PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

सुदूरपश्चिममा लगातार भूकम्पका चार धक्का : खुला स्थानमा स्थानीय, साना परकम्प अझै महसुस



पहिलोपोस्ट

सुदूरपश्चिममा लगातार भूकम्पका चार धक्का : खुला स्थानमा स्थानीय, साना परकम्प अझै महसुस
Photo : Nepal Army via ANI

काठमाडौं : मंगलबार रातिदेखि बुधवार बिहानसम्म सुदूरपश्चिम प्रदेशमा चारपटक भूकम्प गएको छ। डोटी जिल्लाको खप्तड क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३ पटक र बाजुरालाई केन्द्र बनाएर एकपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

डोटी जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत दीपा जोशीले अहिले पनि भूकम्पका साना परकम्प गइरहेको बताइन्।

उनको अनुसार डोटीमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन्। उद्धार कार्यलाई सम्पन्न भएको र क्षतिको विवरण उठाउने कार्य भइरहेको समेत उनले बताइन्।

'उद्धार कार्य सम्पन्न भएको छ। प्रहरी र रेडक्रस परिचालन भएका छन्। गाउँपालिकाको समन्वयमा प्रतिवेदन आएपछि राहत वितरण कार्य हुन्छ,' उनले भने।

जोशीका अनुसार हाल पनि साना परकम्प गइरहेकाले मानिसहरु खुला ठाउँमा भेला भएर बसिरहेका छन्।

डोटीमा सुरुमा मंगलवार राति ९ बजेर ७ मिनेटमा ५.७ म्याग्नेच्यूडको भूकम्प गएको थियो। त्यसको लगतै राति ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्नेच्यूडको भूकम्प गएको थियो। भूकम्प पश्चात मानिसहरु घरबाट बाहिर निस्किएका थिए। पछि राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्नेच्यूडको भूकम्प गएको थियो। सो भूकम्पको कम्पनबाट घरहरु भत्किएको र जनधनको क्षति भएको हो। ६.६ म्याग्नेच्यूडको भूकम्पको कम्पन भारतको उत्तराखण्ड र दिल्लीमा समेत महसुस गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

'नेपालमा गएको भूकम्पपछि उत्तराखण्डमा पनि ४.३ म्यग्नेच्यूडको भूकम्प महसुस भएको छ,' एएनआइले उल्लेख गरेको छ।

यस्तै, सुदूरपश्चिमकै बाजुरालाई केन्द्रविन्दु बनाएर बुधवार बिहानै ३ बजेर ५८ मिनेटमा ३.९ म्यग्नेच्यूडको भूकम्प पनि गएको केन्द्रले जनाएको छ।

बाजुरामा भूकम्पका कारण केही घरहरु चर्किएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए।

'खप्तड छेडेदह गाउँपालिकामा केही घरहरु भत्किएका रिपोर्ट आएका छन्। अरु क्षति भएको सूचना छैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell