कैलाली : डोटीको भूकम्पमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। बुधवार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन्।
भूकम्पमा परी गैरा गाउँका पदम बोहराको घर भत्किँदा उनकी श्रीमती भगवतीदेवी बोहरा, उनका छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ। यस्तै, सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका ३ का अधिकांश घर चर्किएको इलाका प्रहरी कार्यालय साना गाउँका प्रहरी सहायक निरीक्षक नयन सिंह भाटले जानकारी दिए।
भूकम्पमा परी ५ जना घाइते भएका छन्। घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया सिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन्। घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए। भूकम्प पछि घर चर्किदा स्थानीयले चौरमा रात बिताएका छन्।