PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बब्लु टी स्टलमा ‘नो भोट भन्दै’ जंगिए युवक : निर्वाचन प्रणाली नै ठीक भएन

बब्लु टी स्टलमा ‘नो भोट भन्दै’ जंगिए युवक : निर्वाचन प्रणाली नै ठीक भएन

पहिलोपोस्ट /पहिलोपोस्ट


  • नेत्र तामाङ/राधेश्याम पटेल-

वीरगंज : पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको आदर्शनगर रोडमा बिहीवार बिहान हल्का घाम लाग्दै थियो। सवा ८ बजे सडकको एकपट्टि लहरै मोटरसाइकल पार्किङ। त्यसको ठीक अगाडि पाक्दै गरेको चियाको उड्दै गरेको बाफ।

माथि रातो बोर्डमा लेखिएको छ - बब्लु टी स्टाल। हरियो बोर्डमा पनि चिनाइएको छ टी स्टललाई। चिया पिउन मानिसहरु झुत्तिरहेका छन्। मट्कामा चिया लिएपछि उनीहरु फुटपाथतिर जम्मा भइरहेका थिए।

सडकमा सवारी खासै थिएन। चियापसल बाहेक अरु सटर बन्द। चिया पारखीको कब्जामा दुवैतिरको फुटपाथ। प्लास्टिकको कुर्सीमा चियाको चुस्की लिँदै गर्दा उनीहरु नजिकिएको चुनावबारे गफिँदै थिए।

‘यसपाली चुनावमा पर्सा १ मा त्रिपक्षीय भिडन्त हुनेभयो,’ तिनैमध्येका एकजना भन्दै थिए।

पर्सा १ मा सत्ता गठबन्धनले लक्ष्मणलाल कर्णलाई उम्मेदवार बनाएको छ भने एमाले गठबन्धनले प्रदीप यादवलाई। यता सत्ता गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेका अजय द्विवेदीले स्वतन्त्र उम्मेवारी दिएका छन्।

कांग्रेस जिल्ला पूर्व सभापतिसमेत रहेका द्विवेदीको उम्मेदवारीले यस क्षेत्रको निर्वाचनमा रोचकता ल्याएको उनको प्रतिक्रिया थियो। एकाएक एक युवा भने झोक्किए - ‘मलाई चुनावको कुनै इन्ट्रेस्ट छैन।’

किन त?

सिंगो मुलुक चुनावमा होमिँदा यस्तो असन्तुष्टि? हामीले प्रश्न तेर्स्यायौँ।

‘म यहीँकै भए पनि चुनावमा कुनै इन्ट्रेस्ट छैन। यत्रो वर्ष टु बि कन्टिन्यु... त्यही मान्छे। त्यही दल। न सिद्धान्त, न विचार। न सुधार छ,’ तत्कालै जवाफ फर्काइहाले उनले।

निर्वाचनमा नयाँ अनुहार खोज्नेका लागि स्वतन्त्रबाट पनि उम्मेदवारी नपरेको होइन। हामीले स्वतन्त्र उम्मेदवारबारे भन्यौँ। युवापुस्ताप्रति पनि उनी सशंकित सुनिए।

‘तिनीहरु त भर्खर आएका हुन्। न त भिजेका छन्। केही अनुभव छैन। कसरी काम गर्छ? राम्रा मान्छे छन् नि दलमा। तर दलप्रति वितृष्णा हो हाम्रो। यहाँको राजनीतिसँग कुनै इच्छा छैन,’ उनले भने।

मटका चिया सकाएपछि उनले चुनावप्रति आफ्नो वितृष्णा जाग्नुको थप कारण सुनाए - ‘२५ वर्षदेखि रोड जस्ताको तस्तै छ।’

चुनावमा मत नदिने भने पनि उनी छान्ने नै हो भने नेताको व्यवहारलाई हेर्नुपर्ने बताउँदै थिए।

‘अबको चुनावमा भाषणलाई हैन नेताको व्यवहारलाई हेर्नुपर्छ। वर्किङ स्टाटसलाई हेर्नुपर्छ,’ उनको जोड थियो।

सबैभन्दा बढी त उनी आर्थिक मन्दीसँग रुष्ट सुनिए। निर्वाचनमा नेताहरुले करोडौंको गाडी चढ्दा जनताले आफ्नो जयजेथा राखेर पनि ऋण नपाएको गुनासो थियो उनको।

‘के पायौँ त हामीले? अहिले मैले आफ्नो प्रोपर्टी राखेर १० लाख निकाल्छु भन्दा पनि पाइरहेको छैन। खै त सरकार? खै दल? खै देश? नेताहरु करोडौं, अर्बौंको गाडीमा हिँडिरहेका छन्। चुनावमा नेताहरुलाई खर्च गर्न पैसा आइरहेको छ,’ उनले असन्तुष्टि पोखे।

यति कुराकानीपछि हामीले उनको नाम सोध्यौं।

उनको जवाफ थियो - नेपालको नागरिक।

चुनाव आएपछि यो जित्छ र उ जित्छ भन्दै सबै दलको दलदलमा फसेको बुझाइ रहेछ ‘नेपालको नागरिक’को।

‘पुराना नेतालाई विस्थापित गर्न सकिएन। नागरिक स्तरबाट चेतना आउनुपर्ने हो। दलहरुको दलदलमा सबै छन् कुनै न कुनै रुपमा’, उनले  भने, ‘वीरगंज १ मा खोइ नयाँ दल? खोइ नयाँ भिजन?’

निर्वाचनमा बहुमतका आधारमा कोही न कोही चुनिए पनि उनको असन्तुष्टि कडै थियो। हामीले जनताले एक न एक जनालाई छान्नैपर्छ भन्यौं। 
हाम्रो कुरा नसकिँदै उनी पुन जंगिए, ‘हैन म भोट दिन्न। मेरो खुशीको कुरा हो। मलाई मन परेन। मत किन दिने?’

नेपालको निर्वाचन प्रणाली नै ठीक नभएको उनको तर्क रह्यो। ‘निर्वाचन प्रणाली पनि सुधार गर्नुपर्‍यो। कम्तीमा मास्टर्स् गरेको। कम्तीमा १० वर्ष सोसल वर्क गरेको। फौजदारी अभियोग नलागेको चरित्र राम्रो भएको व्यक्तिमात्र चुनाव लड्न पाउनुपर्ने क्राइटेरिया बनाइदेओस् न। फिल्टर भएर आउँछन् अनि,’ उनको सुझाव रह्यो।

निर्वाचण प्रणालीअनुसार मत नहालेपछि मताधिकार खेर जान्छ नै। त्यसरी कसरी सदुपयोग हुन्छ त? हाम्रो प्रश्न।

‘देशै खेर गइसक्यो तपाई के भन्नुहुन्छ। ३० वर्ष खेर गयो। गएन? ३० अघि पनि हामी त्यहीँ थियौं। अहिले पनि त्यहीँ छौं। लाइफ खेर गइसक्यो। भोटको के कुरा?,’ उनको बोलीमा असन्तुष्टिको आक्रोश थियो।

उमेरले ४७ पुगेको बताउने उनले कांग्रेसमा डा मीनेन्द्र रिजाल र डा स्वर्णिम वाग्लेजस्ता व्यक्तिले टिकट नपाएकोमा रोष पोखे। राम्रा मान्छेले टिकट पाएको भए राम्रो शासन आउने उनको भनाइ थियो।

‘म व्यक्ति विशेषमा गइरहेको छु। कांग्रेसका मीनेन्द्र रिजाल, डा स्वर्णिमा वाग्ले जसले टिकट पाएनन्। राम्रा मान्छे पनि छन् नि’, उनी भन्दै थिए, ‘राम्रा मान्छेले टिकट पाए पो राम्रो हुने हो खराब मान्छेले नेतृत्व पाए खराबै हुन्छ।’

यत्तिमै रोकिएनन् उनी।

‘म प्रधानमन्त्री बनेँ भने एक लाखलाई झुन्ड्याउने हो। अब यसरी नेपाल चल्दैन। डु एन्ड डाइ मा जानुपर्छ। अनि त्यसको प्रभाव सबैमा पर्छ’, उनी आक्रामक सुनिए, ‘नेपालमा भ्रष्टाचारी बढेका छन्। सबैभन्दा बढी नेताहरु छन्। यस्ता नेताहरुलाई फाँसीको सजाय दिने व्यवस्था ल्याउनुपर्छ।’

देशको प्रधानमन्त्री बनेर देशलाई व्यवस्थित गर्ने दाबी गर्ने तर आफ्नो नाम चाहिँ भन्न नसक्ने?

यति भनेपछि भने उनले आफ्नो नाम खुलाए।

वीरगंज १६ घर। नाम शुभकार घिमिरे।

त्यसपछि उनले पत्रकारिता पनि एकपक्षीय भएको र झुन्डको राजनीतिमा लागेको आरोप लगाए।

‘पत्रकारिता नागरिकका लागि हो। सबै नागरिकको अपनत्वको लागि हो। तपाईँले एउटा झुन्डका लागि मात्र काम गर्ने हो भने तपाईँ पत्रकार हैन,’ उनले भने। यति भनेपछि उनी कुर्सीबाट उठे र बिदा भए।

नजिकै चियाको चुस्की लिँदै गरेका मरवाडी घरनाको समूह नै भेटियो। उनीहरुबिच पनि चुनावी चर्चा चल्दै थियो। उनीहरु ‘नो नट अगेन’ र ‘कम ब्याक अगेन’बारे कुराकानी गर्दै थिए।

त्यहीबिच वीरगंजका व्यवसायी सञ्जय अग्रवालले देशको आर्थिक अवस्था खस्किँदा नेताहरुले खासै चासो नदिएको गुनासो गरे। 
‘अहिलेको चुनावमा केही भन्न सकिन्न, देशमा अर्थतन्त्रको अवस्था खस्किएता पनि राजनीतिक दलका नेताहरुलाई यसबारेमा खासै चासो राखेनन्,’ उनले भने।

अर्का चिया पारखी भन्दै थिए - चुनावमा मजै आएन। नेताहरु फेरिएनन्। पर्सा १ मा छुट्टै छवि भएका नेता नहुँदा मतदाता निराश छन्।

त्यही समूहका अर्का व्यक्ति भने राम्रो गर्ने नेतालाई पुन: मौका दिनुपर्ने बताउँदै थिए। ‘राम्रो गर्नेलाई जनताले भन्नेछन् कम ब्याक अगेन,’ उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell