PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

घनश्यामको पुनः संसद् छिर्ने दाउ! रुपन्देही १ मा छविलाललाई सक्लान रोक्न?



रमेश पराजुली

घनश्यामको पुनः संसद् छिर्ने दाउ! रुपन्देही १ मा छविलाललाई सक्लान रोक्न?

बुटवल : नेकपा (एमाले)का दुई पूर्व सहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ। पाँच दलिय सत्ता गठबन्धन र एमाले, राप्रपा र जसपाको बिच भएको तालमेलका कारण यो निर्वाचन क्षेत्रमा दुवै पक्षका उम्मेदवारहरुले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन्।

रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल यतिबेला आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलौमा व्यस्त छन्। एमालेका पूर्व उपमहासचिव समेत रहेका भुसालले केही समय अघि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएपछि थप चर्चामा छन्।

आफ्नो गृहक्षेत्र समेत रहेको रुपन्देही १ मा भुसाल २८ वर्षपछि पुनः उम्मेदवारको रुपमा फर्किएपछि यहाँको चुनावी रौनक बढेको छ। भुसालले पहिलोपटक २०५१ को आम निर्वाचनमा उम्मेदवारी दिँदा यसै क्षेत्रबाट जित निकालेका थिए।

तर, त्यसपछिका निर्वाचनमा पार्टीले अन्य क्षेत्रबाट टिकट दिएपछि उनलाई यहाँबाट उम्मेदवार बन्ने मौका जुरेको थिएन। पार्टी, संसद् र आमवृत्तमा वैचारिक नेताको छवि बनाएका भुसाल पटक-पटक सांसद बनिसकेका छन्।

यसपटक भुसाललाई पाँच दलिय सत्ता गठबन्धनले सहयोग गर्दै साझा उम्मेदवारका रुपमा मैदानमा उतारेको छ। उनले त्रिभुज चुनाव चिह्न पाएका छन्।

एमालेबाट भने सचिव छविलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थन छ। 
विश्वकर्मा पनि यहाँका पुराना नेता हुन्। विश्वकर्मा र भुसाल केही समय अघिसम्म सहकर्मी थिए। यसअघिका निर्वाचनमा सँगसँगै हिँडेका भुसाल र विश्वकर्मा एकअर्काबिच प्रतिस्पर्धा गर्ने भएपछि आफ्नै पूर्व सहकर्मी बिचको पेचिलो भीडन्त सबैको चासोको विषय बनेको छ।

पूर्व सहकर्मीनै चुनावी मैदानमा आएपछि सर्वसाधारण मतदाता भने अन्योलमा छन्। सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)को भागमा परेको यो क्षेत्रमा भुसाललाई समर्थन गरेपछि माओवादी केन्द्रभित्रै पनि असन्तुष्टि बढेको छ।

तत्कालीन नेकपा र त्यसपछि एमालेमा चर्किएको अन्तरविरोधमा विश्वकर्मा अध्यक्ष केपी शर्मा ओली र भुसाल वरिष्ठ नेता माधव नेपालसँगको कित्तामा रहे। एमालेभित्रको आन्तरिक लोकतन्त्र सुधार गर्ने भन्दै नेपालसँग विद्रोहमा सहभागी नभएका भुसालले नेतृत्वले पूर्णरुपमा निषेध गरेपछि स्वतन्त्रबाट जनतामाझ आएको बताएका छन्।

२०७४ मा रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लडेका भुसालले राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहोरालाई फराकिलो मतान्तरले पराजित गरेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए।

यता, रुपन्देही १ मा भने २०७४ मा नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गर्दै वाम गठबन्धनबाट विश्वकर्मानै विजयी भएका थिए। विश्वकर्मा ३४ हजार ७५२ मत ल्याएर निर्वाचित हुँदा रज्जाकले २६ हजार ८८५ मत मात्रै पाएका थिए।

त्यसबेला विश्वकर्मालाई माओवादी केन्द्रको साथ थियो। २०७० मा भने विश्वकर्मालाई तिनै रज्जाकले हराएका थिए। रज्जाकले अहिले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

आ-आफ्नै जितको दाबी

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा क्रियाशील राजनीतिक दलहरूले चुवावी अभियानलाई तीव्र बनाएका छन्।

रुपन्देही-१ आफ्नो गृहक्षेत्र भएको र यस क्षेत्रमा आफूले पार्टी संगठन बिस्तारको क्रममा धेरै काम गरेका कारण जित सुनिश्चित रहेको भुसालको दाबी छ। भुसाल गठबन्धनको बलमा चुनावी मैदानमा खटिरहेका छन्।

भुसालले केवल चुनाव जित्नका लागि मात्र आफूले आश्वाशन नदिएको बताए। ‘मैले अनावश्यक र भ्रमपूर्ण आश्वासन बाढ्ने गरेको छैन्, गर्न सक्ने प्रतिबद्धताहरु सार्वजनिक गरिरहेको छु, ती प्रतिबद्धता पूरा नगरे जनताको कठघरामा उभिन तयार छु’, उनले भने, ‘हिजो पार्टीगत रूपमा केही अफ्ट्याराहरू थिए तर, अब म स्वतन्त्र छु र मेरो वास्तविक परीक्षा अब सुरु भएको छ, बोलेको कुरा पूरा गर्नेछु।’

विगतमा आफू संसदमा रहँदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्तिविरुद्ध निर्धक्कका साथ आवाज उठाउँदै आएको र जनताको साथ, माया र उत्साहीत भएका उनको भनाइ छ।

विश्वकर्माले आफूले २०७४ को निर्वाचनमा जितेपछि धेरै काम गरिसकेको र कतिपय काम गर्न बाँकी रहेकोले पुनः आफ्नो उम्मेदवारी रहेको बताए। जनतामा आफूप्रति विश्वास कायम रहेका कारण आफूले चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाइ छ।

एमाले रुपन्देही जिल्ला कमिटी सदस्य यम रानाले एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार विश्वकर्माले सत्ता गठबन्धन भन्दा करिव १५ हजार बढी मतले जित निकाल्ने दाबी गरे। ‘स्थानीय तहमा एमाले, राप्रपा र जसपाले पाएको मत हेर्दा हामी धेरै अगाडि छौँ,’ उनले भने।

भुसालसँग प्रचारप्रसारमा सँगसँगै हिँडिरहेका कांग्रेसका क्षेत्रीय सभापति हिरा केसीले सत्ता गठबन्धनले भुसालसहित गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन एकढिक्का भएर लागेको बताए। ‘गठबन्धनमा कुनै शंका छैन हामीले हाम्रा सबै उम्मेदवारहरुलाई जिताउँछौँ,’ उनले भने।

एमाले देवदह नगरका अध्यक्ष टीकाराम चापागाईंले हालै एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन्। चापागाईं पार्टी भित्रको असन्तुष्टिका कारण दुवै गठबन्धनका कार्यकर्ता र मतदाताको मत आफूले पाउनेमा ढुक्क छन्। यसको लाभ भने भुसाललाई देखिन्छ। यता, भुसाललाई टिकट नपाएकै कारण पार्टी परित्याग गरेको आरोप पनि लागिरहेको छ।

रुपन्देही १ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन्। यहाँ कूल १ लाख २९ हजार ५६० मतदाता रहेका छन्।

स्थानीय तह निर्वाचनको अंकगणित

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा यहाँ कांग्रेस अगाडि छ। कांग्रेसको सबैभन्दा धेरै ३२ हजार ९९९ मत छ। एमालेले ३० हजार ३०९, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, नेकपा एकीकृत समाजवादीले १ हजार २४३ र लोसपाले ३२५ मत ल्याएका थिए।

अहिले जुन किसिमको गठबन्धन बनेको छ, त्यसमा एमाले उम्मेदवार विश्वकर्मा बलिया देखिन्छन्। गठबन्धनमा राप्रपा र जसपा पनि जोडिँदा उनलाई चुनाव जित्न सहज छ। पालिकामा वडा अध्यक्षहरुले पाएको मतको आधारमा विश्वकर्मा १२ हजार मतले अगाडि छन्।

यो क्षेत्रमा सत्ता गठबन्धनले प्रदेशसभा १ (१) मा विश्वनाथ यादव र १ (२) मा अब्दुल रज्जाकलाई उम्मेदवार बनाएको छ। प्रदेशसभाका दुवै उम्मेदवार कांग्रेसका हुन्। यस्तै, नेकपा एमाले-राप्रपा-जसपा गठबन्धनबाट प्रदेशसभा १ (१) मा राप्रपाबाट आशिष चौधरी र १ (२) मा एमालेबाट पोलिटब्युरो सदस्य दधिराम न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell