
भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको कम्पनीद्वारा उत्पादित औषधिमा प्रतिबन्ध लगाएको छ। उत्तराखण्डको अथोरिटी अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले पतंजलीको औषधि बनाउने दिव्य फार्मेसीको पाँचवटा औषधी उत्पादन रोक्न आदेश दिएको हो।
फार्मेसीबाट उत्पादित हुने दिव्य मधुग्रिट, दिव्य आइग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बिपिग्रिट र दिव्य लिपिडोमको उत्पादनमा रोक लगाउन निर्देशन दिइएको हो।
मिडियामा ती औषधिबारे 'भ्रामक विज्ञापन' दिएको आरोप लागेपछि यो कारवाही गरिएको हो। सर्भिससले मिडियाबाट विज्ञापन फिर्ता लिन पनि निर्देशन दिएको छ। कारवाहीमा परेको फार्मेसीले पटक पटक 'ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्ट' उल्लंघन गरेको पाइएको छ। यी औषधिको प्रयोग आँखाको इन्फेक्सन, मधुमेह, थाइरोइडको उपचार र कलेस्ट्रोल नियन्त्रणका लागि प्रयोग भइरहेको थियो। यी पाँचवटा औषधिको 'फार्मुलेसन सिट' समीक्षा हुने र रिपोर्ट नआएसम्म उत्पादनमा रोक लगाइएको सर्भिसेसले जनाएको छ।
पतंजलीले भने आफ्नो उत्पादनहरु सबै मानकहर पूरा गरेर उत्पादन भइरहेको दाबी गरेको छ।