PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमाले छाडेर स्वतन्त्र बनेका प्रभु साहलाई किन विचित्र लागिरहेछ चुनावी अभियान? (अन्तर्वार्ता)



नेत्र तामाङ

एमाले छाडेर स्वतन्त्र बनेका प्रभु साहलाई किन विचित्र लागिरहेछ चुनावी अभियान? (अन्तर्वार्ता)

प्रभु साह यतिखेर रौतहटको चुनावी अभियानमा व्यस्त छन्। नेकपा (एमाले)बाट अलग्गिएर स्वतन्त्रको हैसियतले मैदानमा उत्रिएका उनलाई गठबन्धनले सहयोगको बचन दिइरहेकै छ। उनले छाडेको एमालेका अध्यक्ष केपी ओली उनीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। यिनै सन्दर्भमा रौतहटको चुनावी रौनककै बिच नेत्र तामाङले सोधे -

आफ्नो क्षेत्रमा भएको विकासबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ?
देशलाई समृद्ध बनाउन रौतहट पनि अघि बढ्नुपर्छ भन्ने हो। रौतहटमा मात्र विकास गरेर हुँदैन। देशलाई नै विकास गर्नुपर्छ।

त्यसका लागि रौतहटबाट लिड गर्नुपर्छ भन्ने हो। रौतहटबाट हामीले मोडल सुरु गरेका छौं। जनपक्षीय मोडल हो यहाँको। जनताले चाहेरमात्र विकास हुन्छ बजेटको भरमा विकास हुँदैन। जनताले चाहे भने विकास हुन्छ भन्ने रौतहटबाट हामीले स्थापित गरेका छौं।

मुख्य कुरा विकासभन्दा पनि देशमा लोकतन्त्र कसरी जोगाउने, निष्ठाको राजनीतिलाई कसरी स्थापित गर्ने, प्रगतिशील वामपन्थीको ध्रुवीकरण कसरी गर्ने त्यो उद्देश्यबाट हामी अघि बढेका छौं। मलाई विश्वास छ यो सबै काम गरेर मात्र देश समृद्ध हुन्छ र विकास पनि हुन्छ।

तपाईँको जित नचाहनेहरु बढ्दैछन् नि यस क्षेत्रमा?
हामीले सत्यको काम र निष्ठाको काम गरिरहेका छौं। वामपन्थी ध्रुवीकरणका लागि एउटा संकल्प गरेका छौं। यसमा जतिले हामीलाई साथ दियो त्यति हामी खुसी छौं। उहाँहरुलाई हामी धन्यवाद भन्छौं। अझ ध्रुवीकरणको दिशामा, अझ सपोर्टको दिशामा दायरा बढोस् भन्ने चाहन्छौं।

अनि गाह्रो हुँदैन तपाईँलाई?
जनताले हामीलाई साथ दिने हो। यसमा सहयोग गर्न सबै शक्तिलाई मैले अपिल गरिरहेको छु। जति सहयोग आउँदैछ, त्यसले झनै सहज बनाउँछ नि।

कांग्रेसबाट स्वन्तन्त्र उम्मेदवार दिएका ओमप्रकाश जैसवाललाई एमालेको बलियो साथ छ होइन?
मैले भने नि, त्यो पक्ष यो पक्ष यो क्षेत्रमा छैन। मलाई विचित्र लागिरहेको छ कि सूर्य छापले गाछीलाई साथ दिइरहेको छ। छाता छापलाई गाछीले भोट मागिरहेको छ। गाछीले स्वतन्त्रलाई भोट मागिरहेको छ। यो भनेको अनैतिकता हो। म त निष्ठाको राजनीति गर्छु। हरेक काममा यो लागू हुन्छ। अनैतिकताको विरुद्ध लागेर मात्र निष्ठाको राजनीति बढ्छ।

सत्ता गठबन्धनले पनि साथ हुन्छ भन्ने वचन दिएको थियो, तर यहाँ त माओवादीको उम्मेदवारको चर्को प्रचार देखियो?
गठबन्धन त देखिएन नि। कहाँ छ र बताउनु न? गठबन्धन भित्रबाट पनि राम्रो मान्छेहरुको सहयोग छ। नराम्रो मान्छेको विरोध छ। गठबन्धन जस्ताको तस्तै केही छैन। सूर्यको मान्छेले गाछीलाई भोट मागिरहेको यही क्षेत्र हो। गाछीले स्वतन्त्रको भोट मागेको यही हो। यहाँ गठबन्धन छैन। विचित्रको ध्रुवीकरण छ यहाँ। नैतिकवानको ध्रुवीकरण एक ठाउँमा छ। विकासवादीको ध्रुवीकरण एकातिर छ, विनाशवादीको ध्रुवीकरण अर्कोतिर छ। निस्वार्थी र बहादुरको ध्रुवीकरण एक ठाउँमा छ। कायरहरुको अर्कोतिर छ। स्वार्थीहरुको एउटा छ। यो ध्रुवीकरणले देशलाई एउटा दिशा दिन्छ।

तपाईँलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै साथ दिन्छु भन्नुभएको थियो। तर यहाँ माओवादीकै साथ किन देखिएन त?
माओवादी पनि विभाजित छ यहाँ। अरु पार्टी पनि विभाजित छ। सबै पार्टीको राम्रो साथीले मलाई साथ दिइरहेका छन्। नराम्रोले दिइरहेको छैन। एमालेको पनि राम्रोले साथ दिइरहेको छ। छाताको पनि राम्रोले साथ दिइरहेको छ। गाछीको पनि राम्रोले साथ दिइरहेको छ। माओवादीको, कलम छाप सबैले राम्रोले साथ दिइरहेको छ। नराम्रोले विरोध गरिरहेको त हो नि।

ओलीले तारन्तर तपाईँको विरोध गर्नुको कारण के होला?
अनैतिकहरुको एउटै लाइन हुन्छ नि। नैतिकवानहरुले साथ दिइरहेको छ। एमालेको पनि राम्रोले साथ दिइरहेको छ। एमाले भन्दैमा सबै ओलीजी हुन्छ र? देउवाले त भन्नुभयो प्रभु साहलाई सघाउ भनेर। त कहाँ साथ दिइरहेको कांग्रेसले? त्यसैले मैले भने अनैतिकहरुको अवरोध छ। नैतिकवानहरुको सहयोग छ।

ओलीले पटकपटक तपाईँकै खेदो खन्नुको कारण?
ओलीजी त लागिरहनुभएकै छ। गाछीले भोट मागिरहेको पनि देखिरहेको छ। त्यसैले यहाँ सवाल सूर्य र गाछीको हैन सवाल नैतिकता र अनैतिकताको हो। निष्ठा र निस्वार्थको हो। 

तपाईँलाई डर छैन हारिने?
मलाई जनताले साथ दिन्छ। ओलीजीले बुझ्ने गरी यहाँबाट जनादेश आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell