PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

३ सय ५ रनको लक्ष्य दिएको पुलिसलाई हराउँदै आर्मी फाइनलमा



पहिलोपोस्ट

३ सय ५ रनको लक्ष्य दिएको पुलिसलाई हराउँदै आर्मी फाइनलमा
फाइल फोटो क्यान

काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले आर्मीलाई ३०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दीपेन्द्रसिंह ऐरीको सानदार शतकीय पारिको सहायतामा नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३०४ रन बनाएको थियो।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक १ सय ४० रन बनाए। उनले १२५ बलमा ५ छक्का र ११ चौकाको सहायतामा सानदार पारि खेलेका थिए। जारी प्रतियोगितामा ऐरीको यो दोस्रो शतक हो। त्यस्तै आरिफ शेख १०९ बलमा २ छक्का र ८ चौकाको सहायतामा ९१ रन बनाउँदै अविजित रहे। त्यसअघि ओपनर कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन बनाएका थिए।

बलिङतर्फ आर्मीका विक्रम सोबले ३ तथा शुसन भारीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ८९ रन बनाउँदा हरि चौहानले ७५, राजेश पुलामी मगरले अविजित ४३, कप्तान बिनोद भण्डारीले ३२ तथा बिक्रम सोबले ३० रनको योगदान दिए।

बलिङतर्फ पुलिसका करण केसी एक्लैले ६ विकेट लिँदा राशिद खान र ललित राजवंशीले समान १ विकेट लिए।

जितसँगै आर्मी फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि शनिवार आर्मी र एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell