोजनाबाट वार्षिक सरदर ४५९ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। यसको डिजाइन बहाव २१.२८ घनमिटर प्रतिसेकेण्ड छ। कुल हेड ग्रस हेड ४३२ मिटर छ। 

सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाको सम्पूर्ण मुख्य संरचना घुन्सा खोलाको दायाँ किनारमा रहनेछन्। हेडवर्क्स फक्ताङलुङ गाउँपालिकामा रहेको लामाटारमा प्रस्ताव गरिएको छ।

३२ मिटर लम्बाई र ६.७५ मिटर उचाइको बाँध निर्माण गरिनेछ। विद्युत उत्पादन भएपछि दायाँ किनारमा निर्माण गरिने २८.४ मिटर टेलरेस आउटलेट मार्फत पुन: घुन्सा-तमोर दोभान नजिकै पानी छाडिनेछ। ग्रस हेड ४३२ मिटर हुनेछ।

आयोजनामा २८८ मिटर डाइभर्सन टनेल प्रस्ताव गरिएको छ। हेडरेस टनेल ४३१९ मिटर हुनेछ। चारवटा अडिट टनेल रहेका छन्। अण्डरग्राउण्ड पावर हाउस  हुनेछ। तीनवटा पेनस्टक पाइप रहेका छन्। ३५.७८ मिटरको दुईवटा र ३० मिटरको एउटा पेनस्टक रहनेछ। 

सिम्बुवा खोला जलविद्युत आयोजना

सिम्बुवा जलविद्युत आयोजना ताप्लेजुङको सिम्बुवाखोलामा पहिचान भएको छ। आयोजना यसाङ, तामेवा, फक्ताङलुङमा निर्माण हुनेछ। 
हेडवर्क्स यसाङ गाउँ नजिकै प्रस्ताव गरिएको छ। पावर हाउस तामेवा गाउँ नजिकै निर्माण हुनेछ।

४३९२.६९ मिटरको हेडरेस टनेल प्रस्ताव गरिएको छ। यो आयोजनामा पनि अण्डरग्राउण्ड पावर हाउस हुनेछ। ग्रस हेड ८८८.८६ मिटर हुनेछ। उत्पादित विद्युतलाई ३५.४४ किमीको १३२ केभी सिंगल सर्किटको प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको ढुंगे साँघु सवस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने योजना छ।

आयोजना निर्माणका लागि २९ किमी पहुँचमार्ग निर्माण गर्नुपर्नेछ। निर्माण थालेको चार वर्षमा सक्ने योजना छ। यो आयोजनाको अन्तिम चरणमा विस्तृत अध्ययन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell