PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

कुस्ती चल्दा-चल्दै जब दर्शकबीच नै मच्चियो दंगल…

कुस्ती चल्दा-चल्दै जब दर्शकबीच नै मच्चियो दंगल…

रविन खाकी/पहिलोपोस्ट


गरुडा: मंगलबार दिउँसो पूर्णिमाको अवसरमा रौतहटको गरुडा नगरपालिका ५ मा रहेको लक्ष्मीपुरको झाझपुल छेउको मैदानमा कुस्ती चलिरहेको रहेछ। गौर जाँदै गर्दा बाटोबाटै दंगल खेल चलिरहेको देखेपछि मैदानमै पुग्ने रहर जाग्यो। टिभीमा देखिरहेको दंगल खेल प्रत्यक्ष हेर्न पाउने मौका किन गुमाउने।

दंगल मैदान पुगेँ। खेलाडी दाउ हेर्दै मच्चीमच्ची खेलिरहेका थिए भने चौर वरपर दर्शक भरिभराउ थियो। उनीहरु रोचक मानेर शान्तसँग हेरिरहेका थिए खेल। छेउमा आयोजक र सुरक्षाकर्मी थिए। उद्घोषकले खेललाई थप रोचक बनाउन किस्सा सुनाउँदै थिए। दर्शक एकोहोरो भएर खेल हेरिरहेका थिए।

बीचबीचमा दर्शकदीर्घबाट खेलाडीहरुलाई सम्मान गर्न चौर पस्थे। हजारको नोट थमाउँथे। खेलाडी खुसी हुन्थे। यसरी नै खेल चलिरहको थियो।  

करिब चार बजेतिर, भारत वाल्मिकी नगरका किशोर र नेपालका रोहित यादववीच कुस्ती चलिरहेको थियो। त्यही बेला उत्तरतिर बसिरहेका दर्शकबीच नै दंगल चल्यो। दंगल केही बेरमै हुलदंगामा बदलियो। अनि चलिरहेको खेल अवरुद्ध भयो। दंगल मच्चाउने धान खेततिर भाग्न थाले। आयोजकले प्रहरी गुहार्‍यो। दर्शक त्यतै ओइरिए। भारतीय पक्षले दंगल मच्चाएको भन्दै प्रहरीले तुरुन्तै नियन्त्रणमा लियो। धान खेतबाट उसलाई पक्रेर ल्यायो।

केहीबेरमै खेल पुरानै अवस्थामा फर्कियो। भारतका दुई खेलाडी अन्तिममा भिडे। पिन्टु पहलमान र अशोक पहलमानबीच खेल १० मिनेटसम्म चल्यो। दुबैको घम्साघम्सी निकै चल्यो। जितहार छुट्याउनै गाह्रो भयो। त्यसपछि आयोजकले समय थपिरह्यो। तर उनीहरुको घम्साघम्सी अन्तिमसम्म चलेपछि पिन्टु पहलमानले हार स्वीकारे। खेल मैत्रीपूर्ण रुपमा सम्पन्न भयो। उद्घोषकले अर्को वर्षको लागि निमन्त्रणा दिँदै खेल कार्यक्रमको बिट मारे।   

'कर्तिक कुवँर'को पूजाको उपलक्ष्यमा यहाँ हरेक वर्ष यस्तै कुस्ती कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष शिवशंकर पाण्डेले बताए।

यसपटक भारत र नेपालका गरी ५० जनाभन्दा बढी खेलाडी सहभागी भएको पाण्डेले बताए। '१५ जना भारतीय र ३५ जना नेपाली खेलाडी सहभागी भए,' पाण्डेले भने।

खेल मैत्रीपूर्ण हुने पुरस्कारको खासै व्यवस्था नहुने रेफ्रीको भूमिका निभएका कुस्ती प्रशिक्षक राजेश्वर राय यादवले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell