गत सोमवार चितवनमा घरदैलोका लागि पुगेका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई हामीले पछ्याउँदा उनी पिठुवाको सरस्वती टोलमा रहेको एक घरमा भेटिए। देवकुमारी तिवारीको शोकमा किरिया बसेका छोराहरुसँग समवेदना साट्न पुगेका रहेछन् उनी। पाण्डेले शोकमा रहेका परिवारजनलाई सान्त्वनामात्रै दिएनन् उनले आफ्नो पार्टीको जेष्ठ नागरिकप्रतिको नीति पनि सुनाए।
‘चुनाव लड्न कति गाह्रो हुन्छ देख्नु भयो नि तपाईँहरुले!,' चितवन पुगेको हाम्रो टिमलाई देख्नासाथ पाण्डेले यसै भने।
मंसिर ४ को चुनावी अभियानमा जुटेका पाण्डेले प्रचारका क्रममा अर्थमन्त्री भएका बेलामा गरेका कामसँगै प्रतिस्पर्धीको कमजोरी पनि उधिनिरहेका थिए।
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन-१ बाट विजयी भएका पाण्डे यसपटक पनि सोही क्षेत्रमै उम्मेदवार छन्। उनको काउण्टरमा सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेललाई अघि सारेको छ। पाण्डेसामु एमालेको गढलाई कायमै राख्ने चुनौती छ। चितवनको विकासमा आफ्नो योगदानको दावी उनले गर्दै आएका छन्। उनकै शब्दमा प्रतिस्पर्धी पौडेलभन्दा उनी निक्कै बलिया उम्मेदवार हुन्। त्यही क्रममा पहिलोपोस्टका सविन ढकाल र प्रकाश भण्डारीले उनलाई सोधे - आफैँले पटकपटक जितिरहेको स्थानमा तपाईँको प्रतिस्पर्धा गठबन्धनका तर्फबाट योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलेसँग हुँदैछ। कत्तिको चुनौती महसुस गरिरहनुभएको छ?
मलाई त्यस्तो केही लागेको छैन। चितवनमा पाँचवटा निर्वाचन क्षेत्र थियो २०७० सम्म। २०७४ मा चितवनमा ५ बाट घटेर ३ वटा क्षेत्र कायम भयो। क्षेत्र १ र २ का धेरै भागहरु गाभिएर निर्वाचन क्षेत्र नम्बर १ बन्यो। त्यस हिसाबले म यस निर्वाचन क्षेत्रमा दोस्रो पटक निर्वाचन लड्दै छु।
त्यसैगरि नेकपा एमालेका विरुद्धमा गठबन्धन छ भन्ने त पूर्व जानकारीमै रहेको विषय हो। एमाले यस क्षेत्रमा बलियो राजनीतिक शक्तिका रूपमा रहँदै आएको छ। यस क्षेत्र नेकपा एमालेको गढ नै हो।
अर्कातर्फ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष त धेरै मान्छे भएका छन् नि! योजना आयोगको उपाध्यक्ष/सदस्य हुनुको अर्थ मन्त्री हुन, सांसद हुन योग्य भन्ने लाग्दैन। जनताका प्रतिनिधि भनेका राजनीतिक जीवन नै जनताको बिचमा बितेको हुन्छ। जनताका सुख दुःखमा उसले समय बिताएको हुन्छ। जनता के चाहन्छन् भन्ने उसले नजिकबाट आत्मसात् गरेको हुन्छ। योजना आयोग त कर्मचारी वा एकेडेमिक मान्छेहरु 'रिप्रिजेन्ट' गर्ने संस्थामात्र हो जहाँ उनीहरु राजनीतिक कार्यकर्ताका रूपमा भन्दा पनि बौद्धिक हिसाबले मात्रै काम गरेका हुन्छन्। त्यसअर्थमा त्यस क्षेत्र र यस क्षेत्र फरक हो। जनताको माया पाउने कुरा चुनौतीपूर्ण छ।
जो बलियो र पहुँचवाला छ त्यसको क्षेत्रमा विकास बजेट सजिलै जान्छ हाम्रो देशमा। प्रणालीबाट आइहाल्छ भन्ने मानिसहरु त्यसै पनि पछाडि परेको देखिन्छन्। पहुँच र क्षमताको कुरा पनि होला। चितवनका जनताहरु गतिशील छन्। छिटो माथि जम्प गर्नुपर्छ भन्नेहरु छन्।
तपाईँका कारण पूर्वी चितवनमा विकास धेरै हुन सकेन भन्ने तपाईँका प्रतिद्वान्द्वी पौडेलको आरोप छ। चेपाङ मार्गदेखि धेरै ठाउँमा बजेट हालेँ भन्ने दाबी गर्नुभएको छ उहाँले। यस हिसाबले तपाईँ कमजोर हुनुभयो नि?
यो सुन्दैमा हाँसो लाग्ने कुरा हो। चेपाङ मार्ग नाम सुन्नु भो उहाँले अहिलेमात्र। १२ वर्ष अगाडि २०६६ सालमा म अर्थमन्त्री भएपछि चेपाङ मार्ग नाम राखेर बाटो अगाडि बढ्यो। अहिले कति ठाउँमा पिच पनि भइसकेको छ। उहाँले अस्ति पाइलो टेकेर पैसा हालेको मैले भन्नुहुन्छ। उहाँलाई थाहा नै छैन। पूर्वी चितवनका सबै बाटाहरु पिच भएका छन्। खानेपानीका आयोजनाहरु पूरा भएका छन्। विभिन्न ठाउँका खेल मैदानहरु बनेका छन्। कसले गर्यो यी सब काम? उहाँलाई थाहा नै छैन।
हात्तीगाडेमा पुल छ। शक्तिखोर सौराहा तटबन्ध मैले नै राखेको बजेटबाट नयाँ शीर्षकमा विष्णु पौडेलले २५ करोड राख्नुभयो मन्त्री हुँदा। त्यसको निकासीको एउटा पत्रमा पैसा मैले (विश्व पौडेलले) हालेको भनेर फेसबुकमा प्रचार गरेको देखेँ पोहोर साल। यस्तो किसिमको नक्कली गफाडी कुरा गरेर केही पनि हुँदैन।
पहिले राष्ट्रिय बजेट आउनेमा चितवन जिल्ला ३० नम्बर भन्दा तल थियो। मैले ६० करोड क्यान्सर हस्पिटललाई राखिदिएँ। ६० करोड भरतपुर हस्पिटललाई दिएँ। माडीको विद्युतीकरणमा १२ करोड राखेँ। नारायणी तटबन्ध भनेर २० करोड राखेँ। ठिमुराको पुल, दासढुंगाको पुल, पूर्वी चितवनका थुप्रै आयोजनामा पैसा हालिसकेपछि बजेट आउने जिल्लमा शीर्ष १० भित्र पर्यो चितवन। अर्थमन्त्री भएपछि सबै पैसा चितवनमा लग्यो भन्ने आरोप पनि लाग्यो। त्यो पहुँच भएकै कारणले यहाँ पैसा आउन थाल्यो, नभए आउँदै आउँदैन थियो।
३५ वटा पुलमा पैसा हालेको छु। १०/१२ करोडका पुल बनेका छन्। उहाँले त्यो देख्नु नै भएको छैन। हिजो के थियो भन्ने थाहा नभएको मान्छेलाई अब के? सौराहाको सभागृहमा ६० करोड पैसा मैले हालेको हो। विष्णु पौडेल अर्थमन्त्री हुँदा देशभरिका तराईका जिल्ला सदरमुकाममा स्थानीय तहमार्फत् ४ अर्बका दरले सदरमुकाम पूर्वाधार परियोजना सुरु भयो। भरतपुरमा ४ अर्ब गयो। २०७२ सालको सरकारकै पालामा गएको हो त्यो रकम।
काठमाडौंमा जस्तो दरमा सुविधा जुम्लामा हुन्छ त? हामी त अलि भित्री भागमा छौं। पूर्वी चिवतन सदरमुकाम होइन। भरतपुरको चिज यहाँ रत्ननगरमा नहोला। पूर्वी शहरी क्षेत्रको विकास अहिले हेर्नुस त? कति भाइब्रेन्ट रुपमा भइरहेको छ।
उहाँ (विश्व पौडेल)ले पूर्व पश्चिम राजमार्ग टिकौलीदेखि पथलैयासम्मको बाटो आफूले गरिरहेको भन्नुभएछ। मैले तुरुन्तै सडक विभागको डीजीलाई हिजोअस्ति मात्रै फोन गरेर सोधेँ। सन् २०२० मै वसन्त नेम्वाङ भौतिक पूर्वाधार विकास मन्त्री भएका बखत डीपीआर भएर एसियाली विकास बैंकबाट बनाइदिने सम्झौता भएको थाहा भयो। त्यसले अहिले डीपीआर गरिरहेको छ। अब अर्को वर्षमात्रै लोन एग्रिमेन्ट हुन्छ। अहिले केही पनि भएको छैन। उहाँले मैले गरेँ भनिदिनुभएको छ। नकचरालाई के उपचार हुन्छ !
उहाँ त अर्थशास्त्री नै हो। झुटो त किन बोल्नु भयो होला र?
संसारमा सबै अर्थशास्त्री असल छन् र? म पनि त अर्थशास्त्री नै हो नि त। अर्थमन्त्री अर्थशास्त्री नहुने अरु हुन्छ र? म अर्थशास्त्री होइन, अर्थ चलाएको मान्छे हुँ नि। उहाँले के भन्नुभएछ भने बजेटै हाल्ने विषयमा त्यो अर्थमन्त्री भएको मान्छे म कहाँ आएन। अहिले योजना आयोगले पैसा नै हाल्दैन। त्यति पनि थाहा नपाएको मान्छे गफ चुटेर हिँडेको छ। अहिले त एलएमबीएस (लाइन मिनिस्ट्री बजेटरी सिस्टम) भन्छन्।
मन्त्रालय र अर्थ मन्त्रालयको बिचमा 'कोर्डिनेसन' हुन्छ। त्यसले बजेट किताब छाप्छ। सम्बन्धित मन्त्रालयले नै किताब छाप्छ, योजना आयोग जाँदै जाँदैन। योजना आयोगमा जब योजना बन्नका लागि जाँदैन भने म कहाँ आएन कसरी भन्नुभयो? यस्ता खालका झुट कुराका पछाडि मलाइ लाग्नु छैन।
प्रतिस्पर्धीमात्र होइन, एमालेभित्रकै असन्तुष्टिले चुनावी परिणाम कस्तो हुन्छ? यस क्षेत्रको मात्रै होइन देशभर कस्तो प्रभाव पर्ने देख्नु भएको छ?
