PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'ट्र्याक रेकर्ड' हेर्न सुझाउँदै प्रकाशमानको 'डिफेन्स' : विरासतको ब्याज अर्थहीन आरोप



उन्नत सापकोटा

'ट्र्याक रेकर्ड' हेर्न सुझाउँदै प्रकाशमानको 'डिफेन्स' : विरासतको ब्याज अर्थहीन आरोप

काठमाडौं : ठमेलको चाक्सिबारी छिर्दै गर्दा हामीसँग एउटा प्रश्न थियो - 'यति प्राइम लोकेसन छ। हेरिटेज होटल बनाएर महिनाकै लाखौं कमाएर मोज नगरी किन राजनीति गरिरहेका होलान्?'

२०७४ सालमा संविधान जारी पछि खडा भएको झन्डै दुई तिहाईको सरकार एकाएक अस्थिर हुँदै संसद विघटनसम्मको प्रकरणमा पुग्दा स्थिरताको जग एकाएक डगमगायो। परिवर्तनले महत्त्वकांक्षी बनाएको मानिसका लागि यही प्रकरण काफी थियो - ठूला राजनीतिक दलप्रतिमाथि अविश्वासको श्रृङ्खला तयार पार्न। यसपटक मतदाता प्रश्न गरिरहेका छन् - फेरि किन?

गणेशमान सिंहको १ सय ८ औं जन्म जयन्तीका दिन प्रकाशमान सिंहसँग भेट्दै गर्दा उब्जेको प्रश्नको जवाफ लिनु नै छ। किन प्रकाशमानहरुलाई नै जनताले चुनिरहनुपर्ने? मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा युवा उम्मेदवारहरुले उठाएको सबैभन्दा शक्तिशाली प्रश्न हो - राजनीतिक विरासतको ब्याज खाइराख्‍ने? हामीले यही प्रश्न काठमाडौं १ का उम्मेदवार सिंहलाई सोध्यौं।

उनी गम्भीर सुनिए। 'विक्रम सम्बत १९९७ मा गणेशमान सिंहलाई राणाहरुले जुन गोलघरमा थुनेका थिए, २०४५ सालको आन्दोलनमा मलाई पनि थुने। यति लामो समय अन्तरालमा दुवै थुनिनुको कारण एउटै थियो - प्रजातन्त्र,' चुनावी प्रचारकै रफ्तारमा केही समय ब्रेक लिँदै प्रकाशमानले भने, 'नयाँ संविधान जारी भएपछि फेरि त्यसलाई समाप्त पार्न खोजियो। यहाँ लडिरहनु परेको छ, ब्याजको कुरा कहाँबाट आयो? मेरो उम्मेदवारी लोकतन्त्रको रक्षाका लागि हो।'

उनीसँग थप प्रश्न बाँकी नै छन्। केही सन्दर्भ जोडौं जुन सान्दर्भिक छन् - यतिखेर जुन क्षेत्रमा सिंह उम्मेदवार छन् त्यहाँको चुनावी परिदृश्य भने रोचक छ। सिंह मैदानमा छन् गठबन्धनबाट। प्रतिस्पर्धामा नेकपा एमालेका युवा नेता किरण पौडेल पनि खटिइरहेका छन्। तर, चर्चामा रवीन्द्र मिश्र र पुकार बमले पौडेललाई ओझेल पारिरहेका छन्। संगठित मतमा पौडेल कमजोर छैनन् तर उनको उम्मेदवारी 'रणनीतिक' हुनसक्ने अड्कलबाजीले बजार गर्माइरहेको छ। एमालेको संगठित मत पौडेललाई नै जान्छ कि अघिल्लो निर्वाचनमा जस्तै रवीन्द्र मिश्रतिर पनि बाडिन्छ?

'गणेशमानजीले यही आँगनबाट कम्युनिस्टहरुलाई एकीकृत भएर आन्दोलनमा जुट्न भन्नुभएको हो। २०४६ सालको परिवर्तनमा कांग्रेस र एमाले एक भएर पञ्चायतविरुद्ध लडेकै हो। त्यसबारे जानकार भएका एमालेका कार्यकर्ताले आफ्नो मत लोकतन्त्रको विरुद्धमा दिँदैनन्,' प्रकाशमान कन्फिडेन्स सुनिए। 'लोकतन्त्रको विरुद्ध' भन्ने भाष्य प्रकाशमानले तौलेर नै बोलेका हुन्।

आइएस्सीपछि पाइलट पढ्न क्यानडा जाने प्रकाशमानको लक्ष्य रहेछ। तत्कालीन शाही नेपाल वायुसेवा निगममा भित्रिएका ट्विनअटरका लागि पाइलटको तालिममा उनी 'सेलेक्ट' भएका थिए। प्रतिबन्धित नेपाली कांग्रेसका नेता गणेशमान सिंहका छोरा भएकै कारण उनलाई पञ्चायतले अनुमति दिएन। 'म त्यसैले राजनीतिमा तानिएँ। दाइले चाहिँ प्रजातन्त्र पुनर्स्थापना भएपछि पाइलटको तालिम लिनुभयो,' प्रकाशमानले सुनाए। लोकतन्त्रको विरुद्धमा मतदाता नजाने विषय उनले यिनै पृष्ठभूमिमा सुनाएका हुन्। गणेशमानको छोरा भएकै कारण चाहेको पेशामा जान नपाएका प्रकाशमान त्यसयता राजनीतिमा अनवरत छन्।

अघिल्लो पटक वैकल्पिक राजनीतिको एजेन्डा लिएर विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवार रहेका रवीन्द्र मिश्रले प्रकाशमान मुस्किलैले जित निकाल्न दिए। जितको खुशीयाली समेत खुम्चिएर मनाउन पर्‍यो उनले। आसन्न निर्वाचनमा मिश्र वैकल्पिक राजनीतिबाट पूर्वपञ्चहरुको आधिकारिक धार समातिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार छन्। चर्को प्रतिस्पर्धामा रवीन्द्रको नाम यसपाला पनि छ। विवेकशील साझामै रहेका पुकार बम यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट यही क्षेत्रमा उम्मेदवार छन्। उनी पनि युवाबिच प्रिय छन्। नेपाल प्रहरीमा 'दवंग' पहिचान बनाएका रमेश खरेल पनि आफ्नै नयाँ दलबाट उम्मेदवार बनेका छन्। चर्चामा रहेका यिनै उम्मेदवार, च्याँखे थाप्दै मैदानमा उत्रिएका प्रोक्सी उम्मेदवार र बायोडेटामा प्रोफाइल बनाउन जुटेका केही उम्मेदवारले ल्याउने मतको समीकरणबाट यसपाला काठमाडौं १ को भाग्य निर्धारण हुनेछ।

'उम्मेदवार उम्मेदवाबिच प्रतिस्पर्धा हो भने ठूलो मतअन्तरमा मेरो जित निश्चित छ,' प्रकाशमान प्रष्ट सुनिए, 'म स्ट्याटिस्टिक्स पढेको मान्छे हो, परिणाम कस्तो आउँछ प्रष्ट छु।'

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पद हापेर राजनीतिको मैदानमा उत्रिएका प्रकाशमानका सुरुवाती चुनावी परिणाम अपेक्षाकृत रहेन। जनमत स्वीकार्दै उनी राजनीतिमा सक्रिय रहिरहे उनकै शब्दमा - 'लोकतान्त्रिक धारबाट विचलित नभइ।' पछिल्ला निर्वाचन उनको पक्षमा नै रहिरहे पनि २०७४ को चुनाव उनका लागि संघर्षपूर्ण नै बन्यो। त्यसैले यसपाला उनको सक्रियता पहिलेभन्दा धेरै देखिएको छ।

'म चुनावमा मात्र आफ्नो क्षेत्रमा छैन। जनतालाई आवश्यकता पर्दा पुगेको छु। कोरोना भाइरसको संक्रमण हुँदा हामी कसरी खटिएका थियौं सबैलाई थाहा छ,' उनले दाबी गरे। यस क्षेत्रमा प्रकाशमान सिंहको चिठ्ठीसहित सिटामोल र अरु औषधिको पोको पाएका मतदाताले त्यसलाई नबिर्सिने पनि उनले बताए। कोभिड-१९ ले प्रताडित बनाएको समयमा रत्नराज्य स्कुलको क्याम्पबाट काठमाडौं १ मात्र नभइ अन्य निर्वाचन क्षेत्रका जनताले पनि सेवा लिन पाएको उनले बताए।

जनतासँग जोडिने विषयमा प्रकाशमानले रवीन्द्र मिश्रको एउटा सन्दर्भ सुनाए। 'अघिल्लो पटक चुनावमा मनोनयन दर्ता गर्दा उहाँलाई भेटेको थिएँ। वैकल्पिक राजनीतिमा टिक्नुस् है भनेको थिएँ,' उनले भने, 'पाँच वर्षपछि यसपाला पनि मनोनयन गर्दा नै भेटेँ। त्यसबिचमा क्षेत्र नम्बर १ मा उहाँ कहाँ हुनुहुन्थ्यो?' यसपटक भने रवीन्द्र मिश्र वैकल्पिक धारबाट हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनासहितको मुद्दा लिएर मैदानमा छन्।

काठमाडौं १ मा प्रकाशमान सिंहप्रति कतिपय कांग्रेसका कार्यकर्ता नै असन्तुष्ट सुनिन्छन्। आलोचना गर्नेहरु उनलाई बारम्बार विगतको ब्याज खाने नेताका रुपमा टिप्पणी गर्छन्। यस्तो पृष्ठभूमिलाई चिर्न प्रकाशमानलाई सजिलो छैन। अपेक्षा र आलोचनालाई उनले हामीसँग फरक तरिकाबाट व्याख्या गरे। 'युवालाई आजको भोलि परिवर्तन चाहिएको छ। त्यो अपेक्षा ठीक भए पनि परिवर्तन प्रक्रियाबाट हुन्छ, समय लिन्छ,' उनले व्याख्या गरे, 'पहिलो संविधानसभामा कांग्रेस कहाँ थियो? जनताले जसलाई सबैभन्दा बढी मत दिए उनीहरुबाट संविधान आयो त? आएन। दोस्रो संविधानसभामा कांग्रेसलाई जनताले पत्याए - संविधान पनि आयो। सबै दललाई मिलाएर ल्यायो कांग्रेसले। संविधानपछि जनताले कांग्रेसलाई कुन अवस्थामा पुर्‍यायो? २३ सिट जितेको हो। के भयो? संविधान नै भत्काउने प्रयास भयो। मतलव हामीले साथ पाउँदा परिवर्तन भएकै छ। यसलाई बुझ्न पर्‍यो।'

प्रकाशमानमाथि सबैभन्दा पेचिलो बनेको राजनीतिक विषय हो - महाधिवेशनमा कित्ता परिवर्तन र काठमाडौं महानगरपालिकामा आफ्नै पत्नीलाई उम्मेदवार बनाउनु। उनका विपक्षीले मात्र होइन, दलभित्रै पनि यसबारे असन्तुष्टिका स्वर नसुनिएको होइन। यसबारे प्रश्न नगरी प्रकाशमानमाथिको स्टोरी पूरा हुन सक्दैन। हामीले सोध्यौं - महाधिवेशनमा शेरबहादुर देउवासँग महानगरपालिकाको मेयरका लागि सौदाबाजीको आरोप छ त?

प्रकाशमानको अनुहारमा असहजता झल्किन्छ कि भन्ने अपेक्षा थियो। त्यस्तो देखिएन। उनी अर्थ्याउन तयार भए।

'धेरै ठाउँमा यस विषयमा बोलेको छु। मेरो राजनीतिक ट्र्याक रेकर्ड हेर्नुस् कित्ता परिवर्तन गरेको छैन। म पार्टी विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसमा भएकै हो। एकता पछि पनि म विद्रोही रुपमा नै रहेँ। सुशील कोइरालाले मलाई पिक गर्नुभयो। पार्टी विधिबाट चल्नुपर्छ भन्दै शेरबहादुर देउवाविरुद्ध पनि उभिएको हुँ। महाधिवेशनमा देउवा विरोधी समूहमा थिएँ। तर, मलाई नै बाइपास गर्न थालेपछि म त्यो खेमाभन्दा बाहिर उभिएको हो।'

उनी लगातार बोल्दै थिए। रोक्न खोज्यौं। 'भन्न बाँकी छ,' उनले भने।

उनले पार्टीभित्रको समीकरणको अन्तर्संघर्षसँगै काठमाडौं महानगरपालिकाको उम्मेदवारको विषय उप्काए। 'प्रकाशमानले भनेकै भरमा मेयरको उम्मेदवार बनाउने सिस्टम थियो भने म आफैँ आफूलाई पार्टी सभापति बनाउँथे। उम्मेदवार हुनका लागि प्रोसेस छ त्यस अनुसार भएको हो। महिला उम्मेदवार बनाएन पनि भन्ने अनि बनाउँदा आरोप पनि लगाउन मिल्छ? '

उनको प्रश्नसँगै जनतासँग जोडिएका विषयबारे हाम्रो चासो थियो। उनले फेहरिस्त सुनाए। एजेन्डाबारे जानकारी पनि गराए। अनि स्वीकारे - 'हामी काम गर्छौं, प्रचारमा कमजोर छौं।'

गणेशमान सिंहको १ सय ८ औं जन्मदिनको दिन जुरेको कुराकानीमा हामीलाई सुरुमै लागेको प्रश्न छुटाउनु त भएन। सोध्यौं - यत्रो लोकेसनमा हुनुहुन्छ। आरामले व्यवसाय गरेर बसेको भए हुन्थ्यो त।

प्रकाशमान फेरि मुस्काए। भने, 'मेरो बाबु र आमाको राजनीतिक त्यागको बिरासत जोगाउनुपर्छ भन्ने भएर पनि त्यतातिर रुची नभएको हुनसक्छ। पैसा कमाउनु मेरो प्राथमिकता भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell