२०७६ सालको असारमा गुठी विधेयक विरुद्ध आन्दोलन चलिरहँदा विराजभक्त श्रेष्ठ हेटौंडामा थिए। आन्दोलनको नेतृत्व गर्नेहरुलाई 'ब्याक स्पोर्ट' गरिरहेका उनलाई काठमाडौंमै बस्न दबाब थियो। तर, काठमाडौंको आवाज प्रदेश संसदमा पुर्याउनुपर्छ भन्दै हेटौंडा लागेका थिए। माइतीघरमा विरोधसभा भइरहँदा उनी भने वाग्मती प्रदेशसभा बैठकमा एक्लै उभिए र गुठी विधेयक खारेजीको मुद्दालाई उठाए। त्यसबेला विवेकशील साझाबाट प्रदेशसभा सदस्य रहेका उनी काठमाडौंका 'कोर' क्षेत्रमा घण्टा बजाउँदै हिँडेका थिए। उनी भन्थे - यो घण्टीको आवाज घरघरसम्म पुग्नुपर्छ। गुठी विधेयकविरुद्ध सबैजना सडकमा आउनुपर्छ।
तीन वर्ष बित्यो। उनै विराज फेरि घण्टा बजाउँदै हिँडेका छन् काठमाडौंमा। यसपटक फरक भूमिकाको खोजीमा। प्रदेशसभाबाट उनी प्रतिनिधिसभातर्फ अघि बढ्ने बाटो बनाउने प्रयासमा छन्। विवेकशील त्यागेर हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ बाट चुनावी मैदानमा छन्।
यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेका जीवनराम श्रेष्ठले जित हासिल गरेका थिए। हाल संघीय सरकारमा मन्त्री रहेका जीवनराम नेकपा एकीकृत समाजवादीबाट यहीँ क्षेत्रमा उम्मेदवार छन्। एमालेले भने सुन्दर राजवैद्यलाई उम्मेदवार बनाएको छ। यस्तै, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाक प्रमुख पदमा उम्मेदवारी दिएका सुमन सायमि पनि यही क्षेत्रबाट लडिरहेका छन्। ५६ हजार १०६ जना मतदाता रहेको क्षेत्रमा उनीहरुसँगै १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
३ वर्षदेखि यो क्षेत्रबाट निर्वाचन लड्ने भनेर तयारी गरिरहेका छन् विराजभक्त। त्यसैले पनि यसपटकको निर्वाचनमा अप्रत्यासित नतिजा ल्याउने र पाएको जनमतलाई 'डेलिभर' पनि गर्ने दाबी छ उनको। उनै विराजभक्तलाई सहयोग रञ्जित र मुकुन्द घिमिरेले सोधे -
कस्तो भइरहेको छ चुनावी अभियान ?
समाजमा अहिले सकारात्मक परिवर्तन आएको छ। अहिले हामी पनि छौं भन्ने हिसाबले राम्रो उपस्थिति जनाइरहेका छौं। वर्षौंदेखि जकडिएको राजनीतिमा यसरी आउँदा समाज र देशले स्वीकारेका छन्। दलबाट रुष्ट साथीहरुलेसाथ दिइरहेका छन्। सीमित सीमामा नबसी 'गाइड' गरिरहनु भएको छ।
हामीले अहिले यही कुराबाट उत्साहित हुनुभन्दा पनि मंसिर ४ मा चाहिँ अझ राम्रोसँग हेर्ने गरि तयारी गरिरहेका छौं।
पहिला प्रदेशसभामा हुनुहुन्थ्यो। अब प्रतिनिधिसभा जाने तयारीमा जुट्नु भएको छ। पार्टी पनि परिवर्तन भएको छ। त्यसलाई मतदाताले कसरी हेरिरहेका छन्?
अहिले सामाजिक संजाल र सूचना प्रविधिको जमाना हो। मतदाताले राम्ररी बुझेका छन्। हामीले कति मिहिनेत गर्यौं। हेटौंडा आउने जाने गरेर जनआवाजलाई स्थापित गर्यौं। मतदाताहरु कहाँ खुशी छन् भने जनआवाजलाई मैले जहिले पनि प्राथमिकता दिएँ। पार्टीभन्दा माथि देश र मतदातालाई राखेँ। पार्टी फुटको बेला मलाई कारवाही गर्न पत्र पनि पठायो। पछि अदालतको स्टे अर्डरले बसेको हो। आन्दोलनपछि कारवाही गर्नेलाई पनि सम्मान गरेका हौं। त्यसैले पार्टीभित्रको आन्तरिक किचलोहरु र चुनौती मतदाताहरुले बुझ्नु भएको छ। अध्यक्ष (रविन्द्र मिश्र) आफै राप्रपातिर लागे। उहाँले त्यो कदम लिनुभन्दा अघि नै हामीले सामुहिक राजीनामा गरिसकेका थियौं।
इमान्दारिताका साथ भन्ने हो भने स्वतन्त्रबाट पनि उठ्ने कि भन्ने मनमा चलेको थियो। तर अहिले सबैले बुझ्नु भएको छ। यो दलीय व्यवस्था हो। स्वतन्त्रबाट मात्र हुँदैन। पछि निर्वाचित भएपछि कि सत्ता पक्ष कि प्रतिपक्ष हुनैपर्छ। अहिले नै चिह्न लिएर गयो भने बलियो हुन्छ भन्ने सुझाव आयो। त्यति नै बेला राष्ट्रिय स्वतन्त्र पार्टीले हामीलाई एकदमै अनुरोध गरेर संसदीय अभ्यास गरिसकेको मान्छे हाम्रोमा कोही छैन भनेर भने आग्रह गरे। पहिल्यैदेखि मेरो बानी हो। सानो काम गर्दा पनि सबैलाई सहभागी गराउने। अहिले म एक जना व्यक्तिलाई मतदाता र साथीहरुले स्वस्फर्त रुपमा सहयोग गरिरहनु भएको छ।
चुनावी प्रतिद्वन्द्वी बहालवाला मन्त्री छन्। सुमन सायमि पनि छन्। एमालेले कमजोर उम्मेदवार उठाउँदा तपाईंलाई फाइदा पुगेको भनिन्छ नि?
मैले त यो पाली जसरी भए पनि उठ्छु भनेर बसेको हो। त्यसैले प्रतिद्वन्द्वीको छ भनेर मैले हेरेको छैन। तर, युवामा अहिले राजनीतिप्रति वितृष्णा भएको बेला हामीले सुसंस्कृत राजनीति भनेर आकर्षण त बनाएका छौं। यो भन्दा अघि समानुपातिकमा २ लाख १२ हजार ल्याएको पार्टी हो। वाग्मती प्रदेश निर्वाचन परिचालन समितिको नेतृत्व गरेको थिएँ।
देशको परिस्थितिले गर्दा हामी राजनीतिमा छौं। अहिले हाम्रो प्रतिद्वन्दी डेंगु हो। कोरोना पछिको अवस्था हो। भूकम्पबाढी पछि राहत नपाउनु हो नि। व्यक्ति भन्दा मलाई परिस्थिति नै प्रतिद्वन्द्वी लाग्छ।
तर, बहालवाला मन्त्री हुनुहुन्छ। सत्ताको रापताप रहँदो रहेछ। हामीलाई सहयोग गरेर कोही साथीले ब्यानर राखिदिनु भयो भने उहाँहरुले प्रहरी पठाएर हटाउने गर्नुभयो। मैले त्यसमा पनि आपत्ती जनाइन किनभने मलाई त्यो बाटो हिँड्नु नै छैन। भोलि नागरिकहरुले जे चाहन्छन जो निर्वाचित हुन्छ उ नै पुग्ने हो।
स्थानीय तह निर्वाचनमा मेयर पो निर्वाचित भएको हो। तर, प्रतिस्पर्धीहरु हारेका होइनन्। १३ हजार भन्दा बढी मत ल्याएको व्यक्ति फेरि उठ्न आउनु भयो। उहाँले १३ हजार मतको आवाज हो भनेर बिसर्नु भयो। उहाँ मेयरले गरेको राम्रो काममा समर्थन र नराम्रोमा प्रतिपक्षमा बस्नुपर्थ्यो। त्यहाँ इमान्दारिता देखिएन।
प्रदेशसभामा रहँदा के गर्नुभयो। के गर्न सक्नु भएन भनेर प्रतिनिधिसभामा जाँदै हुनुहुन्छ?
अहिले नयाँ संविधानमा नविनतम सोच प्रदेश हो। मैले प्रदेशमा बसेर काम गर्दैगर्दा कतिवटा मुद्दा स्थापित गर्न सफल पनि भएको छु। वातावरण विधेयकमा दिगो विकासलाई मर्मको अनुरुप स्थापित गरेको छु। युवाले कानुन निर्माण तहमा पुग्नु सबैको उपलब्धी हो। संयुक्त राष्ट्रसंघमा समेत मैले वातावरणको मुद्दालाई उठाएको छु। भाषा आयोगले सिफारिस गरेको नेपाल भाषा र तामाङ भाषालाई वाग्मतीको कामकाजको भाषा बनाउन योगदान छ। प्रदेससभामा प्रतिपक्षको भूमिमामा बसेर जनआवाजको पक्षमा बोलेको छु।
समस्या कहाँ छ भने यो एकदमै काँचो व्यवस्था रहेछ। हामीले उठाइरहेका काठमाडौं, सम्पदा, वातावरण, स्वास्थ्यका मुद्दा प्रतिनिधिसभाले सम्बोधन गर्ने ठाउँ रहेछ।
मुख्यमन्त्रीलाई ठेकेदारलाई निर्देशन दिने अधिकार पनि छैन। तर सीडीओलाई गोली हान्न दिने अधिकार पनि छ। यो विकेन्द्रिकरणको मर्म विपरीत भयो। यो आवाज कहाँ उठाउने त त्यहाँ उठाउने। सरल भाषामा भन्दा खर्बौं खर्च गरेर ल्याएको यो व्यवस्था एकैपटक उल्टाउन हुन्न। त्यसलाई सुधार कसरी गर्न सकिन्छ भनेर जानुपर्छ।
संघीयता कार्यान्वयन गर्न नै प्रतिनिधिसभामा आउनुपर्छ भन्ने मैले महसुस गरेको छु। अहिले पनि म पुरातन दलका नेताहरुमा केन्द्रिकृत मानसिकता देख्छु। त्यसका कारण देशले विकेन्द्रिकरण हेर्न पाएको छैन। त्यसलाई युवाले अब प्रतिकार गर्छ। जबजब नब सामन्तीहरु जन्मन्छन् तब तब नयाँ क्रान्तिकारीहरु पनि जन्मन्छन्। हाम्रो पुस्ताको क्रान्ति ढुंगा हान्ने बन्दुक समाउने हुँदैन। हामी वैचारिक क्रान्ति गर्न सक्छौं।
अर्को प्रमुख मुद्दा भनेको काठमाडौंको हो। काठमाडौंलाई जहिलै राज्यले भर्याङमात्र बनायो। काठमाडौंका नागरिक नओर्ली व्यवस्था परिवर्तन भएकै छैन। यहीँ कै मानिसको रगत बगेको छ। २०४६ सालमा नजिकै रहेको मानिस गोली खाएर लडेको देखेको हुँ। उसको त्याग केका लागि? यही भ्रष्टारलाई? गठबन्धनका लागि हो त? यो गठबन्धन शहीदको सपना साकार गर्न हो त?
देशको अहिलेको व्यवस्थालाई न्याय गर्न पनि त्यहाँ स्थापित हुनुपर्छ जस्तो लाग्छ। हामी भर्खर आएकाले इन्द्रचोक पुनर्निर्माण गर्न सक्यौं। वर्षौंदेखि सत्तामा रहेकाले नसक्ने? हामीले खुला क्षेत्र प्रवर्द्धन गरेर पार्क बनायौं। उनीहरुले नसक्ने? त्यसैले प्रतिनिधिसभामा उम्मेदवारी दिने भनेर ३ वर्ष अघि नै तयारी गरेको हो।
काठमाडौं ८ मा 'कोर' क्षेत्र धेरै पर्छ। नागर्जुनको दुईटा वडा छ। मतदाताका माग के छन्?
काठमाडौं ८ सांस्कृतिक हिसाबले एकदमै विविध छ। अधिकांशको चासो, अमूर्त र मूर्त सम्पदा कसरी जोगाउने, जाम नहोस्, फोहोर समयमा उठोस्, पानीको व्यवस्था होस्, वागमती सफा होस् भन्ने छ। नागार्जुन अलि माथि परेकाले भौतिक पूर्वाधार र सार्वजनिक यातायातको सहज पहुँचको माग छ।
केही महिना अघि सर्भे पनि गराएँ यस क्षेत्रमा। त्यसैले हचुवाको भरमा भावनात्मक रुपमा मात्र आएको होइन। वैज्ञानिक हिसावले नै तयारी छ।
उज्ज्वल थापाको विचारलाई संसदमा पुर्याउने भन्दै हुनुहुन्छ। अप्रत्याशित नजिता ल्याउन सहजै छ?
उज्ज्वल थापा मेरो दाइ, गुरु, साथी। एउटा समबन्धले मात्र म उहाँलाई सम्बोधन गर्न सक्दिन। उहाँले पार्टी बनाउन सिकाउनु भएको होइन। उहाँले देश बनाउन सिकाउनुभएको हो। अहिले पनि पार्टीका साथीहरु जकडिएर बसेका छन्। जब कि हामी पनि संस्थापक सदस्य हो। योगदान गरेको हो। टोल गल्लीमा चिनाएको हो। वागमतीमा ३ जना सांसद स्थापित गरेको हो। तर, उज्जवल दाइले हामीलाई के भन्नु हुन्थ्यो भने राम्रो मान्छे जुन पार्टीबाट उठे पनि हामीले जिताउन सक्नुपर्छ। हाम्रो पार्टीमात्र ठीक भन्ने पक्ष गलत हो। अहिले कांग्रेस एमालेका साथीहरुले विद्रोह गर्न थाल्नुभएको छ। अझै केही साथीहरु भोलि पनि पार्टी चाहिन्छ भनेर बसिराख्दा अचम्म लाग्छ। मिलेर बसेको समाजलाई किन टुक्राएको?
उज्जवल थापाले चार वटा पिल्लरको कुरा गर्नु भएको छ।
सरकार कस्तो हुनुपर्छ : सेवक जस्तो
राज्य कस्तो हुनुपर्छ : हितकारी हुनुपर्छ
समाज कस्तो हुनुपर्छ : उद्यमशिल समाज हुनुपर्छ, आत्मनिर्भर समाज नेतामा भर पर्ने होइन।
नागरिक कस्तो हुनुपर्छ : विवेकशील हुनुपर्छ।
यो चारवटा खम्बालाई लिएर अघि बढेका छौं। यो अभियान कुनै एक पार्टीले मात्रै बोक्नु पर्छ जस्तो मलाई लाग्दैन। यो सबै पार्टीले गर्न सक्छन्।
पाँच वर्ष अघि उज्ज्वल थापाले भनेका मुद्दा अहिले सबैले उठाउन थाले नि त। बन्दुक लिएर जंगल पसेको मान्छे समेत माइतीघरमा प्लेकार्ड लिएर बस्ने बनाइदियो। यो हो परिवर्तन। हामीले संसदमा प्रतिनिधित्व गरिरहँदा यही कुरा हो उठाउने। पहिला भन्दा त अभ्यास पनि छ। त्यसैले सशक्त प्रस्तुती हुन्छ।
तपाईंले गरिरहनु भएको दाबी सफल हुन नागरिक विवेकशील भएका छन् त?
पहिला भन्दा पाएको छु। यस पटक स्थानीय तह निर्वाचनले पनि देखायो। दलभन्दा नागरिक शक्तिशाली भन्ने प्रमाणित भयो। काठमाडौंले परिवर्तन खोजिरहेको छ। हामी जस्तो युवा आउँदा नागरिकहरुलाई के आश छ। यसले जनआवाजलाई स्थापित गर्छ, कसैको दबाब सुन्दैन भन्ने विश्वास छ। मैले त पाँच वर्ष आफूलाई सावित पनि गरेको छु।
जनप्रतिनिधि त जहिल्यै जनताप्रति उत्तरदायी हुनुपर्छ। यही सिकेको हो डेमोक्रेसीमा। मैले संसदमा केके गरेँ भनेर हरेक वर्ष सार्वजनिक पनि गरेको छु। त्यो भनेको म मतदाताप्रति उत्तरदायी छु भनेको हुँ। बरु म पार्टीप्रति हुन्न। पार्टीमा पनि स्वार्थ जोडेको मान्छे हुन्छ। सबै मान्छे नराम्रो छैन। ५ प्रतिशत नराम्रोले ९५ प्रतिशतलाई शासन गरिरहेको थियो। हाम्रो झिंगा जस्तो पार्टीमा पनि त्यही समस्या थियो। त्यसैले त्यहाँ बस्न सकिएन। अप्रत्यासित नतिजा आयो भने डेलिभर गर्न सक्छौं।
स्वतन्त्र पार्टीले कस्तो गर्छ भन्ने अनुमान गरिरहेका छन्। तपाईंको नजरमा कस्तो?
हामीले के बुझ्न पर्छ भने समाजले सजिलै आफ्नो 'कम्फर्ट जोन' छोड्दैन। बाजेदेखि राखिआएको चिह्न छोड्दैन। अहिले भने ठूला दलप्रति वितृष्णा छ। मानिसले विकल्प खोजिरहेका छन्। गत आवाधिक निर्वाचनमा विवेकशील र साझा थियो। तर आन्तरिक कलहका कारण जनताले कहाँ झारिदियो? किशोर थापा र रन्जु दर्शनाको भोट जोड्दा ४४ हजार थियो महानगरमा। त्यो झरेर ६ सयमा आयो। जनताले वार्निङ दिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कोसिस गरेको छ। अहिले नै मूल्याङ्कन गर्न 'टु अर्ली' हुन्छ। किनभन्दा राजनीतिक दल बन्न प्रक्रिया पालना गर्नुपर्छ। यो पार्टी त्यो प्रक्रियामा छ। चुनाव पछि यो पार्टीको चुनौती अझ बढ्छ जस्तो लाग्छ। त्यहाँभित्र विचार र सिद्धान्तमा मन्थन हुन्छ। त्यसपछि यो अझ बलियो हुन्छ जस्तो लाग्छ।
अहिले हामी पार्टीको कुनै जिम्मेवारीमा छैनौं। हामी पार्टीको चिह्न सदुपयोग गरेर मैदानमा छौं। काठमाडौंलाई भर्याङ नबनाउने भए यसलाई अघि बढाउँछौ। नभए हामी आफ्नै शक्ति निर्माण गर्छौं।
मैले आफ्नै घोषणापत्र सार्वजनिक गरेको छु। मलाई निर्वाचित गर्ने मतदाताप्रति मेरो प्रतिबद्धता म जाहेर गर्नु नै। पार्टीको वाचापत्रमा मैले पठाएको केही सुझावलाई उहाँहरुले राख्नु भएको छ। भ्रष्टाचार, गुठी विकास र दिगो विकासका मेरो एजेन्डालाई उहाँहरुले राख्नु भएको छ। त्यसभित्रका अन्य अन्तर्वस्तुहरुलाई स्वीकार्ने नस्वीकार्ने भन्ने विन्दुमा हामी पुगेका छैनौं। हामी जब पार्टी प्रवेश गर्छौं, मसँग त ठूलो समूह छ। उनीहरुसँग छलफल गरेर त्यो सम्भव छ कि छैन। यी सिद्धान्तमा हामी सक्छौं कि सक्दैनौं भनेर छलफल गर्छौं। स्थानीय तहमा थोरै समय अघि मात्र चिह्न पाउनु भयो उम्मेदवारहरुले। त्यस्तो भए गाह्रो हुन्छ भनेर अहिले विकल्प घण्टी आएकाले त्यसलाई सदुपयोग गरौं भन्ने भयो। पाँच वर्षमा संसदीय अभ्यास गरेपछि व्यक्तिमात्र नहुने रहेछ। जनआवाज उठाउनुपर्ने रहेछ। हाम्रै साथीहरुले भोलि यो हुन्न भन्नु भयो भने सोचौंला।