PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट सिनेमाघर एपमा रिलिज हुने



पहिलोपोस्ट

फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट सिनेमाघर एपमा रिलिज हुने

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को अब डिजिटल प्लेटफर्ममा प्रिमियर हुने भएको छ। नेपाली फिल्म इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाउन सफल यो फिल्म भोलिबाट ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज हुन लागेको हो।

यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए।

‘नेपाली फिल्मको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ। एउटा सर्जकले व्यवसायिक पक्ष पनि हेर्छ। र, आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरुन् भन्ने पनि हुन्छ। यी दुवै कुराका लागि ‘कबड्डी ४’ सिनेमाघरमा रिलिज गर्न लागेका हौं,’ उनले भने।

सिनेमाघरका सञ्चालकमध्ये एक खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे। उनले अब युट्युबभन्दा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको पनि बताए।

लामिछाने भन्छन्, ‘युट्युबमा फिल्म रिलिज गर्ने चलन पुरानो हो। त्यसले नेपाली फिल्मलाई फाइदा पनि गर्दैन। युट्युबमा धेरै दर्शकले त हेर्लान् तर पैसा एकदमै कम आउँछ। अहिले सिनेमाघर निर्मातालाई युट्युबभन्दा धेरै रेभिन्यू दिन सक्ने अवस्थामा पुगिसकेको छ।’

सिनेमाघर एपका टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरि विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell