PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

जुम्लामा पुगेर प्रचण्डले भने : गोमा गौतमलाई जिताएर पठाउनुस, मन्त्री बनाउँछौं



पहिलोपोस्ट

जुम्लामा पुगेर प्रचण्डले भने : गोमा गौतमलाई जिताएर पठाउनुस, मन्त्री बनाउँछौं

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।

जुम्लाको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भन्दै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक सहयोग गर्ने पनि बताए।

'त्यो विषय मसँग पनि जोडियो। एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो। त्यसले बजारीकरणमा टेवा पुग्यो। यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ। यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ,' उनले भने।

जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल भएको भन्दै त्यसको संरक्षण र प्रवर्द्धनका लागि प्रतिष्ठान स्थापना गरि जगेर्ना गरिने प्रचण्डले बताए। उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरेका छन्। आफूहरु निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौताहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको उनले बताएका छन्।

प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न  नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार संचालन हुने पनि बताए।

जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा (क) मा ललितजङ्ग शाही र प्रदेश (ख) बाट नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकाया चुनावी मैदानमा छन्।

यसअघि अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुँवरलार्ई मन्त्री बनाउने प्रतिबद्धता पनि सभामा व्यक्त गरेका थिए। उनले भने, 'गोमाजीलाई जिताएर पठाउनोस् मन्त्री बनाउने जिम्मा हाम्रो भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell