PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा



पहिलोपोस्ट

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा
Photo: ICC

टी २० क्रिकेट विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको छ। अस्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। जसका लागि ड्रायल मिचेलले सर्वाधिक अविजित ५३ रन बनाउँदा कप्तान केन विलियमसनले ४६ रन बनाए। त्यस्तै डेभोन कोन्वेले २१ रन बनाउँदा जेम्स नीशम १६ रनमा अविजित रहे। बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रीदीले २ विकेट लिँदा मोहम्मद नवाजले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानलाई कप्तान बाबर आजम र मोहम्मद रिजवानले सानदार सुरुवात दिलाउँदा १९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। रिजवानले सर्वाधिक ५७ रन बनाउँदा बाबरले ५३ रन बनाए। त्यस्तै मोहम्मद ह्यारिसले ३० रन बनाए।

बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिँदा मिचेल स्यान्टनरले १ विकेट।

जितसँगै प्रतियोगिताका सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै खराब सुरुवात गरेको पाकिस्तानले पुनरागमन गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो। दोस्रो सेमिफाइनलमा बिहीवार इङ्ग्ल्याण्ड र भारत प्रतिस्पर्धा गर्नेछन्। यी दुई टोलीबीचको विजेतासँग पाकिस्तानले फाइनल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell