PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

खाद्यान्नको मूल्य आकासियो, चामलदेखि तेलसम्मको भाउ बढ्दा घरखर्च पनि बढ्दै



सरला सुवेदी

खाद्यान्नको मूल्य आकासियो, चामलदेखि तेलसम्मको भाउ बढ्दा घरखर्च पनि बढ्दै

काठमाडौं : हिउँदे तरकारी बजारमा आउँदा सर्वसाधारणले मूल्यमा राहत महसुस गरे पनि अन्य खाद्यवस्तुको मूल्य भने आकासिएको छ। चामल, दाल, तेल, पिठो, प्याकेटका खानेकुरा महँगिएका हुन्। दैनिक उपभोग्य वस्तुको मूल्य क्रमिक बढिरहँदा सर्वसाधारणको मासिक खर्चमा दबाब परेको छ।

उपभोक्ताले दशैं अघिसम्म पनि खरिद गरेका मूल्यका तुलनामा धेरैजसो खाद्यवस्तुको भाउ बढेको छ। मैदाबाट बन्ने खाद्यान्नहरुको मूल्यमा धेरै फरक परेको देखिएको व्यवसायीहरुले नै बताएका छन्। बिस्कुट, चाउचाउ, म्याकरोनी लगायतको मूल्य महँगो भएको छ। मैदाको आपूर्ति कम हुँदा मूल्य बढेको छ, जसका कारण त्यसबाट उत्पादित वस्तुको मूल्य बढेको हो।

गहुँको मागका अनुपातमा स्वदेशी उत्पादनले नधान्ने भएकाले भारतबाट आयात नगरी हुँदैन। रसिया-युक्रेन द्वन्द्वसँगै विश्वबजारमा गहुँको माग बढेपछि भारतले आन्तरिक खपतमा चाप पर्न सक्ने भन्दै गतवर्षदेखि निर्यातमा प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्धपछि कम्पनीहरुले गहुँको पिठो, मैदासँगै त्यसबाट बन्ने खाद्यपदार्थको मूल्य बढाएका छन्।

विभिन्न ब्रान्डका चाउचाउ, बिस्कुट, चकलेट र पाउरोटी, मैदा लगायतको मूल्य १० देखि ४० रुपैयाँसम्म बढेको छ। केही कम्पनीहरुले बिक्रीका लागि बजारमा पठाउने परिमाण (तौल) घटाएर मूल्य कम गरेका पनि छन्।

बिस्कुट उत्पादक ब्रिटानियाको उत्पादनहरुमा मूल्य बढेको छ। ४० भन्दा बढी फ्लेवरको बिस्कुट मात्र उत्पादन गर्ने उक्त कम्पनीको उत्पादनहरुमा सबैको मूल्य बढाएको पाइएको छ। डाइजेस्टिभ र नन्-डाइजेस्टिभ बिस्कुटको मूल्य प्याकेटमा ४० रुपैयाँसम्म बढेको छ। बजारमा १७० रुपैयाँमा पाइने ब्रिटानिया कम्पनीको बिस्कुट अहिले १९० रुपैयाँ पर्न थालेको छ। 

प्रति प्याकेट १९० रुपैयाँ पर्ने केही बिस्कुटमा भने कम्पनीले रिटेल मूल्य घटाएर १३० रुपैयाँमा दिएको किराना व्यवसायी सीता आचार्यले बताइन्। उनले भनिन् 'तर त्यसमा तौल घटेर बजारमा आएको छ।' गुड डे, ह्यापी ह्यापी लगायतका अन्य बिस्कुटको मूल्य प्रतिप्याकेट १० रुपैयाँ यथावत राखेर परिमाण भने १० पिस घटेको छ।

व्यवसायीहरुका अनुसार ७५ ग्रामको वाइवाइ चाउचाउको मूल्य पहिले २२ रुपैयाँ पुर्‍याइएको थियो। अहिले उक्त परिणाम ६० ग्राम बनाइएको छ। भने मूल्य २ रुपैयाँ घटाएर २० रुपैयाँ कायम गरिएको छ।

'खाद्यान्नको मूल्य मनपरी छ। कति बेला मूल्य बढेको छ थाहा हुँदैन। उपभोक्तालाई बिक्री गर्ने समयमा प्याकेटमा मूल्य बढेको देखिन्छ;' उनले भनिन्। यतिबेला धेरै थरीका खाद्यान्नमा मूल्य बढेको छ। उपभोक्ताले रुचाउने खजुरीको पफको मूल्य प्रतिप्याकेट ७० रुपैयाँ पुगेको छ। यसअघि ४५ रुपैयाँ रहेको पफ बढ्दै ७० रुपैयाँ पुगेको उनको भनाइ छ।

त्यस्तै, किराना व्यवसायी कृष्ण भट्ट ब्रिटानियाको बिस्कुटको मूल्य तीन महिनाको अन्तरालमा ३० प्रतिशतसम्म महँगिएको बताउँछन्। धेरैजसो खाद्यान्नको परिमाण यथावत रहेर मूल्य बढेको छ। कुनैको परिमाण घटेर पनि मूल्यवृद्धि भएको छ। पहिले बजारमा धेरै चलेको पारले जी बिस्कुटको मूल्य प्याकेटमा नबढे पनि क्वान्टिटी निकै कम भएको भट्टले बताए।

मेरीगोल्ड बिस्कुट एक दर्जनको ११५ रुपैयाँ पुगेको छ। यसअघि १०० रुपैयाँमा आउने गरेको थियो। पारले कम्पनीको बिस्कुटहरुमा पनि परिमाण घटेको छ। मूल्य प्रतिप्याकेट ५ रुपैयाँ नै यथावत छ तर यसको परिमाण २५ ग्राम मात्र छ। साथै विभिन्न ब्राण्डको चाउचाउको मूल्य खासै घटबढ भएको छैन। यसमा परिमाण घटेका छन्।

आयातित खाद्यन्नसँगै स्वदेशी उत्पादनहरुमा पनि मूल्य बढ्दै गएको व्यवसायी भट्टले जानकारी दिए। मैदाको मूल्य प्रतिकेजी ११० रुपैयाँ पुगेको छ। डेरी मिल्क चकलेट ८० रुपैयाँको मूल्य बढेर एक सय रुपैयाँ भएको व्यवसायीले बताएका छन्। मल बोरामा २ सयभन्दा बढी बढेको छ भने तेलको मूल्य कार्टुनमा ३ सय रुपैयाँ वृद्धि भएको छ। दालहरुको मूल्य केजीमा १० रुपैयाँ भन्दा धेरै बढेको पाइएको छ।

यतिबेला टोकला चियाको मूल्य भने घटेको छ। जसमा एक हजार ग्रामको ५ सय ५० रुपैयाँमा बिक्री भइरहेको व्यवसायी अमुलकाजी तुलाधरले बताए। उनका अनुसार पहिले  ६ सय ५० रुपैयाँभन्दा बढी मूल्य रहेको चिया भने केही समयदेखि सस्तिएको छ। पछिल्लो समय बजारमा चामल, तेल, दाल, गेडागुडी, फलफूल, अण्डा र खसीको मासु लगायतमा मूल्य पनि बढ्न थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell