PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'एक हातमा सिन्दुर, अर्कोमा नागरिकता'को आरोप खेपेका रघुवीर भन्छन् : कांग्रेसले बोल्नै नआउनेलाई उम्मेदवार बनायो [अन्तर्वार्ता]



पहिलोपोस्ट

'एक हातमा सिन्दुर, अर्कोमा नागरिकता'को आरोप खेपेका रघुवीर भन्छन् : कांग्रेसले बोल्नै नआउनेलाई उम्मेदवार बनायो [अन्तर्वार्ता]

जनकपुरमा अहिले चुनावी रौनक चर्किएको छ। जाडो याम सुरु भए पनि यहाँ त्यति चिसो लागिसकेको छैन। मौसमले तापक्रम केही घटाएको त छ तर चुनावी सरगर्मी शहरदेखि देहातसम्म हप्प बनाउन पर्याप्त छ। सांस्कृति र चेतनाको हिसाबले पनि मधेशको राजधानीमा चुनावी रौनक अन्यत्रभन्दा कडा हुने गर्छ। घात प्रतिघातका श्रृङ्खला यहाँका लागि नियमित आकस्मिकता नै हुन्।

शहरी क्षेत्रमात्र होइन, धनुषाका भित्री गाउँ चुनाव चिह्न अंकित ध्वजा पताकाले सजिएका छन्। घर पर्खाल र बिजुलीका पोलमा उम्मेदवारहरुको पोस्टरले छपक्कै। घरदैलोपछि कोणसभालाई सम्बोधन गर्ने अनि अर्को क्षेत्रमा दौडिहाल्ने हतारोमा छन् उम्मेदवार। जनसंख्या धेरै भएकाले यहाँका उम्मेदवारलाई भ्याइनभ्याइ नै छ। यस्तै मेसोमा धनुषा क्षेत्र नम्बर ४ बाट फेरि प्रतिस्पर्धामा उत्रिएका पूर्व मन्त्री रघुवीर महासेठलाई हामीले मिथिला बिहारी गाउँपालिकाको वडा १० स्थित ठेरामा भेट्यौं। नेकपा एमालेका रघुवीर उही उम्मेदवार हुन् जोविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का महाजन यादव प्रतिस्पर्धामा छन्। उनीमाथि अर्का चुनौती हुन् कांग्रेसका सहमहामन्त्री एवं गठबन्धनका उम्मेदवार महेन्द्र यादव। यही सन्दर्भमा नेत्र तामाङसुमित मिश्रले सोधे :

तेस्रोचोटि चुनावी मैदानमा हुनुहुन्छ, पहिले र अहिलेको चुनावी माहोलमा के फरक पाउनुभएको छ?

नेपाली जनताको राजनीतिक सोच धेरै माथि पुगिसकेको छ। नेपाली जनता पञ्चायतकालीन अवस्थामा छैनन्। जनताले पञ्चायती बहुदलीय हुँदै गणतन्त्र पनि देखेका छन्। नेकपा एमालेले देशमा २०५१ सालदेखि धेरै काम गरेको छ। नेपाली जनताको आशा र विश्वासको केन्द्र भनेकै एमाले हो। एमालेबाहेक अरु पार्टीको तपाईँले धेरै कुरा सुन्न पाउनुहुन्न।

भनेपछि विकास जति सबै एमालेले मात्र गरेको तपाईँको दावी हो?

एमालेको योगदान छ। ओलीजीको नेतृत्वमा साढे तीन वर्ष सरकार रहँदा करिब ५ हजार चार सय ९८ किलोमिटर सिक्स लेन, फोर लेन, डबल लेन सडकहरु बनेका छन्। नेपालमा सडकको विकास सुरु भएदेखि ओली सरकार नबनेसम्म ७ हजार किलोमिटर थियो। ओलीको साढे तीन वर्षे कार्यकालमा साढे पाँचहजार। यसैबाट सोच्‍नुस् न!

२०७२ सालको भूकम्पपछि पुननिर्माण एमालेकै पालामा भयो। चाहे धरहरा होस् चाहे सिंहदरबार वा कमलपोखरी नै। पाँच लाख भन्दा बढी घर बनाउने काम भयो।

जनताको सामाजिक सुरक्षा भत्ता दिने काम पनि एमालेले नै गरेको हो। वृद्धवृद्धालाई सोध्नुस्। बोल्न सक्नेले बोलेर भन्छन्। नसक्नेले औंलाले सूर्यलाई देखाएर यसले दिएको भन्छन्।

काठमाडौंको विकासको कुराले यहाँ मत मागिरहनु भएको छ। तपाईँको आफ्नो क्षेत्रको अवस्था भन्नुस् न।

म मन्त्री हुँदा मेरो क्षेत्रमा मात्र खन्याएँ भन्ने नसोच्नु होला। देशकै विकासमा मैले समानुपातिक बजेट खर्चेको छु। आफ्नो क्षेत्रमा मैले भन्नै परेन। कुन पार्टीले काम गरेको छ जनताको हितमा? त्यो छर्लङ्ग छ नि।

अर्को कुरा एमालेमा आकर्षण बढ्दैछ मधेशमा। धनुषाको ठाउँ ठाउँमा विकास भएको छ। देशकै ठूलो पुल यहाँ छ। दुईटा पुल यहीँ छ। एउटा बटेश्वरमा, एउटा महेन्द्रनगरमा। १० लेनको पुल कहाँ छ नेपालमा? मैले त बिहारमा पनि देखेको छैन। धनुषाको महेन्द्रनगरमा ११ लेनको पुल छ।

विकासको कुरा तपाईंको दाबी भयो। तपाईँ पहिलोचोटि त पराजित हुनुभयो। अघिल्लो पटक पनि वाम गठबन्धनका कारण जित्नुभएको हो। यसपटक ठीक विपरीत गठबन्धन कांग्रेसतिर छ? गाह्रो हुने पो देखियो नि हैन?

गठबन्धनले मलाई केही बिगार्दैन। सूर्यलाई केही बिगार्दैन। २०७४ मा म २७०० मतान्तरले जितेको थिएँ। यसपाली मलाई कम्तीमा ७००० बढी मतले जिताउँछन्।

केन्द्रमा तालमेल गर्ने निर्णय गरेको जसपाकै साथ छैन तपाईंलाई। कसरी दावी गरिरहनु भएको छ?

जसपासँग हाम्रो गठबन्धन हैन। तालमेल हो। तालमेल भएकाले सिँगै प्रदेशमा ३ क्षेत्रमा जसपासँग मैत्रीपूर्ण प्रतिस्पर्धा छ। एउटा धनुषा २, धुनषा ४ र बारा ३। यसको कारण छ। मधेशको ३२ संघीय क्षेत्रमध्ये २९ ठाउँमा मिलेर लड्दै छौं। ३ ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा छ। उहाँहरु र हाम्रो द्वेष छैन।

तपाईँको घरबाट सुरु भएको हो नि जसपासँग तालमेलको कुराकानी। तपाईंकै विरुद्ध जसपाले प्रतिद्वन्द्वी खडा गर्दा मनमा त चिसो होला नि?

हैन। मलाई केही लागेको छैन। यो बेकारको कुरा हो। कोही मान्छे म लड्छु भनेपछि उसलाई पार्टीले रोक्न पाउँछ र? पाउँदैन।

भनेपछि अन्तिम समयमा जसपाका प्रतिस्पर्धीसँग सहमति हुने सम्भावना बाँकी छ?

सहमति हुँदैन। कुनै पनि अवस्था छैन।

फ्याक्ट कुरा नि गरौं न। तपाईँलाई अर्को तगारो भनेको स्थानीय निर्वाचनकै नतिजा हो। तपाईँको क्षेत्रमा पर्ने ५ वटा पालिकामध्ये ४ वटा त कांग्रेसले जितेको छ। त्यसले तपाईको दावीलाई कमजोर बनाएन?

चारवटा पालिकामा हामी अन्तर विरोधका कारण हारेको हो। हाम्रो भोटले कांग्रेस जितेको हो। प्रतिनिधि सभाको चुनावमा यसले केही असर गर्दैन। प्रतिनिधि सभा र स्थानीय निकायको निर्वाचन जहिल्यै फरक हुन्छ। स्थानीय तहमा स्थानीय विषयका कुरा उठ्छन्। प्रतिनिधि सभामा राष्ट्रिय विषयका कुराहरु उठ्छन्। हामीले पनि प्रतिवद्धता जाहेर गरेका छौं। यो जिल्लालाई मधेशकै उत्कृष्ट जिल्ला बनाउने सोचेको छु। यहाँ गठबन्धनको प्रभाव एमालेमाथि पर्दैन।

अर्को कुरा तपाईँमाथि आरोप नै आरोप लाग्ने गर्छ - एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता भनेर?

प्रतिद्वन्द्वीलाई कि त कामले जित्नुपर्‍यो, कि त मनले जित्नुपर्‍यो। कि त परीक्षामा पास हुनुपर्‍यो। अब मेरो प्रतिद्वन्द्वीलाई यो थाहा छ कि रघुवीर महासेठलाई के भनेर हुन्छ बदनाम गरुँ। उहाँले ममाथि आरोप लगाइरहनु भएको छ। तर, जनताले यो खारेज गर्छन्। उहाँको काम आरोप लगाउनेमात्र हो।

म जवाफ दिने हो। तर म गाली गालौचमा उत्रिन्न। उहाँहरुको स्कुलिङमा गालीगलौचको भाषा पनि सिकाइन्छ। उहाँले ममाथि जुन आरोप लगाइरहनुभएको छ त्यो हाम्रो प्रतिद्वन्द्वीको कमजोरी हैन, त्यो कांग्रेसको कमजोरी हो। किनकि कांग्रेसले त्यस्तो व्यक्तिलाई उम्मेदवार बनाएको छ जसलाई बोल्नसम्म आउँदैन।

एमाले केन्द्रको निर्णयको बचाउमा उत्रन कति गाह्रो है तपाईंलाई पनि?

एमालेले रैथाने मधेशीको हकमा रोकेकै छैन। हामीले ल्याएको विधेयकमा के कमजोरी थियो? कांग्रेसको सरकारले ल्याएको विधेयक छलफल गर्न नसक्ने अनि बहुमतको आधारमा त्यसलाई थन्क्याएर अर्को विधेयक ल्याउन मिल्छ? पेल्न मिल्छ? नागरिकताको विधेयक कांग्रेसको सरकारले ल्याउँदै ल्याउँदैन। नागरिकताको समस्या समाधान गर्‍यो भने अर्को चुनावमा उहाँको नारा के हुन्छ?

एमालेले रोकेको त हो नि नागरिकता विधेयक?

गल्ती कुरा। नेपालमा जन्मेको छोराछोरीलाई नागरिकता नदिने! अनि विदेशी बुहारीलाई आउनेबित्तिकै नागरिकता दिने? तपाईँलाई थाह छ आज हाम्रा चेलीहरु भारतमा बिहे गर्दा ७ वर्ष नागरिकता दिँदैन। बंगलादेशमा बिहे गर्दा ५ वर्ष नागरिकता दिँदैन। पाकिस्तानमा बिहे गर्दा ६ वर्ष नागरिकता दिँदैन। श्रीलंकामा बिहे गर्दा ३ वर्ष दिँदैन। तर, हामीले भारतीय चेली बिहे गर्दा भोलिपल्टै दिन्छौं कि दिँदैनौ? विदेशीलाई बिहे गर्ने बित्तिकै नागरिकता दिइरहेका छौं। हामी छोरीको बारेमा नसोच्ने, भान्जीको बारेमा नसोच्ने भतिजीकोबारेमा नसोच्ने अनि कहाँबाट मेरो छोरो ठूलो होला अनि बिहे गरौला, कहाँबाट बिहे गरेर ल्याउने हो थाह छैन। अनि त्यो बुहारीको चिन्ता अहिले गर्ने?

नेपालमा विद्यामान कानुन छँदैछ। नागरिकता नदिएको भए ठीकै थियो। बुहारीको बारेमा कुरा उठाएको भए हुन्थ्यो। भारतमा सोनिया गान्धीले जीवन बिताइन्। प्रधानमन्त्री बन्ने बेला के भयो बीजेपीका सांसदहरुले सोनिया प्रधानमन्त्री बने आत्महत्या गर्छु आत्मदाह गर्छु किनकि उ विदेशी छ। भारतमा सोनियालाई प्रधानमन्त्री बन्न नदिने अनि हामी नेपाली नेता विदेशी बुहारी ल्याएर आफ्नै देशको सुरक्षामा दयाँबायाँ गम्भीर नभएर अहिले नै हामी चिन्ता गर्ने बुहारीको नागरिकताबारे? सात लाख बच्चाहरुलाई नागरकिता नदिने अनि यस्तो कुरा गर्ने? यही जन्मेका सात लाखमा ६ लाख मधेशी छन् नागरिकता नपाउने। रोक्ने काम गठबन्धन सरकारले नै गरेको हो।

केन्द्रीय सचिव हुनुहुन्छ, २०७४ सालमा जितेर उप प्रधानमन्त्रीसम्म हुनुभयो, अबको आकांक्षा के हो?

हाम्रा श्रद्धये नेता केपी ओलीले नछाडिन्जेल एमालेमा नेतृत्व सम्हाल्छु भनेर कसैले भन्नुहुन्न। किनभने नेपाललाई उहाँको आवश्यकता छ। आज सिंगापुर त्यसै सिंगापुर भएको हैन। मलेसिया त्यसै मलेसिया भएको हैन। केपी ओलीको कारणले यत्रो विकासमा फड्को मारेको छ। जसपाको नेता उपेन्द्र यादवलाई सोध्नुस् उहाँले त्यही कुरा भन्नुहुन्छ। जनताको अधिकार दिने एमालेले हो। अरु पद पार्टी राजनीति गर्छन्।

मेरोमात्र हैन सम्पूर्ण पार्टीपङ्तिको साथ केपी ओलीलाई रहन्छ। हाम्रो निर्णय नै छ आगामी प्रधानमन्त्री केपी ओली नै भनेर निर्णय ठोकिसकेका छौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell