काठमाडौं : संगीतले सबैखाले मनस्थितिलाई सिर्जनाबाट अभिब्यक्त गरेको हुन्छ। मोटरसाइकल हाँकिरहेको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरुले धेरै गीत दिएका छन्। नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा गीत सार्वजनिक गरेको छ–
‘भटटट भटटट भट्भटे आयो
बाटो छोड् छोड् छोड्’
धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ। तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोशेली प्रारम्भ गर्दैछ।
छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको थियो। तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक गर्यो। दसौं एल्बमका सबै गीतहरु छ वर्षअघि नै रेकर्ड भएता पनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो।
छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ। यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरु रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ। अघिल्लोजस्तै यस एघारौं एल्बममा पनि दसवटा गीत रहने छन्। यस गीतको एउटा अन्तराले भन्छ –
‘कुजिएका स्वरहरु एकत्रित भइजाऊ
मनदेखि मनसम्म
सडकदेखि सदनसम्म
एकत्रित भइजाऊ है भइजाऊ’
राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सहि दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो यो शब्दले औंल्याएको छ।
यस सिर्जनामा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन्।
अमृत कुनै समय स्वयं मोटरसाइकल हाँक्थे। त्यतिबेला उनलाई एकप्रकारको उन्मुक्तता महशुस हुन्थ्यो। खुला आकाश र खुला धर्तीको बीचमै रहेर तीब्र गतिमा अघि बढ्नुले प्रदान गर्ने त्यो सन्तुष्टि थियो। मोटरसाइकल हाँक्दाको उन्मुक्तता चाहिँ यसै गीतमा प्रतिविम्वित हुनपुगेको उनी बताउँछन्। सडकमा गुड्ने मोटरसाइकलहरुले मुलुकको राजनीति र अवस्था प्रतिनिधित्व गरेको पाउने अमृतको सदिक्षा भने यी दुवै भद्रगोल नभइ अनुशासित लय र तालमा अघि बढोस् भन्ने छ। यस गीतका रेकर्डिङ इन्जिनियर इमन शाहका अनुसार पाश्चात्य संगीतको परिभाषामा यो गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ।
सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन्। क्यामरामा उनलाई मनिष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडियोको परिमार्जन गरेका छन्। यस भिडियोका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोशिस गरिएको छ। म्यूजिक भिडियोको निर्माण नेपालयले गरेको हो।
नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ। यु ट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध हुनेछन्।
यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन्।