PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

चुनावको मुखमा नेपाल र पाकिस्तानबिच मैत्रीपूर्ण फुटबल : टिकट शुल्क ५ सय देखि ५ हजारसम्म, एक जनालाई विश्वकप हेर्न जाने अफर!



पहिलोपोस्ट

चुनावको मुखमा नेपाल र पाकिस्तानबिच मैत्रीपूर्ण फुटबल : टिकट शुल्क ५ सय देखि ५ हजारसम्म, एक जनालाई विश्वकप हेर्न जाने अफर!
फाइल फोटो

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले कात्तिक ३० गते पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। विश्व फुटबलको सर्बोच्च निकाय फिफाको प्रतिबन्धबाट केही महिना अघि मात्र फुकुवा भएको पाकिस्तानी टोली २७ गते काठमाडौं आइपुग्ने छ। पाकिस्तानी टोलीलाई ह्यात प्यालेस होटलमा राख्ने एन्फाको तयारी छ।

खेलका लागि ४८ लाख ६५ हजार भन्दा बढी लागत लाग्ने एन्फाको अनुमान छ। यसका लागि साधारणतर्फ ५००, भीआईपीतर्फ १ हजार र भीभीआईपीतर्फ ५ हजार शुल्क एन्फाले तोकेको छ। टिकटका लागि फुटसल भिलेज प्रालिसँग २५ लाख ५१ हजार रुपैयाँको सम्झौता गरेको छ।

पाँच हजारको प्राइम ठाउँमा हुने र भीभीआईपी नयाँ सिस्टमबाट लैजाने हिसाबले कस्टिङ बढाएको एन्फाले जनाएको छ। त्यसमा जर्सीलगायत अन्य सर्प्राइज प्याकेजहरु हुने टिकेटिङ पार्टनर फुटसल भिलेजले जनाएको छ।

नेपालमा चुनावी माहोलका बिच पाकिस्तानले दुई खेलको प्रस्ताव गरेकोमा नेपालले एक खेलमात्र खेलाउने निर्णय गरेको थियो।

‘चुनावको समयले गर्दा उहाँहरुको दुईवटा खेल गराउने प्रस्ताव आए पनि गराउन सकिएन। चुनाव पछि गराउने भन्ने पनि छलफल भएको हो। तर, विश्वकप सुरु हुने भएकाले यही मिति उपयुक्त हुने ठहर भयो,’ एन्फा प्रवक्ता शुरेश शाहले भने।

नेपाली टोलीको प्रशिक्षण यसपाला मछिन्द्र क्लबलाई दुई पटक लिग च्याम्पियन बनाएका प्रशिक्षक प्रवेश कटुवालले सम्हाल्ने छन्। यसअघि बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलमा प्रदीप हुमागाइले नेपालको प्रशिक्षण सम्हालेका थिए।

त्यसअघि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली टोलीको मुख्य प्रशिक्षक थिए। प्रतियोगिता पिच्छे अलग प्रशिक्षक राखेर खेलाउने हो भन्ने प्रश्नमा एन्फा प्रवक्ता शाहले प्रो लाइसेन्स प्राप्त प्रशिक्षक ल्याउने प्रकृया बारे निर्णय भइसकेको दाबी गरे।

‘कोच छान्ने प्रकृयाका लागि अघि बढेको छ। चाँडै सूचनामा मार्फत आउने छ। प्रो लाइसेन्स भएको प्रशिक्षक नेपालमा नभएकाले बाहिरबाटै झिकाउनुपर्ने अवस्था छ। विज्ञापन आउने निर्णय भइसकेको छ,’ उनले भने।

एन्फाले गोलाप्रथामार्फत एकजना भाग्यशाली दर्शकलाई विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबिचको खेलको टिकट उपलब्ध गराउने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell