PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

कास्कीको चुनावी ब्याटलः विगतका सारथि प्रतिस्पर्धामा, गठबन्धन र एमाले दुबैलाई अन्तर्घातको डर



रिना थापा

कास्कीको चुनावी ब्याटलः विगतका सारथि प्रतिस्पर्धामा, गठबन्धन र एमाले दुबैलाई अन्तर्घातको डर

पोखराः नेकपा (एमाले) को पकड रहेको क्षेत्र मानिन्छ कास्की। तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा क्षेत्र रहेको कास्कीमा एमालेसँग प्रतिस्पर्धामा छ सत्ता गठबन्धन। गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक/एक क्षेत्र भाग पाएका छन्। प्रदेशका क्षेत्रमा भने कांग्रेस र माओवादी केन्द्रले बराबर भाग लगाएका छन्।

२०७४ को निर्वाचनमा वाम गठबन्धनले प्रतिनिधि सभाका तीनै क्षेत्रमा जित हासिल गरेको थियो। योपटकको प्रतिस्पर्धा भने रोचक हुने देखिन्छ। हेभिवेट नेतादेखि नयाँ अनुहार मैदानमा छन्।

कास्की १ मा अन्तर्घातको डर

उम्मेदवारको अनुहार दोहोरिइरहने क्षेत्रमा पर्छ कास्की १। तारानाथ रानाभाटदेखि यज्ञबहादुर थापासम्मले यसै क्षेत्रबाट जित हासिल गरेर कार्यकारी तहमा स्थापित पनि भएका छन्। अघिल्लो निर्वाचनमा जित निकालेका खगराज अधिकारी पनि केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बने। दुबै ठूला दलले यस क्षेत्रमा अहिले भने प्रतिनिधि सभाका लागि नयाँ अनुहार उठाएका छन्। गठबन्धनबाट कास्की सभापति किशोरदत्त बराल मैदानमा उत्रिँदा एमालेबाट मनबहादुर गुरुङ प्रतिस्पर्धामा छन्। मनबहादुर पनि एमालेका जिल्ला अध्यक्ष हुन्।

यस क्षेत्रमा मादी, रूपा गाउँपालिका र पोखरा महानगरपालिकाको वडा नं १०, १२, १३, १४, २६ देखि ३२ नम्बर पर्छन्। एमालेको गढ मानिएको रुपा गाउँपालिका यसै क्षेत्रमा पर्ने हुनाले एमाले जित निकाल्नमा आशावादी सुनिन्छ। यस्तै मादी मनबहादुरको आफ्नै पालिका पनि हो। यद्यपी स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भयो। त्यसैले पनि परिणाम आफ्नो पोल्टामा पर्नेमा गठबन्धनको पनि दाबी छ।

तर दुबै पक्षलाई अन्तर्घातको डर छ। गुटगत राजनीति चर्को रहेको कास्कीमा मनबहादुर पृथ्वीसुब्बा गुरुङ पक्षका मानिन्छन्। खगराज अधिकारीको पकड रहेको क्षेत्रमा पछिल्लो समय मनबहादुरको खगराजसँग खटपट भएको थियो। तर, यी दुबै मत माग्नका लागि भने सँगै हिँडेका छन्।

‘जिल्ला महाधिवेशनमा खगराजले मनबहादुरलाई अध्यक्ष नबनाउने सोच बनाउनु भएको थियो। त्यही कुरा मनबहादुरलाई गर्दा अली खटपट भएको हो। तर, अहिले सँगै हिँड्नुभएको छ। त्यस्तो गुटगत राजनीति निर्वाचनमा नदेखिएला। एमालेको मत तलमाथि भए पनि उताको मत पनि आउन सक्छ,’ एमालेका एक नेताले भने।

तर, पृथ्वीसुब्बा पक्षधर रहेका मनबहादुरलाई एमालेकै मत खोसिने आशंका पनि गरेका छन् पार्टीभित्र नै।

यता, कांग्रेसभित्र पनि गुटगत राजनीतिको प्रभाव बढी छ। प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेता हुन् सभापति किशोरदत्त बराल। पार्टीभित्रैबाट किशोरदत्तलाई पनि डर छ। कास्की सभापतिको टिकट पाएर जित्न सघाएकाहरु नै अहिले किशोरदत्तसँग रुष्ट छन्। 

कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, केन्द्रीय सदस्य गुरु बराल टिकट पाउने दौडमा थिए। तर, सभापति बनिसकेका किशोरदत्तले एकाएक संघको टिकट हात पारे। सभापति पद पाए अन्य पदमा आफनो इच्छा नरहने बताएका थिए किशोरदत्तले। त्यसकारण पनि केही नेताले उनलाई सभापति बनाउन सघाए। तर, संघको टिकट हात पारेपछि भने उनलाई समर्थन गर्ने नेता चिढिएका छन्। जसले मतपरिणमा असर देखाउने कांग्रेसभित्रकै नेता टिप्पणी गर्छन।

यस बाहेक किशोरदत्तको लागि मनबहादुर बलियो प्रतिस्पर्धी अनुहार हुन्। २७ वर्ष शिक्षण पेशामा आवद्ध रहेका किशोरदत्तले महाधिवेशनपछि राजनीतिक यात्रा सुरु गरेका हुन्। यता मनबहादुर कास्की १ को भूगोलको परिचित अनुहार हुन्। यसअघि क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्य बनिसकेका मनबहादुर भूगोलमा चिनिएका अनुहार हुन्। उनले १७ हजार २४७ मत ल्याउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रदेश झरेका खगराज

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सपनासहित चुनावमा होमिएका छन् खगराज अधिकारी। कास्की १ (क) बाट एमाले उम्मेदवार खगराज संघबाट प्रदेश झरेका हुन्। उनीसँग प्रतिस्पर्धामा छन् गठबन्धनबाट माओवादी केन्द्रका दिपक कोइराला। दिपक गण्डकीका निर्वतमान सांसद हुन्।

तत्कालीन वाम गठबन्धन हुँदा दिपकले यसै निर्वाचन क्षेत्रबाट सांसद चुनिएका थिए भने क्षेत्र नं १ बाट प्रतिनिधि सभामा खगराज। अघिल्लो निर्वाचनमा सँगै मत मागेका सहयोगी भने अहिले प्रतिस्पर्धामा उत्रिएका छन्। यो निर्वाचन खगराजको लागि प्रतिष्ठासँग जोडिएको छ।  दिपक पनि जित हासिल गरेर राजनीतिकलाई उचाइमा लैजान चाहन्छन्।

रुपा गाउँपालिका र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ यही क्षेत्रमा पर्छन। रुपा एमालेको सबैभन्दा बलियो पकड रहेको क्षेत्र मानिन्छ। स्थानीय तहको निर्वाचनमा समेत एमालेले ७ मध्ये ६ वटा वडामा जित हासिल गरेको थियो। एउटा वडामा मात्र कांग्रेस निर्वाचित भयो। त्यस्तै पोखरा महानगरका वडामा भने कांग्रेसले आफ्नो पकड बनाउन सफल बन्यो। यस क्षेत्रको वडा नं. २९ मा मात्र एमालेले जित हासिल गरेको थियो।

पार्टीभित्र गुटगत राजनीति देखिए पनि खगराजको जित पक्का रहेको एमाले भित्रको एक समूहको आकलन छ। पार्टीभित्र नै अर्को समूह खगराजलाई हराउन लागेकोमा आशंकित पनि।

तत्कालीन वाम गठबन्धन गरी मैदानमा उत्रिँदा सहयोगी बनेका अहिले बाँडिएका छन्। एमालेबाटै विभाजित भएर बनेको एकिकृत समाजवादी पनि गठबन्धनमा छ। दिपक गठबन्धनका साझा उम्मेदवार हुन्।

२०७४ सालको निर्वाचनमा एमालेका खगराजले ३९ हजार २४२ मत ल्याएका थिए। यता कास्की १ (क) बाट दिपकले १८ हजार ७२७ मत ल्याउँदै विजयी भएका थिए।

बलियो पकड छ खगराजको आफ्नो क्षेत्रमा। दिपक पनि आफ्नो क्षेत्रको उदयमान नेता मानिन्छन्। खगराजको प्रतिस्पर्धा गठबन्धनसँग हुने भएकाले सहजै अनुमान भने गर्न सकिँदैन। पार्टीभित्रबाट अन्तर्घातको डर नरहेको पनि टिप्पणी गर्छन् एमालेका नेता।

‘दुबै मिल्नु भएको छ। कार्यकर्ताबीच विमति भए चाहिँ थाहा भएन। नेताबीच अहिले समस्या छैन। जित्ने पक्का छ हाम्रो,’ ती नेताले भने।

यस्तै कास्की १(ख) बाट एमालेका बेदबहादुर गुरुङ प्रतिस्पर्धामा रहँदा गठबन्धनबाट कांग्रेसका दिपक गुरुङ (माइला) उम्मेदवार छन्। बेदबहादुर खगराज पक्षधर नेता मान्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell