PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुदूरपश्चिममा भूकम्प : घर भत्किँदा डोटीमा छ जनाको मृत्यु, चार जना घाइते



पहिलोपोस्ट

सुदूरपश्चिममा भूकम्प : घर भत्किँदा डोटीमा छ जनाको मृत्यु, चार जना घाइते

डोटी : डोटी केन्द्रविन्दु भएर मंगलवार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।

मंगलवार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्। डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीपा जोशीले जानकारी दिइन्।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन्। गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए।

भुकम्पमा परी चार जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको जोशीले बताइन्। थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ।

स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ। भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए। केही स्थानमा सडक अवरुद्ध भएको छ। जिल्लाका अधिकांश स्थानमा विद्युत आपूर्ति समेत अवरुद्ध भएको छ।

त्यस अघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो।

भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो। यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन्।

मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए। खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताइन्। उनका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ।

राति हुनाले केही जानकारी आउन सकेको छैन। जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन्। पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक-पटक भूकम्पको धक्का महसुस भइरहेको छ। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell