
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएक छन्।
लोकतान्त्रिक वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहसँगै घरदैलो कार्यक्रममा सहभागी भएका भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका हुन्।
'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु', उनले भने।
भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरे पनि बताएका छन्। गठबन्धनलाई बलियो बनाएमात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उनको भनाइ छ।
काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह, प्रदेशसभा (क)मा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा (ख)मा सुरजचन्द्र लामिछाने उम्मेदवार छन्।