PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कैलाली ४ मा सुदूरपश्चिमका दुई ‘हेभिवेट’को संसद् छिर्न चौथो परीक्षा, को होला उत्तीर्ण?



एम बम

कैलाली ४ मा सुदूरपश्चिमका दुई ‘हेभिवेट’को संसद् छिर्न चौथो परीक्षा, को होला उत्तीर्ण?

कैलाली : नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट दुवैको पुर्ख्यौली घर डोटी हो। सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने यी दुई उम्मेदवारको एक अर्कासँग पहिलो चुनावी प्रतिस्पर्धाले कैलालीको ४ नम्बर निर्वाचन क्षेत्र अहिले चर्चामा छ।

दुवैको एक-अर्काविरुद्ध पहिलो तथा व्यक्तिगत जीवनमा संघीय संसद् छिर्न यो चौथो परीक्षा हो। डोटीबाट तीन पटक निर्वाचन लडेर मन्त्री समेत भइसकेका बलायर यो पटक कैलाली आइपुगेका छन्।

गठबन्धनका साझा उम्मेदवार बनेर भट्टसँग पहिलो प्रतिस्पर्धा गरिरहेका बलायर स्थानीय तहको मत भारका आधारमा निर्वाचित हुनेमा ढुक्क छन्। उक्त मत परिणाम हेर्दा करिब ९३ हजार मतदाता रहेको यो क्षेत्रमा गठबन्धन एमाले भन्दा १५ हजार मतले अघि छ।

आफ्नो जित सुनिश्चित रहेको बलायरको दाबी छ। आफू बाल्यकालमा यसै क्षेत्रमा खेले हुर्केको भन्दै उनी भन्छन्, ‘यो मेरो बाल्यकालसँग जोडिएको क्षेत्र हो। मेरा जन्मदाताले यही माटोमा अन्तिम सास फेरेका छन्। त्यसैले मेरा लागि यो क्षेत्रबाट विजयी भएर यो माटोलाई न्याय गर्न पाउनु सौभाग्यको विषय हो।’

उनले लेखराजलाई इङ्गित गर्दै अगाडि भने, ‘यो क्षेत्रमा निर्वाचनमा भोट माग्न नै नगई तीन पटक मतदान गरिएको छ। विकास निर्माणको अवस्था हेरेरै पनि मलाई सहज भएको छ। केही हुँदै भएको छैन यहाँ केही गरिकै रहेनछ।’

गठबन्धनको भागबन्डाका आधारमा डोटी नेकपा (एकीकृत समाजवादी)लाई परेपछि बलायर कैलाली ४ बाट पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि, तीन पटक डोटीबाट निर्वाचन लडेका बलायरलाई अहिले कैलाली आउँदा विपक्षीले ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिएका छन्।

त्यसलाई खण्डन गर्दै उनी भन्छन्, ‘मेरो बाल्यकाल मात्र हैन, यौवन काल पनि यही क्षेत्रमा बितेको हो। म कहीँबाट टपक्क टिपेर ल्याएको हैन। मैले राजनीतिक रूपमा ३६ वर्ष राजधानीमा बिताएँ। तर, मेरो घर र कर्मथलो यहीँ हो। यहाँ मैले पढेको र पढाएको स्कुल छ, सहकर्मी छन्। त्यसैले विपक्षी उम्मेदवार जसरी यो क्षेत्रमा फोहरको डङ्गुर थुपार्न आएको हैन म, त्यसलाई सुधार्न, जनताका लागि काम गर्न र जनभावनाअनुरूप कसरी काम गर्नुपर्छ भनेर तथा राजनीति आफ्ना लागि हैन, राजनीति जनताका लागि गर्नुपर्दछ भन्ने कुरा सिकाउन र त्यसको ‘ट्युसन’ पढाउन आएको छु म।’

भट्ट भने यसै क्षेत्रबाट तीन पटक निर्वाचनमा सहभागी भई दुई पटक विजयी समेत भइसकेका छन्। त्यसैले यो क्षेत्रका जनताले आफूलाई राम्रोसँग बुझिसकेका भन्दै आफ्नो जित सुनिश्चित रहेको बताउँछन्।

‘मैले यस क्षेत्रमा मन्त्री भएको समयमा अर्थात् कोरोना काल र अन्य समयमा पनि गरेका महत्त्वपूर्ण काम बाट नै मलाई यहाँका जनताले राम्ररी चिनेका छन्’, उनले भने, ‘त्यसैले म यो क्षेत्रबाट जित्नेमा ढुक्क छु।’

उनले आफूले सांसद र मन्त्री भएको समयमा गरेका कामहरू देखाएर मतदाता सामु भोट मागिरहेका छन्।

राजधानी कार्यान्वयन दुवै उम्मेदवारको पहिलो एजेन्डा

दुवै उम्मेदवारले गोदावरीमा तोकिएको प्रदेशको राजधानी कार्यान्वयनलाई पहिलो एजेन्डा बनाएर मतदाता सामु भोट मागिरहेका छन्।

‘२०७५ सालमा तोकिएको प्रदेशको राजधानीको अहिलेसम्म भोगाधिकार पाइएको छैन’, बलायरले भने, ‘त्यसैले अब यसको भोगाधिकार प्राप्ति त चाँडै नै हुन्छ, त्यसका लागि आवश्यक पर्ने ठूलो परिमाणको बजेटका लागि समेत अन्तर्राष्ट्रियस्तरबाट पहल गरेर अघि बढाउन मैले कुरा समेत चलाइसकेको छु।’

तर, भट्टले भने बलायरले यस अघिसम्म कैलालीमा राजधानी बन्न समेत नहुने भनी ढिपी कसेकाले त्यसको कार्यान्वयन आफ्नो पहलमा अघि बढ्ने बताए।

‘यसअघिसम्म राजधानी आकाशमा छ भन्नुभयो’, बलायरलाई इङ्गित गर्दै उनले भने, ‘अहिले उहाँले नै छ महिनामा कार्यान्वयनमा ल्याइने छ भन्नुभएको छ। अब यसलाई कहीँ लैजान कसैको ताकतले सक्दैन यसै क्षेत्रमा कार्यान्वयन गरिने छ।’

दुई बलिया उम्मेदवारको रोचक प्रतिस्पर्धामा कसले बाजी मार्लान्? यो प्रश्न अहिले सुदूरपश्चिमका लागि निकै चासो बनेको छ। यी दुई उम्मेदवारबिचको यो प्रतिस्पर्धालाई प्रतिष्ठाका रूपमा हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell