
काठमाडौं : भुकम्पका कारण ६ जनाको मृत्यु भए पनि डोटीमा निर्वाचनका गतिविधि जारी छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मानवीय क्षतिका कारण निर्वाचनसँग सम्बन्धित काम गर्न कठिनाइ भए पनि चुनावको तयारीका कामहरु भने भइरहेको जानकारी दिएको छ।
जिल्लाका प्रमुख निर्वाचन अधिकृत करुणाकर पन्तले चुनाव तोकिएकै समयमा हुने बताए। 'केही अप्ठेरो भएको छ। तर हामीले काम रोकेका छैनौं। निर्वाचन तयारीका कामहरु भइरहेका छन्,' उनले भने।
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। अब मतदानका लागि ११ दिन मात्रै बाँकी छ।
खप्तड क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३ पटक र बाजुरालाई केन्द्र बनाएर एकपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। मंगलवार राति ९ बजेर ७ मिनेटमा ५.७ म्याग्नेच्यूडको भूकम्प गएको थियो। त्यसको लगतै राति ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्नेच्यूडको भूकम्प गएको थियो। राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्नेच्यूडको भूकम्प गएको गएपछि मानवीय क्षति भएको हो।