
भारतमा संसदीय र विधानसभा निर्वाचन एकै मितिमा हुँदैन। राज्यहरुको निर्वाचन फरकफरक समयमा हुने गर्छ। लोकसभा निर्वाचनसँगै केही राज्यका निर्वाचन भने हुने गरेका छन्। तर, अहिले भारतमा लोकसभा र विधानसभा निर्वाचन एकसाथ गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले देशभर एकसाथ निर्वाचन गर्न आयोग तयार भएको बताएका छन्। तर, उनले यसका लागि संसदहरुले फैलसा गर्नुपर्ने बताएका छन्। संसदीय र विधानसभा निर्वाचन एकसाथ गर्ने भन्ने विषयको क्षेत्राधिकार आयोगसँग छैन।
'एक देश एक चुनाव व्यवस्था अनुरुप एक ठूलो तन्त्रको आवश्यकता छ। यो यस्तो मुद्दा हो जसको फैसला संसदले गर्नुपर्छ। यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन,' कुमारले भने, 'यद्यपि, हामीले सरकारलाई भनेका छौं कि भारतभर एकसाथ निर्वाचन गर्न आयोग तयार छ।'
उनले मेट्रो शहरमा चुनावप्रति मतदाताहरुको आकर्षण घट्दै गएको समेत बताएका छन्।
लोकसभा र विधानसभा निर्वाचन एकसाथ गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। यस्तै, दल बदल कानुन, जनप्रतिनिधि कानुन र संसदीय प्रक्रियासँग सम्बन्धित अन्य कानुन पनि संशोधन गर्नुपर्ने हुन्छ।