
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन्।
आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले 'चुच्चे नक्सा' आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए।
'कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो', देउवाले भने, 'अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन्।'
उनले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाएका छन्।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो। 'अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेको छ', देउवाले भने, 'मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ।'
उनले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताए। गोकुलेश्वर विमानस्थल संचालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राखे।
'दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ', उनले भने, 'दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ।'
ओलीलाई प्रधानमन्त्री बनाउने म हुँ : ओली
सोही चुनावीसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताए। उनले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गरे।
पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको प्रचण्डको दाबी थियो।
भूमि फिर्ताका विषयमा उनले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसँग कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए। 'चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्', उनले भने, 'प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ।'
उनले पनि ओली एक्लैले नक्सा सार्वजनिक नगरेको बताए।
सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुन्। उनीसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहेका छन्। रासस