टिकटका विषयमा हाम्रो पार्टीमा भन्दा अरु पार्टीमा धेरै विवाद भयो। कांग्रेसमा त्यही किसिमको भाँडभैलो छ। माओवादीमा छैन? कृष्णबहादुर महराजस्तो मान्छेले टिकट नै पाउनु भएन। अग्नि सापकोटाको नामै रहेन। हरिबोल गजुरेलको नामै आएन। कांग्रेसका मीनेन्द्र रिजालले टिकटै पाएनन्। प्रत्यक्षमा २३ जना उम्मेदवारले जितेको बेलाको जित्ने नेताले नै टिकट पाएन।
सुरुमा पार्टी अध्यक्षविरुद्ध लागेका तपाईँ लगायतका नेता १२ बुँदे सम्झौता गरेर एमालेमा फर्किनुभयो। त्यसको असर चुनावमा नपर्ला त?
त्यसको असर धेरै छैन, नगन्य देख्छु। एउटा बिन्दुसम्म असर हुन्छ, त्यसपछि सकिन्छ। मान्छेहरु नयाँ कुरातिर सक्रिय हुन्छन्। मैले देखिरहेको छु त्यसखालको असन्तुष्टि राख्ने मान्छे आम रूपमा छैनन्।
पार्टी विवादका बेलामा तपाईँ जुन समूहमा हुनुहुन्थ्यो त्यसमध्ये घनश्याम भुसाल र भीम रावलले टिकट पाउनु भएन। यसप्रति तपाईँको टिप्पणी के छ?
व्यक्तिगत कुरा गर्नु जरुरी होइन। तर, दुईजना मध्ये के ठीक हो भने भीम रावलले आलोचना गर्नुभयो पार्टीमा बस्नुभयो। त्यो ठिक लाग्छ मलाई। घनश्यामजीले पार्टी छोडेर जानुभयो, त्यो बेठिक। उहाँ जानु हुँदैनथ्यो। टिकट नपाउँदा पनि जान हुन्न थियो। त्यो कमजोरी देख्छु मैले।
यसपाला के छन् तपाईँका एजेन्डा?
पहिला मैले १० वटा काम गर्छु भनेको थिएँ। लोथरदेखि सौराहासम्मको आरसीसी ट्र्याक बनाउने भनेका थियौं। भण्डारा, मलेखु र हुग्दी सुरुङसहितको सडक बनाउने भन्यौँ। पूर्वी चितवनमा राम्रो रंगशाला बनाउने, अस्पताल बनाउने। सौराहादेखि लोथरसम्म जंगलसँग जोडिएका भागमा जंगली जनावर निस्केर बालीनाली नष्ट गर्ने भएकाले कंक्रिट वाल बनाउने। सौराहामा हल भनेका थियौं। शक्तिखोर औद्योगिक क्षेत्र बनाउने। त्यसमा इआइए गर्न ढिलाइ भयो। त्यो २ नम्बर क्षेत्रमा पर्ने भए पनि हाम्रो विकासका लागि औद्योगिक क्षेत्र बनाउने भन्यौं।
यी कुरामा यसपटक केही पृथक गर्नुपर्छ, केही 'कन्टिन्यु' गर्नुपर्छ। सुरु भएका र सम्पन्न हुन बाँकी परियोजना निरन्तरता दिनुपर्छ। चितवनको सबैभन्दा ठूलो प्रकोप बाढी हो। बाढीलाई नियन्त्रण गर्ने कुरालाई प्राथमिकता दिइरहेका छौं। यसपाली खेल क्षेत्रलाई प्राथमिकतामा राख्छौं। बुढाबुढी पनि जिम जाने स्थिति छ चितवनमा, काठमाडौंमा जस्तै। रंगशाला चाहियो भन्नेदेखि लिएर जिमखानासम्मको डिमान्ड छ। खेल र स्वस्थ्यको कुरा उठाएर यस क्षेत्रमा लगानी बढाउने योजना छ। व्यक्तिको आम्दानी बढाउने कुरा पनि एजेण्डा छ हाम्रो। चितवनमा आधुनिक खेती छ अन्तको भन्दा। तर पनि 'फिनिस्ड गुड' बनाएर बेच्ने स्थिति छैन। आधुनिक प्रशोधन उद्योगको लागि सम्भावना छ।