PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

ट्वीटर किनेको दुई साता नबित्दै मस्कले बेचे टेस्लाको ४ अर्ब डलर बराबरको सेयर



पहिलोपोस्ट

ट्वीटर किनेको दुई साता नबित्दै मस्कले बेचे टेस्लाको ४ अर्ब डलर बराबरको सेयर
Photo : Aly Song/Reuters

टेस्लाका मालिक इलन मस्कले कम्पनीको थप १ करोड ९५ लाख कित्ता सेयर बेचेका छन्। मस्कले  ३ अर्ब ९५ करोड डलर बराबरको उक्त सेयर बेचेको बताइएको छ।

विश्वकै धनाढ्य मस्कले ट्‍वीटरको ४४ अर्ब डलर बराबरको डिल सम्पन्न गरेको दुई साता नबित्दै विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयर बेचेका हुन्।

मस्कले यसैवर्ष ट्‍वीटर खरिद गर्ने घोषणा गरेसँगै हालसम्म टेस्लाको २० अर्ब डलर बराबरको सेयर बेचिसकेका छन्। गत अप्रिलमा मात्र उनले टेस्लाको ८ अर्ब ५० करोड डलर बराबरको सेयर बेचेका थिए। यसैगरि अगस्टमा अर्को ७ अर्ब डलर बराबरको सेयर बेचेका थिए।

मस्कले ट्‍वीटरमाथि आफ्नो प्रभुत्व जमाएसँगै कम्पनीको ५० प्रतिशत कामदार कटौती गरिसकेका छन्। उनले ट्‍वीट गर्दै कम्पनीले दैनिक ४० लाख डलर गुमाइरहेकाले कामदार कटौतीको विकल्प नभएको दाबी गरेका छन्।

उनले ब्लु टिकमार्कको मासिक ८ डलर चार्ज गरेसँगै सामाजिक संजालमा हलचल मच्चिएको छ।

यसैबिच टेस्लाले अमेरिकामा बिक्री भएका आफ्ना ४० हजार गाडी फिर्ता लिने बताएको छ। गाडीको पावर स्टेरिङमा समस्या देखिएपछि फिर्ता लिन लागेको कम्पनीले जनाएको छ।

मंगलबार मात्रै टेस्लाले ४० हजारभन्दा बढी कारमा समस्या देखिएका कारण फिर्ता लिने बताएको थियो। विद्युतीय कार निर्माता कम्पनीले सवारीको पावर स्टेरिङको प्रणालीमा समस्या देखिएकाले खराब सडकमा  कुदाउने क्रममा गाडीको स्टेरिङ फेल हुन सक्ने सम्भावना बढेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell