आइसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ। जसमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्।
सिड्नीमा हुने खेलमा टी-२० विश्व वरीयतामा पाँचौँ स्थानमा रहेको न्युजिल्यान्डले तेस्रो स्थानको पाकिस्तानको सामना गर्न लागेको हो। पाकिस्तानले हालसम्म एउटा टी-२० विश्वकप जितेको छ भने न्युजिल्यान्डले खाता खोल्न सकेको छैन।
न्युजिल्यान्डले पछिल्ला ५ खेलमा ३ मा जित, एक हार र एक खेल स्थगित भएको थियो। न्युजिल्यान्डले अस्ट्रेलिया, श्रीलंका र आयरल्यान्डविरुद्ध जित निकाल्यो भने इङ्ग्यान्डसँग पराजित भएको छ। अफ्गानिस्तानसँगको खेल एक बल पनि नगरी स्थगित भएको थियो।
त्यस्तै, पाकिस्तानले पछिल्ला ५ खेलमा ३ मा जित र २ मा हार व्यहोरेको छ। उसले भारत र जिम्बावेसँग पराजय व्यहोर्दा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशलाई जितेको थियो।
पाकिस्तान बाबर आजम र न्युजिल्यान्ड केन विलियमसनको कप्तानीमा मैदानमा उत्रिँदै छन्। पाकिस्तान गतिलो बलिङका लागि परिचित छ भने न्युजिल्यान्डको ब्याटिङ दरिलो छ।
न्युजिल्यान्डका शक्तिशाली ब्याटरले पाकिस्तानको अविश्वसनीय बलिङ आक्रमणलाई सम्हाल्न सक्छन् त भन्ने प्रश्न अहिले उब्जिएको छ। पाकिस्तानका शदाब खानले प्रतियोगितामा १० विकेट लिइसकेका छन् भने शहीन शाह अफ्रिदीको नाममा ८ विकेट छ।
न्युजिल्यान्डविरुद्ध जित निकाल्न सके पाकिस्तान १३ वर्षपछि फाइनलमा पुग्नेछ। सन् २००९ मा पाकिस्तानले फाइनलमा श्रीलंकालाई पराजित गर्दै विश्वकप जितेको थियो।
यता, न्युजिल्यान्डले जितेमा भने उ पहिलो विश्वकप विजयको नजिक पुग्नेछ। २०२१ मा भएको टी-२० विश्वकपमा न्युजिल्यान्ड फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।