PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

चर्चित ठेकेदार विक्रम पाण्डेसँग एकाएक उम्मेदवार बनेका डाक्टर भोजराज कसरी भिड्दैछन्?  



पहिलोपोस्ट

चर्चित ठेकेदार विक्रम पाण्डेसँग एकाएक उम्मेदवार बनेका डाक्टर भोजराज कसरी भिड्दैछन्?  

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट गोरखा लागेपछि डाक्टर भोजराज अधिकारीका लागि अप्रत्यासित रुपमा चुनावी मैदान खुला भयो चितवन-३ मा। चुनाव लड्न प्रचण्डले चितवनमा घरै बनाएका थिए। तर, अन्तिममा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘वाकओभर’ गरे गोरखा-२ मा। चितवनमै चुनाव जित्नसक्ने विश्लेषणका बाबजुद प्रचण्ड गोरखा लागे। चितवनभन्दा गोरखा चुनावी जितका लागि सहज हुने माओवादीको विश्लेषण छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विक्रम पाण्डे र कांग्रेसका असन्तुष्ट नेता दिनेश कोइराला स्वतन्त्रबाट उम्मेदवार छन् चितवन ३ मा। यसपटकको चुनाव मार्फत् राष्ट्रिय राजनीतिमा डेब्युका लागि प्रतिस्पर्धामा छन् भोजराज। यहाँ एमालेको उम्मेदवार छैन। अर्कोतिर राप्रपाका पाण्डे पनि चितवन-३ मा बलियो छवि बनाएको नेताका रुपमा हेरिन्छ। गठबन्धन मार्फत् उम्मेदवार बनेका अधिकारीलाई कांग्रेसको मत आफ्नै पक्षमा पार्नु चुनौती छ। अर्कोतर्फ एमालेको उम्मेदवार नभएकाले एमालेको मत कोइरालालाई जान रोक्नुपनि भोजराजको अर्को चुनावी रणनीति हो। चिकित्सा पेशाबाट राजनीतिमा आएर चुनाव जित्ने रणनीति बनाइरहेका भोजराजसँग विज्ञान अधिकारी र सविन ढकालले गरेको कुराकानी।

डाक्टर हुनुहुन्छ राजनीतिमा आउनुभएको छ। कति अन्तर रहेछ राजनीति र चिकित्सा पेशा?

चिकित्सकका हिसाबले च्याप्टर थियो एउटा। सर्भिसको रुल नै कस्तो थियो भने आवश्यक परेका र अप्ठेरो भएका मानिसहरुसँग जोडिनुपर्ने। राजनीति पनि जनतासँग गएर जोडिन्छ, खोला समुन्द्रमा मिसिएजस्तै। अहिले चुनाव अगाडि जनता हामीलाई प्रधान भयो।

तपाईँले जसरी चिकित्सकको काम गर्नुभयो त्यसभन्दा त धेरै च्यालेन्ज छ चुनावमा। तपाईँलाई डाक्टर भएकैले मान्छेले मत देलान् त?

डाक्टरका रुपमा काम गर्दा पनि कम च्यालेन्ज थिएन। कनिष्ठ डाक्टरका रुपमा बजारमा आएको थिएँ। मलाई डाक्टर भोजराजले नाडी छाम्नासाथ ठीक हुन्छ भन्न थालेको करिब १० वर्ष मैले सेवा दिएपछि मात्रै हो नि। त्यो कुरालाई मैले मेन्टेन गरेको ७ वर्ष भइसक्यो। यसरी १७ वर्ष भएको हो यो पेशमा। राजनीतिमा भोजराजले गर्न सक्दो रहेछ भन्ने देखाउने चाहिँ जनताले मलाई विजयी गराएपछि नै हो।

राजनीतिक यात्रा कठिन भए पनि अवसर छ। राजनीतिको मुल लाइनमा जनताले अहिले जे भोगिरहेका छन् त्यसभन्दा फरक ढंगले मैले एजेण्डा राखेको छु। म मनोनयनदेखि नै प्रष्ट एजेण्डा लिएर आएको छु। कार्यान्वयन गर्न गाह्रो हुने एजेण्डा ल्याएको छैन। मलाई जसरी १० वर्षपछि डाक्टरमात्रै होइन काउन्सिलर पनि हो भनेर चिनिरहेका छन्, अब राजनीतिमा विकासका लागि भोजराज भन्ने योजनाको सुरुवाती दिनका रुपमा यसलाई मैले बुझेको छु।

प्रचण्ड गोरखा गएपछि तपाइलाईँ लट्री लाग्यो भन्नेहरु पनि छन्। अनि प्रचण्डले त्यत्रो तयारी गरेर किन तपाईँलाई दिनुभयो टिकट?

प्रचण्ड गोरखा जादा चिट्ठा पर्‍यो भन्नेप्रति पनि म खुशी नै छु। तर, चिट्ठा चुनौती र अवसर दुवै हो। जे कारणले  भने पनि चुनावी मैदानमा सफल भइयो भने जनताको काम गर्ने हो। जनताले तपाईँले समय भएको छैन भन्नुभयो भने पनि बढी मेहनत गर्ने हो। समुन्द्रमा हामफाल्यो भने तपाईँसँग एउटा मात्रै विकल्प हो - लाइफ ज्याकेट छैन भने पनि बाच्ने प्रयास गर्ने। म भरमग्दुर प्रयास गर्ने छु। अचानकको घटना भएकाले चिट्ठा भनिएको हो। तर मेरो जग हेर्ने हो भने १७ वर्ष यहीँ पढेँ। यहीँ काम गरेँ। डाक्टरको रुपमा मात्रै काम नगरिकन क्याम्पेनहरु, पब्लिकमा एजुकेशन, लागू औषधका विषयदेखि सुगर र प्रेसर नियन्त्रणका अभियान मार्फत् त म जनतासँग जोडिएकै थिएँ। धेरै पहिला राजनीतिमा प्रवेश गरेको भए जनतासँग जति चिनिनुपर्ने हो, जनतासँग त म चिनिसकेकै छु त।

प्रचण्ड उम्मेदवार हुनु र तपाईँ उम्मेदवार हुनुमा त आकाश जमिनको फरक भयो नि। मतदाताले के अपेक्षा गर्लान् तपाईँसँग?

यो मेरो एउटा रुपान्तरण मात्रै हो। चिकित्सकीय हिसाबको चिजलाई राजनीतिक रुपान्तरणका रुपमा बुझिदिए पुग्छ। अब म जनताको घरमा जाँदा त्यस्तो भोगेको पनि छु। प्रचण्ड आउँदा राष्ट्रिय गौरवका योजनाको आशा गर्ने एउटा तप्का थियो। भोजराज आउँदा घरमा बच्चा बिरामी भयो भने कति नम्बरको एम्बुलेन्समा फोन गर्ने? कुन अस्पताल जाने? स्वास्थ्य अब फ्रि पो हुन्छ कि! बिमाको समेत पैसा तिर्न नसक्नेको फ्रि हुन्छ कि। खुशी भन्ने त घरको चुलोबाट, ओछ्यानबाट सुरु हुन्छ नि।

क्षेत्र नम्बर ३ मा करिब २५ हजार दलित जनजाति आदिवासी छन्। त्यस तप्काको विश्वास मैले जित्ने र प्रचण्डले गर्नुभएको कुरालाई निरन्तरता दिएर निष्कार्षमा लैजाने भनेपछि त म झन् कम्प्लिट प्याकेज भएँ।

एमालेको आफ्नो उम्मेदवार छैन्। अर्कोतिर दिनेश कोइराला स्वतन्त्रबाट उम्मेदवार छन्। यस्तो अवस्थामा तपाईँले कसरी जित्नुहुन्छ?

दिनेश कोइरालाले जितेपछि कहाँ रहने भन्ने भयो। एमालेको सपोर्ट छ। त्यो एक हिसाबले अदृश्य गठबन्धन नै भयो। उहाँले भनिरहनुभएको छ म कांग्रेस हुँ। म हारुला, जितुला केही भएन। गठबन्धनले जित्ने कुरा युनिभर्सल हो। यसलाई लेखेर राख्दा हुन्छ। त्यस बेलामा दिनेश कोइराला कहाँ जाने? गठबन्धनमा रहे सरकार बन्ने हो। अर्कोमा रहे एउटा सांसद बन्ने हो। एउटा सांसद भनेको स्वतन्त्र आए जस्तै त हो। एमालेका कार्यकर्ताले त मसँग एमालेको उम्मेदवार छैन् भनिराख्नुभएको छ। दिनेश कोइराला हाम्रो उम्मेदवार हो भनेर अपनाउनुभएको छैन। हाम्रो उम्मेदवार छैनन्, छान्दा ४ जनामा राम्रो छान्छौं भन्नुभएको छ। मलाई एक किसिमले त गर्व गर्ने विषय हो नि त यस्तो।

तपाईँको प्रतिस्पर्धी विक्रम पाण्डेले त सबै विकास मैले गरेकाले जनताले मलाईँ नै जिताउँछन् भन्नुभएको छ। तपाईँ भिड्न सक्नुहुन्छ उहाँसँग?

विक्रम पाण्डेलाई म सोध्न चाहन्छु - विकास भनेको के हो? नेपाल सरकारले निर्णय गरेर एउटा व्यवसायीलाई जिम्मेवारी दिएर बनाएको भन्ने हो भने नौ तले धरहर कसले बनाएको? बनाउने त डकर्मीले बनाएको होला नि। नीतिगत निर्णय कसले गर्‍यो? त्यो जनताले बुझिसके। विकास भनेको सडक सञ्जाल मात्रै हो र?  विकास भनेको सडकमात्रै हो भन्नेलाई म के भन्न चाहन्छु भने विकास भनेको समग्रता हो। म त्यही कुरालाई लिएर हिँडिरहेको छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell