ललितपुरमा रहेको मन्त्री क्वाटर मंगलबार सुनसान थियो। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि मन्त्रीहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा गएपछि अधिकांश क्वाटर खाली छन्। तर ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको हकमा त्यो लागू भएन। क्वाटरमै भेटका लागि भ्याइ-नभ्याई छ। उनी ललितपुर-३ बाट प्रतिनिधि सभाको उम्मेदवार भएकाले क्वाटर छाडेर जान परेन। बिहान र साँझ उनको घरदैलो छ। दिउँसो मतदाता घरमा नभेटिने भएपछि भुसालले बिहान र साँझ घरदैलो र दिउँसो नेता/कार्यकर्तासँग भेट्ने सेड्युल मिलाएकी छिन्।
हामी पुग्दा क्वाटरको बैठक कक्षमा उनी चुनावी रणनीति बनाइरहेकी थिइन। २०६४ र २०७४ को निर्वाचनमा ललितपुर-३ बाटै जित निकालिसकेकी भुसाल यसपटक पनि आफ्नो पक्षमा जनमत भएको दाबी गरिरहेकी छिन्। दाबी गरेजस्तो यसपटक चुनाव जित्न भुसाललाई पनि सहज भने छैन। एमालेका उम्मेदवार अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलगायतका उम्मेदवारले बलियो चुनौती दिइरहेका छन् भुसाललाई। माओवादी केन्द्रकी उपमहासचिव समेत रहेकी भुसाल माओवादीको एक्लो महिला पदाधिकारी हुन। चुनावी अभियानबारे भुसालसँग प्रकाश भण्डारी र दिनेश खड्काले गरेको कुराकानीः-
यसपटक पनि तपाईँले नै चुनाव जिते ह्याट्रिक जित हुन्छ। त्यसका लागि तयारी कस्तो छ?
ठिकै छ। म जहाँ गएको छु दोहोरो चिनजान छ, मतदातासँग। कुनै घर गयो भने भोट देला कि नदेला भन्ने ढंगको भावसम्म मैले बुझ्न सक्छु। त्यस हिसाबले सकारात्मक छ माहौल।
यसपटक चुनाव अघिल्ला चुनावमा जस्तो मतदाताको आकर्षण छैन। यो नेता र राजनीतिप्रतिको वितृष्णा हो?
२०६४ को चुनाव जस्तो त कहिले पनि हुन्न जस्तो लाग्छ मलाइ। अहिले दुई कारणले चुनाव पहिला जस्तो भेटिन्न। पहिला हामी मनोनयनमा जाँदा बाजा गाजासहित हुन्थ्यो। अहिले २५ जनाभन्दा माथि जान पाइँदैन। दुई/चार सय मानिस त साथमा हुनेगरि गइन्थ्यो पहिला। तामझाम केही पनि गर्न पाइन्न। प्रचारका सामाग्रीले पनि पहिला चुनावमय हुन्थ्यो। चुनावको प्रचार शैली पहिलाको जस्तो छैन। तर एकदमै कम पनि भएको होइन। कति ठाउँमा त मतदाताले फूलमाला, सगुन लिएर स्वागतका लागि नै बसिरहनुभएको हुन्छ। त्यो त उत्साह भएरै हो नि।
ऊर्जामन्त्री पनि हुनुहुन्छ। मन्त्री भएर चुनावी प्रतिस्पर्धामा उत्रिँदा फाइदा/बेफाइदा के हुने रहेछ?
म मतदाताको घरदैलोमा कुनै मन्त्रीको रूपमा गएको छैन। म पनि नागरिक भएर गएको छु। निर्वाचन आयोगले आचारसंहिता लगाएको छ। त्यसको सतप्रतिशत पालना गरेकी छु। एउटा निजी गाडीमा जान्छु। धेरैजसो घरमा पैदलै हिँड्छु। तर यसो हुँदा पनि मतादाताहरूले थाहा पाइहाल्नु हुन्छ म मन्त्री छु भन्ने त। म मन्त्री भएको बेला चुनाव लडेको यो दोस्रोपटक हो। २०६४ मा पनि म मन्त्री थिए त्यति बेलाका चुनाव हुँदा। त्यसैले मन्त्री हुँदा/नहुँदा खासै फरक पर्दैन।
२०७४ मा एमालेसँग तालमेल थियो। गठबन्धन हुँदा तपाईँले पनि जित्नुभयो। यसपटक पनि कांग्रेसलगायतका दलसँग गठबन्धन छ। एमालेसँग तालमेल गरेजस्तो सजिलो होला र चुनाव जित्न?
गठबन्धनले गर्दा असहज छैन। किनभने गठबन्धन गरेर चुनाव गरिसकेको हो। मतदाता अभ्यस्त छन्। लोकल चुनावमा उम्मेदवार नभएको ठाउँमा पनि चिन्ह भएकाले अप्ठेरो थियो। चिन्ह खोज्दै मतदान गर्नुपर्ने भएकाले अप्ठेरो भयो। यो त निर्वाचन आयोगको मिस्टेक नै भन्छु म। अहिले निर्वाचन आयोगले त्यो कुरा सच्याएको छ। उम्मेदवार उठेकाको मात्रै चुनाव चिन्ह छ।
टिकट वितरणका बेलाको त्यति ठूलो असन्तुष्टि त भोटमा रिफ्लेक्ट होला नि?
सिट तालमेल नहुँदासम्म यो सिट हामीले पाउनुपर्छ भन्ने थियो गठबन्धनमा। प्यारालल रूपमा आ-आफ्ना पार्टीले उम्मेदवारको सिफारिस गरेर पठाएको थिए। एक सिटका लागि सात आठ जना को पनि सिफारिस थियो। यसले आकांक्षीको इच्छामा ब्रेक लाग्दा इगो पनि बन्न सक्छ। तर विस्तारै विस्तारै वार्मअप भएर भोटिङको दिनमा एउटा उत्कर्षमा पुग्छ। पुरै माहौल चुनावमय हुन्छ। त्यो बन्दाखेरी भोटमा तलमाथि हुँदैन। मान्छेको इगो पनि त्यति बेलासम्म घट्छ। त्यो पनि धेरै ठूलो समस्या हुन्न। जसले गठबन्धनको उम्मेदवारलाई भोट हाल्दैन उसले हाम्रो प्रतिपक्षको उम्मेदवारलाई भोट पनि हाल्छ भन्ने हुँदैन। अन्तिममा गठबन्धनकै उम्मेदवार जित्छन्।
मुख्यगरी शहरका निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले पनि पार्टीका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। तपाईँको क्षेत्रमा पनि नयाँ दल र स्वतन्त्र उम्मेदवार छन्। स्थानीय तहमा त काठमाडौँ, धनगढी, धरानलगायतका ठाउँमा स्वतन्त्रले नै जिते। त्यस हिसाबले तपाईँलाई कतिको थ्रेट छ?
त्यस्तो च्यालेन्ज मलाई छैन। हामीले आन्दोलन गर्यौँ। हामीले आम नेपाली जनतालाई नागरिक अधिकार प्राप्त गरायौँ। सबैले संगठन गर्न पाउने अधिकार हामीले ल्याइदिएका छौँ, त्यसमा खुसी छु। हामीले ल्याइदिएको अधिकारमा युवा भाइबहिनी हुनुहुन्छ। स्थानीय चुनावपछि मान्छे धेरै महत्वकांक्षी भए। त्यो त कार्यकारी ठाउँ हो। एक्लै जितेर पनि काठमाडौँ महानगर चलाएका छन् बालेन साहले। अरू भएन भने उहाँले मिडियाबाट लाइभ गरिदिनुहुन्छ। पब्लिकको सपोर्ट रह्यो, त्यत्रो मान्छेले भोट दिएको छ। त्यो कार्यकारी ठाउँ हो। यो विधायिकी ठाउँ हो। गएको प्रतिनिधि सभामा एक/एक सदस्य हुने तीन वटा पार्टी थिए।
फोन गर्दा चुनावमा बालबालिकाको प्रयोग नगर्नू भन्ने सुनिन्छ। मलाई कस्तो लाग्छ भने बच्चाहरूलाई पनि राजनीति सिकाउनुपर्छ भन्ने लाग्छ। कोर्समै राखेर पनि राजनीतिमा विधायिकी भूमिका के हुन्छ? एक्जुकेटिभ भूमिका के हुन्छ? न्यायिक भूमिका के हुन्छ? शक्ति सन्तुलनका सिद्धान्त कस्तो हुन्छ? राख्नुपर्छ। हेर्नुस् यति पनि थाहा छैन कतिलाई। त्यसैले कोर्समै राखेर राजनीतिक प्रणालीबारे पनि पढाउनुपर्छ। यो सबै जान्नुपर्छ भन्ने लागेको छ अहिले जे जस्ता दृश्य देखिएका छन्। राजनीति ज्ञान भएका मान्छेहरूले गर्नुपर्छ। हाम्रो पालामा स्कुलदेखि स्ववियु हुन्थ्यो। प्रतिस्पर्धा हुन्थ्यो त्यसले धेरै कुरा सिकाउँथ्यो।
चुनाव जित्नुभयो भने तपाईँको रोजाइमा अर्थ मन्लालय पर्छ अब? धेरैले तपाईँलाई भावी अर्थमन्त्री भनेको पनि सुन्यौँ हामीले।
मेरो त्यस्तो केही पनि रोजाइ छैन। पार्टी सिस्टममा छौँ हामी। पार्टीले सायद अहिले मन्त्री भएकालाई तुरुन्तै अर्को कार्यकाल नपठाउला। कुनै कालखण्डमा मेरो पालो आउन पनि सक्छ। यदि मैले मन्त्रालय रोज्नै पर्यो भने ऊर्जा नै रोज्छु। देशलाई मैले छिटो आर्थिक विकास कहाँबाट गर्न सकिन्छ भन्नेमा मेरो अठार महिनाको अनुभवले खुब मन परेको मन्त्रालय हो यो। आफूले काम गरेपछि रिजल्ट पनि देखाउन पाउने। कति मन्त्रालयको काम पब्लिकले थाहा नपाउने पनि हुन्छ।
एजेन्डाको रूपमा के के कुरा उठाउनु भयो यसपटक?
जनताको घरदैलोमा पुग्दा करेन्ट दैनिकको कुरा राख्नुहुन्छ हामीलाई। मेरो क्षेत्रको जनताले राखेको सबैभन्दा धेरै समस्या खानेपानीको हो। पहिला पहिला महिलाले मात्रै राख्नुहुन्थ्यो। यसपाली केटा मान्छेले पनि राख्नुभएको छ।
तीन तहको सरकार छ। तीन तहका सरकारका अधिकार क्षेत्रका लिमिटेसन छन्। वडाध्यक्ष गए पनि त्यही समस्या, प्रदेशको सांसद जाँदा पनि त्यही र म जाँदा पनि त्यही समस्या आइरहेको छ। यसलाई हामीले बुझाउन पनि नसकेको हो जनतालाई। यस हिसाबले हाम्रो पहिलो खानेपानी हो। दोस्रो बाटो हो।
अरू उम्मेदवारलाई छोडेर तपाईँलाई नै भोट हाल्नुपर्ने केही त्यस्तो एजेन्डा तपाईँसँग रहेनछ त्यसो भए?
राजनीतिक स्थिरताको कुरा उठाएकी छु। यो सिंगो गठबन्धनले पनि उठाएको कुरा हो। प्राप्त राजनीतिक अधिकारको रक्षाको लागि पनि पटक-पटक संसद् विघटन नगरियोस् भन्ने मेरो पोलिटिकल थिम छ। राष्ट्रको समृद्धि भनेकी छु। त्यसलाई डिफाइन गर्दा आर्थिक र सामाजिक विकासको कुरा गरेकी छु। आर्थिक कुरामा एकदम बेरोजगारीको समस्या छ। महिला जो घरमै बस्नुहुन्छ र घरायसी काम गर्नुहुन्छ उहाँहरूलाई अरूले केही काम छैन भन्ने। त्यसको मूल्य नै छैन जस्तो? त्यस्ता महिलालाई पनि श्रमको मूल्याङ्कन होस् भन्ने छ मेरो। घरभित्रका काम सक्दा सक्दै उहाँहरूलाई रुचि, क्षमता अनुसारको सिप अनुसारको उद्यम अथवा व्यवसाय गराउन सक्दा आत्मनिर्भर पनि हुन्छ। अलि सशक्तिकरण पनि हुन सक्ने हुन्छ।
सामाजिक हिसावले धेरै विषय छन् शिक्षा, स्वास्थ्य, रोजगार लगायतका कुरा। ठूलो समस्या शिक्षाको छ। यो समस्या नेपालकै हो मेरो क्षेत्रको मात्रै होइन। मेरो क्षेत्रमा ठूल्ठूला नामी विद्यालय छन्। शिक्षाले दुई वटा वर्ग जन्माइदिएको छ। एउटा महंगो शिक्षा खरिद गर्न सक्ने र अर्को नसक्ने। यो हेर्दा अली सामान्य जस्तो तर भोलि राज्यका विभिन्न क्षेत्रका अवसरका कुरामा असमान प्रतिस्पर्धा हुन्छ। अवसरबाट एउटा पक्ष बञ्चित हुन्छ। त्यसले भोलि समाजमा अर्को खालको विद्रोह जन्माउला कि भन्ने चिन्ता छ। गुणस्तरीय वैज्ञानिक बनाउने कुरा पनि मेरो महत्त्वको कुरा हो।
चुनावमा हामीले अरू उम्मेदवारलाई पनि भेटिरहेका छौ। कतिपयले मयति हजार मत अन्तरले जित्छु भन्ने हिसाब नै देखाउनुहुन्छ। तपाईँको के छ मतको गणित?
मैले ठ्याकै यति मतले जित्छु भन्ने छैन। एउटा कुरा के हो भने मैले जितिरहेको ठाउँ हो यो। जनताको र म बीचको सम्बन्ध मेरो क्षेत्रमा एकदम सुदृढ छ। म सुख/दुःखमा म त्यहाँ छु। अर्को कुरा म पार्टीको उम्मेदवार हो। त्यसो हुँदा पार्टीको सञ्जाल हुन्छ। २२ वटा वडा छ। २२ वटामै हाम्रो पार्टी संगठन छ। सबै ठाउँमा महिला, विद्यार्थीलगायत विविध खालको संगठन छ। त्यसपछि मैले विगतमा गरेको काम पनि मेरा लागि जित्ने आधार हो। अहिले पनि जनताका कतिपय इस्यू छन्। सांस्कृतिक सम्पदाको संरक्षण र विनाशको बहस छ। कतिपय अब्सट्याकलको रूपमा पनि पुगेका विषय छन्। त्यसमा न्यायिक ढंगले म जनताको पक्षमा छु। त्यसले पनि एउटा क्लोज रिलेसनको कुरा आउँछ। अर्को मेरा लागि आधार भनेको गठबन्धन छ। हाम्रोभन्दा अली धेरै जनमत र बलियो संगठन भएको कांग्रेस छ। एकीकृत समाजवादी पनि आफ्नो आकारमा छ।