
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको बताएका छन्। सत्ता गठबन्धनबाट सोही क्षेत्रबाट उम्मेदवार रहेका पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको आरोप लगाएका हुन्।
‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहान्छु। तपाईंले अवसर पाउनुभयो, एकपटक होइन पटक पटक। तर तपाईंले केही पनि गर्न सक्नुभएन,’ पौडेलले भने।
त्यसैगरि विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई ईश्वरले नै लुटेको आरोप प्रदीपले लगाए।
‘नगरेको मात्र होइन, तपाईंले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो,’ उनले भने, ‘त्यसकारण तपाईंको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस्। हामीलाई अवसर दिनुस्। हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउँनेछौँ।’
त्यस्तै उक्त क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे प्रदीपले। स्वतन्त्रहरुले वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै आएको तर आफूहरुले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको उनको दाबी थियो।
‘स्वतन्त्र उम्मेदवार साथीहरुलाई म भन्न चाहन्छु। तपाईंहरुले वैकल्पिक राजनीतिबारे बहस गर्नुभयो। तपाईंहरुलाई स्यालुट गर्न चाहान्छु। म यो पनि भन्न चाहान्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरु पार्टीमा पनि छन्,’ उनले भने।
निर्वाचनका बेला आफूलाई विपक्षीले 'टुरिस्ट' उम्मेदवार रहेको हल्ला फिजाएको भन्दै प्रदीपले विरोध जनाएका छन्। आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचित नभएको उनले स्पष्ट पारे।