
हेटौंडा : नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन्।
मकवानपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार रहेका खतिवडालाई घरदैलो अभियानका क्रममा एक स्थानीयले हातपात गरेका हुन्।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडालाई गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेका थिए।
खतिवडामाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए।