PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्डले छाड्दा भाग्यमानी भएका यी डाक्टर जसले घरदैलोमा भेटिरहेछन् आफैँले उपचार गरेका मतदाता 



पहिलोपोस्ट

प्रचण्डले छाड्दा  भाग्यमानी भएका यी डाक्टर जसले घरदैलोमा भेटिरहेछन् आफैँले उपचार गरेका मतदाता 

  • प्रकाश भण्डारी/सविन ढकाल

चितवन : चुनावी माहोलका फरक दृश्यहरुले ध्यान खिचिरहेकै बेला हामी चितवनको गीता नगरमा पुग्यौं। यहाँ हामीले जे देख्यौं त्यस्तो अन्यत्र भने देखिएको थिएन। सडक किनाराका पसलमा होचो कदका हँसिला व्यक्ति भेटिएकाहरुसँग नमस्ते गर्दै कुराकानी पनि भ्याउँदै थिए। उनी रहेछन् डाक्टर भोजराज अधिकारी। उनलाई सडकमा भेट्नेहरुको प्रतिक्रिया रोचक थियो। हामी उनका गतिविधि नियालिरह्यौं आफ्नो परिचय नखुलाइ। भोजराज हिडिँरहेका थिए त्यहीसमय एक महिला उनीसामु आइपुगिन्।

‘डाक्टरसाप तपाईँले मेरो उपाचार गर्नु भएको हो नि,' डाक्टरको हात समाउँदै उनले भनिन्।

‘अहिले ठीक छ नि?' उनले सोधे।

महिलाले स्वस्थ रहेको बताएपछि डाक्टर अधिकारीले भने, 'यसपाला चुनावमा उठेको छु। तपाईँहरुको सहयोग चाहिन्छ।'

डाक्टर भोजराज केही अगाडि बढेका थिए एक वृद्धले उनलाई उसैगरी समाते। उनीसँग उपचार गरेको सम्झाए। मत माग्न हिँडिरहेका उनीसामु तिनै मानिसहरु प्रकट भइरहेका थिए जसको भोजराजले नाडी छामेका थिए।

१७ वर्षको मेडिकल प्रयाक्टिसबाट एकाएक प्रतिनिधिसभा निर्वाचनको चुनावमा होमिएका हुन् उनी। र, उनको निर्वाचन क्षेत्रमा देखिएको दृश्य अन्यत्रभन्दा फरक छ। उनको बोल्ने शैली देख्दा लाग्दैनन् उनी एउटा पेशाकर्मीमात्र हुन्।

जहाँ हामीले उनको घरदैलो देख्यौं त्यो चितवनको क्षेत्र नम्बर ३ मा पर्छ। नेपालको राजनीतिमा सधैं चर्चामा रहेमध्येको एक हो चितवन क्षेत्र नम्बर ३।

हामी त्यही चर्चित चुनावी क्षेत्रमा छौं जसको 'ब्रान्डिङ' लगातार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका थिए। सबै यथावत् चल्थ्यो भने यतिखेर प्रचण्डलाई नै यसैगरि घरदैलो गरिरहेको हामीले देख्‍थ्यौं। एकाएक प्रचण्ड गोरखातिर लागे चुनावी प्रतिस्पर्धाका लागि। र, 'लट्री' पर्‍यो अरु कसैलाई। केन्द्रमा प्रचण्डको पावर र भरतपुर महानगरपालिकामा रेणु दाहालको सक्रियताले पश्चिम चितवनको कसरी कायपलट भयो भन्ने हेर्दै यहाँ पुगेका हामीलाई भोजराजको चुनावी अभियानमा चाख लाग्नु स्वभाविक थियो। बलियो जग बनाएका प्रचण्ड यस क्षेत्रबाट भागेर गोरखा पुगेको चर्चा चितवनमा चलिरहेकै थियो।

'प्रचण्डले यहीँ चुनाव जित्थे। गोरखा जानै पर्दैन थियो,' नेपाली कांग्रेस निकट एक प्राध्यापकले हामीसँग भनेका थिए, 'यस क्षेत्रमा भएको विकास देख्‍ने जुनसुकै दलका मानिसले पनि उनलाई भोट हाल्थे।'

प्रचण्डले आधार बनाएको यही क्षेत्रमा कांग्रेसका बागीलाई नेकपा एमालेले साथ दिने निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चर्चित व्यवसायी विक्रम पाण्डेलाई उठाएको छ। एकाएक गठबन्धनबाट उम्मेदवार बनेका भोजराजका लागि चुनावी मैदान एउटा अप्रत्यासित अवसर नबन्ला भन्न सकिन्न।

अरु क्षेत्रबाट राजनीतिमा 'डेब्यू' गर्नेहरुलाई चुनावका बेला सबैभन्दा बढी खड्किने विषय मतदातासँगको परिचय हुने गरेको पायौं। मतदातासँग घुलमिल नहुँदा प्रचारप्रसारमा कठिनाइ भोगिरहेको स्वयम् उम्मेदवारहरुले नै स्वीकारेका छन्। तर, डाक्टर अधिकारीका हकमा भने यहाँ त्यस्तो देखिएन।

प्रचारमै प्रेब्स्क्रिप्सन !

लगातार १७ वर्ष उपचारमा सक्रिय रहेकाले भोजराजको जनस्तरसँगको बलियो सम्बन्ध छ। यतिखेर उनी डाक्टर-बिरामी सम्बन्धलाई भोटमा कन्भर्ट गराउने कोसिसमा छन्। त्यसैले पनि होला घरदैलोमा पनि उनले मानिसहरुको नाडी छाम्छन्  र प्रेसक्रिप्सन दिन भ्याइहाल्छन्। उनको चुनावी रणनीति अरुभन्दा फरक देखिनुको एउटा मुख्य कारण यो पनि हो। कतिपय ठाउँमा उनलाई आफू को हुँ भन्ने चिनाइरहन पनि परिरहेको छैन। नचिनेका ठाउँमा निर्धक्क चिनाउन पनि हिच्किचाएको देखिएन – 'हजुर म डाक्टर भोजराज अधिकारी। गठबन्धनबाट क्षेत्र नम्बर ३ को उम्मेदवार।'

अन्य भौतिक विकासको आश्वासन दिन होडबाजी गरिरहेका अरु उम्मेदवारभन्दा अलग देखिएका छन्। स्वास्थ्य नै उनको प्राथमिक एजेन्डा बनिरहेको छ यहाँ।

‘मेरो एजेण्डा स्वास्थ्य, शिक्षा, सुरक्षा रोजगारीबाहेक प्राकृतिक स्रोतको समुचित प्रयोग गर्दै बाढी पहिरको असर रोक्नु हो,’ उनले भने।

विकास भनेको सडक मात्रै होइन भन्ने बुझाउँदैछन् उनी। स्वास्थ्य क्षेत्रको नीतिगत सुधारलाई लक्ष्य लिएका छन्। राजनीति एउटा ठूलो रुख र त्यसैको एउटा हाँगो आफ्नो पेशा भएको बुझाइ रहेछ उनको।

‘चिकित्सकका हिसाबले च्याप्टर थियो त्यो। सर्भिसको रुल नै कस्तो थियो भने आवश्यक परेका र अप्ठेरो भएका मानिसहरुसँग जोडिने। राजनीति पनि जनतासँग गएर जोडिन्छ। खोला समुन्द्रमा मिसिएजस्तै हो,’ उनले भने।

‘राजनीतिमा मेरो ट्रान्सफर मात्रै हो’

‘यो मेरो एउटा रुपान्तरण मात्रै हो। चिकित्सकीय हिसाबको चिजलाई राजनीतिक रुपान्तरणका रुपमा बुझिदिए पुग्छ,’ एकाएक उम्मेदवार बनेको भन्नेलाई यसैगरि जवाफ दिन्छन् उनी।

प्रचण्डले चुनाव लड्ने तयारी गरेको क्षेत्रमा चुनाव लड्न पाउनु भोजराजका लागि जति अवसर उति नै चुनौती पनि। प्रचण्डबाट मतदाताले जेजस्ता अपेक्षा गरेका थिए त्यस्तै अपेक्षा भोजराजबाट गर्ने छैनन्। पूर्व प्रधानमन्त्री प्रचण्ड चतुर राजनीतिक खेलाडी त हुन् नै, 'वेटिङ प्राइमिनस्टर' पनि थिए। भोजराजलाई पनि प्रचण्ड उम्मेदवार हुनु र आफू उम्मेदवार हुनुको भेद थाहा छ।

‘प्रचण्ड गोरखा जाँदा चिट्टा पर्‍यो भन्नेप्रति पनि म खुशी नै छु। तर, चिठ्ठा चुनौती र अवसर दुवै हो। जे कारणले पर्‍यो भने पनि चुनावी मैदानमा सफल भइयो भने जनताको काम गर्ने हो,’ भोजराजले सुनाए, ‘क्षेत्र नम्बर ३ मा करिब २५ हजार दलित जनजाति आदिवासी छन्। त्यो तप्काको विश्वास मैले जित्ने र प्रचण्डले गर्नुभएको कुरालाई निरन्तरता दिएर निष्कर्षमा लैजाने भनेपछि त म झन् कम्प्लिट प्याकेज भएँ।’

भोजराजलाई कांग्रेसका असन्तुष्ट नेता तथा स्वतन्त्र उम्मेदवार दिनेश कोइराला, राप्रपाका उम्मेदवार विक्रम पाण्डेको चुनौती छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड ४८ हजार २७६ मत ल्याएर विजयी हुँदा दोश्रो भएका थिए पाण्डे। ३८ हजार ९३५ मत थियो पाण्डेको भागमा।

कोइरालालाई एमालेले बोकेको भए पनि कार्यकर्ताले उनलाई आफ्नो उम्मेदवार नस्वीकारेको दाबी गरे अधिकारीले। ‘एमालेका कार्यकर्ताले त मसँग एमालेको उम्मेदवार छैन् भनिराख्नुभएको छ। दिनेश कोइराला हाम्रो उम्मेदवार हो भनेर अपनाउनुभएकै छैन्। कांग्रेस कार्यकर्ताले पनि उहाँलाई उम्मेदवार मान्नु भएको छैन,’ अधिकारीले भने।

संसदमा पुगेर जनस्वास्थ्यको क्षेत्र सुधार्ने लक्ष्य बोकेका डाक्टर भोजराजलाई यस क्षेत्रका मतादाताले कति विश्वास गर्छन् मंसिर ४ ले देखाउनेछ। जुन क्षेत्रमा हामीले उनको उपस्थितिमा अरुतिर भन्दा फरक परिवेश देख्यौं त्यो भने हाम्रा लागि रोचक नै रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell