PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अनुभवी कृष्णभक्त पोखरेल र मिडियाले चर्चामा ल्याएका रवि लामिछानेप्रति गठबन्धनका उमेश श्रेष्ठको कस्तो छ दृष्टिकोण? (अन्तर्वार्ता)

अनुभवी कृष्णभक्त पोखरेल र मिडियाले चर्चामा ल्याएका रवि लामिछानेप्रति गठबन्धनका उमेश श्रेष्ठको कस्तो छ दृष्टिकोण? (अन्तर्वार्ता)

पहिलोपोस्ट /पहिलोपोस्ट


लामो समय शैक्षिक क्षेत्रमा बिताएका उमेश श्रेष्ठ अहिले चितवनमा चुनावी दौडमा छन्। कानुनी पृष्ठभूमिका यहीँका अनुभवी सांसद कृष्णभक्त पोखरेल र मिडियाबाट चर्चा बटुलेका रवि लामिछानेसँग नेपाली कांग्रेसका श्रेष्ठको कडा प्रतिस्पर्धा हुने आँकलन छ। चितवनमा प्रत्यक्ष रुपमा राजनीतिमा उत्रिनुअघि व्यवसायसमेत विस्तार गरिसकेका छन् उमेश श्रेष्ठले। समानुपातिक सांसदका रुपमा प्रतिनिधिसभामा अनुभव लिइसकेका उनले किन यहाँको चुनावी मैदान रोजे र निकटतम प्रतिस्पर्धीलाई कसरी लिन्छन्? विज्ञान अधिकारी, सविन ढकाल र प्रकाश भण्डारीले उनलाई सोधे -

लामो समय शिक्षा क्षेत्रमा रहनुभयो। आखिर किन यसरी प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु पर्‍यो?

लामो समयसम्म शिक्षामा काम गरेको नाताले अब देश समृद्धिको लागि काम गर्नुपर्छ भन्ने भयो। समानुपातिकतर्फबाट २६ जनामा म एउटा एक्सपर्टका रुपमा संसद गएँ। नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य भएँ।

अबको पाँच वर्ष चाहिँ देश समृद्ध बनाउनुपर्ने काम गर्ने लक्ष्य छ। विशेष गरि शिक्षा र स्वास्थ्यमा काम गर्ने सोचका साथ म अगाडि बढेको हुँ।

तपाईँ सांसद र मन्त्री त हुनुभयो नै। अब के अझै बलियो कार्यकारी पदमा बस्ने लक्ष्य हो?

मैले १० वर्ष संसदमा बस्दाखेरी खाली शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनका लागि प्रयास गरेँ। सङ्घीय संरचनामा गए पनि ऐन बनाउन सकिएको छैन। सबभन्दा देश समृद्धिको ढोका भनेको शिक्षा हो। त्यसको लागि मैले १० वर्ष काम गरेँ। ऐन आउने आउने क्रममा देशको आर्थिक अवस्था लगायतका कारणले रोकियो। १२ कक्षासम्मको शिक्षा कसरी नि:शुल्क बनाउने, टेक्निकल, भोकेसनल शिक्षालाई कसरी लैजाने भन्ने छ। सीपमूलक शिक्षाको आवश्यकता छ। त्यसको अलावा हायर एजुकेसनलाई कसरी लैजाने? नेपाल शिक्षा र स्वास्थ्यको ठूलो हब हुनसक्ने छ। त्यसमा काम गरेको छैन।

नेपाल १० वर्षमा कायपलट हुनेगरी समृद्धिको क्षेत्रमा जानसक्छ। हाइड्रो, ग्रिन इनर्जी, पर्यटन, वनजंगल, जडीबुटी र पर्यटनको सम्भावना छ। युथ जनशक्ति छ। राज्य र प्राइभेट क्षेत्रबिच सहज वातावरण सृजना गर्ने र पार्टनरसिपमा जानुपर्छ। त्यही कामका लागि हामीजस्ता राजनीति गर्ने साथी हुन जरुरी छ। इकोनोमिष्टहरु पनि ल्याउन जरुरी छ। कोहो आफ्नो फिल्डमा काम गरेका व्यक्तिहरू ल्याउनुपर्छ। सक्सेस स्टोरी भएका व्यक्तिहरूलाई पनि ल्याउन जरुरी छ।

भोजपुरबाट झरेर तपाईँ चितवन आइपुग्नु भयो। यहाँ तपाईँका आधार के हुन्?

वास्तवमा भन्नुपर्दा ललितपुर हो मेरो आधार। संस्थाहरु बढाएको पनि ललितपुरमा हो। म चितवनमा चाहिँ ३२ वर्षदेखि छु। यहाँ पनि संस्थाहरु, होटेलहरू छ। मेरो स्थायी सम्पत्तिहरू पहिलेदेखि नै छ। ३ नम्बर क्षेत्रमा धेरै छ। अहिले मैले दुई नम्बर क्षेत्रमा अवसर पाएँ। दुई नम्बर क्षेत्र पनि मेरो आफ्नो घर भएको क्षेत्र हो। अरु दुई वटा पालिकाहरू छन्। इच्छाकामना पालिका लगायत क्षेत्रमा काम गर्नुछ। १ लाख १० हजार भोट मध्ये ८० हजार सहरमा बाँकी गाउँमा छ।

तपाईँका प्रतिस्पर्धी शक्तिशाली देखिनुभएको छ। प्रतिस्पर्धा टफ छ जस्तो लाग्दैन?

यतिखेर सुप्रिम कोट भनेको जनता हो। म काम गर्ने व्यक्ति। काम गरेर देखाएको हो। अब पाँच वर्ष सेवा गर्ने। सारा चिज छोडेर जनतासमक्ष आएको छु। विगत ५० वर्षसम्म जे गरेँ अब चाहिँ जनतासँग जुधेर भिजेर काम गर्ने लक्ष्य हो। मेरा सम्मानित साथीहको विरोध गर्दिन। कृष्णभक्तले १० वर्ष बस्नु भयो। उहाँले के काम गर्नुभयो? मूल्याङ्कन भनेको मैले होइन जनताले गर्ने हो। अर्का रविजी हुनुहुन्छ। कोभिडका बेला हस्पिटल मैले दिएँ। उहाँले चलाउनु भयो। यसमा पनि मेरो विरोध छैन। छान्ने अधिकार सबैलाई छ। रविजी ३ नम्बरमा लड्ने कुरा थियो। अल अफ सडेन त्यताबाट यता आउनु भयो। मेरो कुनै गुनासो छैन। मैले सुप्रिम कोर्ट भनेको जनालाई बुझ्छु। तीनमध्ये कसले जित्छ जनताले छान्ने र मूल्याङ्कनको कुरा हो।

रविजीलाई नजिकबाट चिनेको, कोभिडको बेला आफ्नो अस्पताल नै चलाउन दिएको। त्यसको नाताले पनि तपाईँहरू बिच केही कुरा भएको थिएन?

उहाँलाई मैले सोध्दा खेरी ३ नम्बर क्षेत्रमा जाने कुरा थियो। अल अफ सडेन यहाँ आउनुभयो। एक चोटी मैले भेटेँ त्यसपछि छैन। किनभने उहाँ आउने क्षेत्र भनेको ३ नम्बर थियो। एक दिन अगाडि यस्तो भयो भन्नुभयो। त्यसलाई मैले अन्यथा सोचेको छैन। किनभने प्रतिस्पर्धा नै हुन्छ। यो प्रत्यक्ष चुनाव हो। म जनतासमक्ष हिँडेको छु। जसलाई जनताले छान्छ उहाँले काम गर्ने हो।

कांग्रेसका सन्दर्भमा चितवन अन्तर्घातको अखडा नै हो। केही असन्तुष्ट पक्षलाई त ल्याउनु भयो। बाँकीलाई कसरी ल्याउनु हुन्छ?

अहिलेसम्म न्युट्रलमा छु। १० वर्षसम्म सांसद भइसकेको मान्छे। सबैसँग राम्रो सम्बन्ध छ। जुन किसिमको माहोल कांग्रेसभित्र पाइरहेको छु त्यो एकदमै पोजेटिभ छ। जिल्ला सभापति लगायत पूर्व सभापति सबैले साथ दिनु भएको छ। दुर्गम क्षेत्रमा पनि अफिस खोलेका छौं। मैले सबैबाट सहयोग पाउँछु भन्ने लागेको छ।

अघिल्ला निर्वाचनमा आफ्नै पार्टीका कारणबाट पनि हारेका छन् कांग्रेसका उम्मेदवार। त्यसैले पनि आफ्नै भित्रबाट थ्रेट छ जस्तो लाग्दैन?

कांग्रेसले २३ वर्षपछि अवसर पाउँदैछ। स्थायी सरकारका लागि अवसर हो। गठबन्धन भएकाले सबैले काम गर्नुभएको छ। मलाई त्यति समस्या पर्छ जस्तो लाग्दैन।

केही वडामा एमालेको एकदम बलियो भोट छ। त्यसलाई निर्णायक मान्छन् नि?

११ र १२ वडा हो। त्यहाँ प्रगति के गर्‍यो भन्ने यहीँनेर छ। १० वर्षमा के गर्‍यो? नयाँ मान्छेले के गर्न सक्छ भनेर मूल्याङ्कन गर्नसक्छन्। मूल्याङ्कन जनताले गर्छन्। परिवर्तन खोजेका छन्।

तपाईँले पछिल्लो समय चितवनमा एग्रेसिप रुपमा लगानी गर्नु भएको छ। त्यस्तै आफ्ना केही क्षेत्र ट्रस्टमा लैजाने भन्नुभएको छ। ती कुरा चितवनमा पनि लागू हुन्छ?

मेरो अनुभवबाट अहिले हजारौँ मानिसलाई रोजगारी दिएको छु। बैङ्किङ क्षेत्र, होटेल छन्। ती सबै सिस्टमले चलाउने हो। जीवनमा आफैँले चलाउँछु भनेर हैकमवादले संस्था चल्दैन। सेक्टर सेक्टर काम गर्ने हुन्छ। मेरो संस्था हो, लिटिल एन्जल्सको म फाउन्डर हुँ। त्यहाँ ८ हजार विद्यार्थी छन् तर पनि म त्यहाँ छैन। ३२ वर्ष हेडमास्टर भएर काम गरेँ। अहिले म हुँदाभन्दा राम्रो चलेको छ। विद्यार्थी पनि घटेको छैन। क्वालिटी पनि राम्रो छ। मैले सबै छोडेर जाने हो। लैजाने केही होइन, त्यसैले फाउन्डेसनको घोषणा गरेँ। एउटा कर्पोरेटर अफिस बनाउँछु। त्यसमा एकदम एक्सपर्ट साथीहरू हुनुहुन्छ। म भने एउटा फाउन्डेसन लिएर सामाजिक काममा लाग्छु।

चुनाव एकदमै खर्चिलो छ भन्छन्। एकदमै मेहनत गरेर कमाएको पैसा खर्च गर्न ग्राहो हुन्छ। चुनावमा चाहिँ कतिको खर्चिलो भएको महसुस गर्नु भएको छ?

चुनाव असाध्यै खर्चिलो भयो। तलदेखिकै संरचना खर्चिलो भएको छ। वास्तवमा हुन नपर्ने हो। राम्रा मान्छेहरू तलदेखि नै छानेर जानुपर्ने हो। कसरी चाहिँ योग्य मानिस जान सकिन्छ भन्ने हो। म त पैसाको भ्यालु बुझ्ने मान्छे। साथीहरूलाई भनेको छु तपाइहरूले अब चाहिँ खर्चिलो नबनाउनुहोस्।

तपाईँले चुनावी अभियानमा हिँड्दा कस्तो अवस्था देख्नुभयो? अनि चुनावी एजेन्डा के हुन् तपाईँका?

म गरेर आएको मान्छे हुँ। चण्डिभञ्जाङको स्कुल हेर्दा एकदमै निराश भएँ। प्राइमरी लेभलको टिचरले एउटा हाइ स्कुलको दरबन्दीमा पढाइरहेको रहेछ। त्यहाँ उत्पादन भएको एउटा चिज ल्याउँदा प्रति केजी ७ रुपैयाँ तिर्नुपर्ने रहेछ। वास्तवमा सरकारले अलिकति ध्यान दिने बित्तिकै त्यहाँ २० मिनेटमा पुग्नसक्छ, रोड बनाउने हो भने। हाम्रा ओझेल परेका ठाउँलाई उज्यालो बनाउन सकिन्छ। पाँच वर्षमा परिवर्तन आउने गरी सोचेको छु मैले।



ट्रेन्डिङ पोस्ट

Ncell