
काठमाडौं : रौतहटमा प्रहरीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ।
रौतहटको मौलापुर नगरपालिका-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली एक हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बारा आदर्श कोतवाल गाउँपालिका-६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहासहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो।
साथै, पक्राउ परेकामश्ये मौलापुर नगरपालिका-६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।