PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विमलेन्द्र निधिको दाबी : रेल ल्याउनमा केपी ओलीको सिन्को योगदान छैन, जे भन्यो त्यही नपत्याउनुस्



पहिलोपोस्ट

विमलेन्द्र निधिको दाबी : रेल ल्याउनमा केपी ओलीको सिन्को योगदान छैन, जे भन्यो त्यही नपत्याउनुस्

विमलेन्द्र निधि मधेशमा कांग्रेसका प्रभावशाली नेता हुन्। कांग्रेस सभापति हुने र राष्ट्रिय राजनीतिको नेतृत्त्वमा आउने उनको योजना असफल भयो पार्टीको महाधिवेशनमा। यसपाला उनी प्रत्यक्ष निर्वाचनमा छैनन्, समानुपातिक तर्फ सुरक्षित सूचीमा छन्। मधेश प्रदेशका ८ जिल्लामा राम्रो नतिजा निकाल्ने कांग्रेसको लक्ष्य पूरा गर्न उनी लगातार यात्रा गरिरहेका छन्। जनकपुरधाममा रहेको मिल्स रोडमा अड्डा जमाएर बसेका निधिले कांग्रेसलाई पहिलो पार्टी बनाउने एजेन्डा लिएको बताए। यसै सन्दर्भ र कांग्रेसको चुनावी रणनीतिबारे निधिलाई नेत्र तामाङ र सुमित मिश्रले सोधे -

१४ औं महाधिवेशनमा तपाईको मुल एजेन्डा थियो कांग्रेसलाई बहुमत दिलाउने। यसपालि जम्मा ९१ सिट पाएको छ, तपाईँको लक्ष्य प्राप्ति होला कि नहोला?

९१ आफैँमा बहुमत सिट हो १६५ मा। २७५ मा १३६ हो। यो चुनावबाट आउन बाँकी छ। हाम्रो कोसिस छ चुनावबाट बहुमत आओस्।

मधेश कांग्रेसको उर्बर भूमि हो। जसपा गठबन्धनमा थियो अन्तिममा बाहिरियो। त्यसले असर पार्दैन?

मधेश प्रदेशमा ८ जिल्ला छ। त्यतिमात्र मधेश हैन, झापादेखि कञ्चनपुरसम्मको २०-२२ जिल्ला मधेश क्षेत्रमा पर्दछ। परम्परागत तथ्याङ्क हेर्ने हो भने नेपाली कांग्रेसको बलियो प्रभाव क्षेत्र हो। नेपालमा जति पनि क्रान्ति भएको छ संघर्ष भएको छ। त्यसको उर्बर भूमि संगठन गर्ने आन्दोलन गर्ने मधेश नै हो, काठमाडौं बाहेक। पाहाडी जिल्लामा भन्दा बढी पोलिटिकल एक्टिभिटिज मधेशमै भएको छ। नेपाली कांग्रेसको लिडरसिप पटकपटक भएको हुनाले कांग्रेसको प्रभाव छ।

पछि मधेश आन्दोलनको प्रभाव हेर्दा कांग्रेसको बाहुल्यतामा ह्रास आएको छ। यसको कारण माओवादीसँग, एमालेसँग पनि मधेशवादी दलसँग पनि बेलाबेला राजनीतिक सहकार्य गर्नुपर्‍यो। तदानुकुल उनीहरुलाई भागबण्डामा राख्नुपर्‍यो। त्यसले गर्दाखेरि नेपाली कांग्रेसको पक्षमा परिणाम राम्रो आउन सकिरहेको छैन। प्रभाव राम्रो भए पनि।

भनेपछि यसपाला राम्रो हुन्छ भन्न खोज्नुभएको?

मधेशवादी दलहरु अब कसैको नाम मधेशसँग जोडिएको छैन। जसपा, लोसपा, पहिलेपहिले फोरम तमलोप के के थियो। मधेश केन्द्रित राजनीति गर्ने दलहरुले नै आफ्नो नामबाट नै मधेश शब्द हटाइसकेको छ। यसको एउटा कारण परिणाम के भने अब धेरै परिणाममुलक राजनीति गर्न सक्दैन। यसको मतलब हो उनीहरुलाई जनताले पत्याएन। त्यसकारण त्यो वातावरण नेपाली कांग्रेसको पक्षमा आएको छ। जसपा लोसपाको पर्फर्मेन्सले गर्दा जनताले के बुझे भने यिनीहरुको दाउ सत्तामा जानेमात्र रहेछ त्यसकारणले मधेशमा जनतामा तथाकथित मधेशवादी दलहरुप्रति जनताको विश्वास घटेको छ र अब गठबन्धनबाट जसपा हटेको छ। लोसपा त चुनावको मुखमा आएको छ। मधेशमा कांग्रेसको तुलनात्मक रुपमा बढी परिणाम आउने आशा हामीले गरेका छौं।

तपाईं अड्डा जमाएरै यता बस्नुभएको रहेछ। पार्टीले विशेष भूमिका दिएको हो कि?

म पार्टीको जिम्मेवार सिपाही हुँ। पार्टीको उपसभापति भइसकेको मान्छे। १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धामा उत्रेर पराजित भएँ। मलाई पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गराउनुभयो। पूर्ववत जसरी मैले पार्टीको पक्षमा त काम गर्थेँ त्यसरी नै गरिरहेको छु।

तपाईँको क्षेत्रमा त गठबन्धनबाट लोसपाले प्रत्यक्षको टिकट पाएको छ। कांग्रेसलाई कसरी फाइदा भयो त?

हो म यतै बसिरहेको छु। धनुषा जिल्लामा म लडिनँ। पार्टी सभापतिले चुनाव लड्नुस् भन्नुभएको थियो। म स्वेच्छाले समानुपातिकमा बसेँ। धनुषा क्षेत्र ३ मेरो क्षेत्र। यहाँ नेपाली कांग्रेसले नै अर्को नेतालाई उम्मेदवार उठाउने तयारी थियो। तर, लोसपालाई गठबन्धनमा ल्याएर ठाउँ दिनुपर्ने भएकोले अनिल झालाई हामीले स्वीकार गरेका छौं।

अनिल झा यहाँ नयाँ हुनुहुन्छ। मेरो निर्वाचन क्षेत्रका पार्टीका साथीहरुसँग सल्लाह गरेर उहाँ आउनुभएको छ। उहाँलाई सहयोग गर्नु मेरो पहिलो प्राथमिकता हो। त्यसकारणले पनि यहाँ आएर बसेको छु।

आफ्नो निर्वाचन क्षेत्रको सबै साथीभाइलाई क्षेत्रीय समिति, प्रदेश समिति वडाहरुको समिति यो क्षेत्रमा ३८ वटा वडा छ। लोसपाको संगठन थोरै छ। कांग्रेस, माओवादी, लोसपा, एकीकृत समाजवादी मध्ये कांग्रेसको वर्चश्व छ।

तपाईँ प्रत्यक्षमा उम्मेदवार हुनुभएन भनेर सोध्न थालेका छन्। नलड्नुको मुख्य कारण के हो?

हैन। प्रत्यक्षमा चुनाव नलड्दा चुनावै होइन भन्न थालियो। यो देशका लागि संविधानका लागि उपयुक्त न्यारेटिभ्स भएन। हाम्रो देशमा संसदमा जानका लागि दुईटा निर्वाचन प्रणालीलाई माध्यमका रुपमा संवैधानिक रुपमा ग्रहण गरेका छौं - समानुपातिक र प्रत्यक्ष। प्रत्यक्षलाई मात्र निर्वाचन ठान्ने, समानुपातिकलाई निर्वाचन नठान्ने हो भने यसको महत्व नै सकिन्छ।

विगत २०७४ सालको निर्वाचनको परिणाम हेर्ने हो भने १६५ मा हामीले २३ सिट मात्र जितेका थियौं। संसदमा कति सिट पुग्यो? ६३। भनेपछि त ४० वटा सिट त समानुपातिकमा ल्यायो नि। प्रत्यक्षभन्दा दोब्बर सिट। समानुपातिक प्रणालीको महत्व परिणाम प्रणालीको रुपमा धेरै ठूलो छ। सरकार बनाउँदा होस् या सरकार बदल्न यसको महत्व धेरै छ। समानुपातिकमा चुनाव लड्दा तपाईँ किन चुनाव लड्नुभएन भन्ने किसिमको मानसिकतामा बस्नु भएन।

मिडियामा समानुपातिकबारे छलफल चलाउँदा यो उत्तिकै महत्वपूर्ण हो भन्ने किसिमको सन्देश मतदातामा जाँदैन। खाली पार्टी र नेतालाई आलोचना गर्न चाहिँ समानुपातिकको प्रयोग राम्रो भएन भनेर विश्लेषकहरुले गर्नुहुन्छ। तर, मतदातालाई पनि सचेत गराउनै पर्छ। समानुपातिक पनि निर्वाचन लड्नु नै हो है भन्ने किसिमको मास एजुकेसन थ्रु मिडिया भइरहेको छैन।

तपाईँलाई पनि मत चाहिएला नि?

त्यसकारण मेरो निर्वाचन क्षेत्रमा मैले नै ब्योहर्नुपर्ने भएकोले अहिले त भन्नुपर्‍यो - मलाई पनि भोट त माग्नुपर्‍यो। प्रत्यक्षमा साइकललाई आउँदा मलाई जिताउन रुखमा भोटमा माग्नुपर्‍यो। यही कुरा भन्नका लागि पनि मैले यहाँ बढी समय दिएर बसेको हुँ।

अहिले गठबन्धनले गर्दा समानुपातिकको मत एउटा फाइदा त छ। सबै पार्टीको मत जोडिँदा गठबन्धनको उम्मेदवार विजय हुन सक्ने सम्भावना सबभन्दा बढी छ। यसले हामीलाई संविधानलाई संसदीय प्रणालीलाई, संघीयतालाई लोकतन्त्रलाई जोगाउनका लागि अनि सफल कार्यन्वयनका लागि यसको पक्षमा एउटा सशक्त राजनीतिक शक्ति निर्माण हुन्छ। एमालेको नेतृत्वमा रहेको गठबन्धनले संसदलाई विघटन गर्दिए, संसदमै नभएको व्यवस्थालाई प्रयोग गरेर संसद विघटन गरे।

यो संविधान बन्ने बेला हामीले विशेष रुपमा छलफल चलायौं। प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिँदा स्थिर सरकार भएन भनेर संविधानमा संसद विघटन गर्ने व्यवस्था हटायो। अनि एमाले आफैले संसद विघटन गर्‍यो। अनि राष्ट्रपतिलाई प्रयोग गर्दिने? अहिले यसरी दुई पक्षमा बाँडेको छ।

प्रत्यक्षमा नभिडेकोले पनि होला मधेशमा तपाईँले नेतृत्व छाड्नुभएको हो कि भन्ने पनि छ त?

यो हैन। म पछाडि हटेको हो कि भन्न भान छ। म पूर्ववत आफ्नो काममा छु। मधेशसका लागि देशको लागि आफ्नो क्षेत्रका लागि राष्ट्रिय राजनीतिको लागि पूर्ववत नै काममा छु।

एमाले अध्यक्ष केपी ओलीले कांग्रेसमाथि लगाएको एउटा आरोप छ - जनकपुरमा रेल चल्यो। कांग्रेसका नेताले चढ्ने आँट गरेका छैनन्। तपाईँको त घर अगाडिबाटै हर्न बजाउँदै कुद्ने रहेछ। के आँट नआएकै हो त कांग्रेस नेतालाई रेल चढ्न?

म दावाका साथ भन्छु - केपी ओलीको यो रेल ल्याउनमा एक सिन्को पनि योगदान छैन।

यसको कथा बताउँछु म। नेपालमा जब बहुदल आयो। अनि त्यसपछि भारतमा चन्द्रशेखरजी प्रधानमन्त्री हुनुभयो। चन्द्रशेखरजीको नेपाल सम्बन्ध - गणेशमानजीको कम्पाउन्डमा जुन सम्मेलन भयो, नेपाली कांग्रेसले गरेको थियो। त्यस बेला नेपालका सबै कम्युनिस्ट पार्टीले भाग लिएका थिए। त्यस बेलामा मनमोहन अधिकारीलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो। चन्द्रशेखरजीकै नेतृत्वमा भारतका सबै राजनीतिक दलका नेताहरुले यहाँको आन्दोलनलाई खुल्ला रुपम समर्थन जनाउनुभएको थियो। चन्द्रशेखरजी भारतमा पछि प्रधानमन्त्री बन्नुभयो। भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउनुभयो उहाँ। जनकपुर पनि भ्रमण गर्नुभयो। म आफै पनि त्यहाँ थिएँ। म भर्खर नेविसंघको अध्यक्षबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेको थिएँ। मलाई थाह छ बाह्रबिघामा उहाँले भाषण गर्नुभयो - त्यसपछि हामी नेपाली कांग्रेसका साथीहरुले उहाँलाई के भन्यो भन्देखिन् यो रेल्वे पहिले यहाँ बनेको। तपाईँको देशमा रेल्वेको नेटवर्क बनाउन काठ चाहियो। त्यो काठ नेपालको जंगलबाट भारतमा लैजानका लागि बनेको हो। यो रेल्वे त तपाईँको देश विकासका लागि प्रयोग भयो। केही समय चल्यो अहिले बन्द छ। तपाईँ प्रधानमन्त्री हुनुहुन्छ। तपाईँले नेपाललाई र यो क्षेत्रलाई योगदान गर्नुपर्छ। ऋण तिर्नुपर्छ भनेर मैले बोलेँ। अनि के गर्न पर्‍यो भनेर सोध्नुभयो। यहाँ जयनगर जनकपुर कुर्था रेल्वे जुन छ त्यसलाई तपाईँले ब्रोडवेजका रुपमा बनाइदिनुस्। तपाईँको दायित्व हो। यही रेल लिग युज गरेर तपाईँले आफ्नो देश बनाउनुभयो भनेपछि उहाँ फर्केर जाँदा आश्वासन दिएर जानुभयो।

धेरैपछि गिरिजाप्रसाद कोइरालाको पालामा रेल्वे निर्माण गर्ने नेपाल र भारतको बिचमा सम्झौता भयो। त्यसपछि गएर यो रेल्वे निर्माण भयो। माओवादी र मधेश आन्दोलनको समयमा धेरै बाधा पर्‍यो। म आफै भौतिक पूर्वाधार मन्त्रालय चलाएको मान्छे। यही मन्त्रालयको विङ्स हो रेलवे। त्यसैले यो रेल चल्नुमा केपी ओलीको कुनै योगदान छँदैछैन। मैले यो बनाइदिएँ भन्नुजस्तो झुटो कुरा त छँदैछैन। बेकारको कुरा हो यो।

उहाँको प्रधानमन्त्रीकालमा आएको त हो नि?

अब ६ लेन बाटो मैले निर्णय गरेर बनाएँ यहाँ। ढल्केवर जनकपुर ६ लेनको बाटो मैले निर्माण गरेको। मैले बनाएको। तर, उद्घाटन गर्ने बेला अर्कै अर्कै मन्त्रीले ढुंगा माटो लगाउन आउनुभएको छ। किन भने ६ दिन ६ महिनाको लागि एक वर्षको लागि मन्त्री बन्नुभयो। यहाँ आएर उद्घाटन गर्दिनुभयो।

तर, केपी ओलीले त उहाँले नै बनाउनुभएको भन्नुहुन्छ यो बाटो पनि?

म भन्दै छु झुटो बोल्दै हुनुहुन्छ। प्रमाण देखाउनुस् न। यो भनाई २०० प्रतिशत झुट हो।

जटहीदेखि जनकपुरसम्मको ६ लेन पनि मैले बनाएको भनेर भन्नुभएको छ?

यो त झन् हद झुट हो। जनकपुरदेखि जटही मैले बनाएको हो। फाइलले बोल्ला नि! तपाईँहरुले रिसर्च गर्नुस् न। पूर्वपश्चिम राजमार्ग छ - मेरो पालामा ४ लेन बन्छ भनेर नीतिगत निर्णय गरेको। मेरो पालामा के निर्णय भयो भने अब सिंगल लेनको पुल बन्दैन। अब सडक विभागबाट जहाँ पनि सडक बन्छ त्यो डबल लेनको बन्छ। सिंगल लेनको चाहि डोलिडारको हो। उहाँले त घोषणापत्रमै अरुले बनाएको पनि आफूले बनाएको भनेर राख्दिनुभएको छ। हाँस उठ्दो कुरा। तपाईँहरु पनि छापिदिनुहुन्छ। रिसर्चरहरुले रिसर्च गरोस् न। तपाईँहरुको खोजी पत्रकारिता होला नि। केपी ओलीले रेल वे मैले बनाएको, ६ लेन मैले बनाएको भन्दैमा हुन्छ? एकचोटि खोज्नुस्। अनि लेखौं न। प्रमाण आइहाल्छ। यस्तो झुट कुरा। गाउँगाउँमा बाटो बनाएको छु। यहाँ जनकपुरमा सानो पिस एडीबीले बनाएको छ। बाँकी सबै मैले हो बनाएको। रेकर्डले बताउँछ।

नागरिकता विधेयकको विरोधी कांग्रेस हो भन्ने आरोप यहाँका एमाले नेताहरुको छ नि?

यो सबै बेकारको कुरा हो। रेकर्ड हेर्नुस्। कांग्रेसले नागरिकताबारे आफ्नो सुझाव पञ्चायतकालदेखि दिएको छ। एमालेका प्रतिनिधिहरुले नै बाधा दिनुहुन्थ्यो। मधेशका मान्छेले नागरिकता पाएदेखि राष्ट्रियता नै खतरामा जान्छ भन्ने उहाँहरु नै हो। जबकि मधेशका जनताले यहाँको सीमाको सुरक्षा गरेको छ। मधेशी जनताबाट आजसम्म कुनै खतरा आएको छैन राष्ट्रियतामा। नेपालमा राणा शासन, पञ्चायन शासन जुनजुन शासन आएको छ यसमा मधेशी जनताको अगुवाई भएको छ। जति पनि सन्धी सम्झौता भएको छ त्यसमा बाहुल्यता गैर मधेशी जनताबाट भएको छ। जति गतल सन्धि सम्झौता भएको छ त्यो कसले गर्‍यो मधेशी जनताले गर्‍यो? मधेशी जनता शासनमा थिएन, कसरी गर्‍यो? फलना त देशद्रोही थियो भने को थियो, त्यतिबेला को थियो त सरकारमा? यसको खोजी गर्नुपर्‍यो नि। मधेशी जनताका बारेमा र कांग्रेसको बारेमा भन्नु सरासर गलत हो। सबै नेपालीले नागरिकता पाउनुपर्छ भनेर कांग्रेसले भनिरहेको छ। अहिले जन्मसिद्ध आधारमा प्राप्त गरेको नागरिकका सन्तानलाई नागरिकता दिने कुरा त थियो तर अदालतमा मुद्दा पर्‍यो। अदालते कानुन बनाएर देउ भनेपछि संसदले कानुन बनाउनुपर्‍यो। हामीले कानुन बनाउँदा एमालेले सहयोग गरेन। यसपाली बहुमत पुगेपछि राष्ट्रपतिलाई रोक्न लगायो। अब कांग्रेस विरोधी कि एमाले विरोधी त नागरिकताको। बाउआमा नेपाली नागरिक छ। छोराछोरी नहुने?

भनेपछि यसपाला कांग्रेसले बहुमत ल्याउँछ?

नेपाली कांग्रेसले बढी मत ल्याउँछ। गठबन्धनको सरकार बन्छ। त्यसको अगुवाई नेपाली कांग्रेसले गर्छ। शेरबहादुर देउवा नै अबको सरकारको प्रधानमन्त्री हुन्छ। पार्टीमा उहाँकै बहुमत हुन्छ। गठबन्धनले उहाँलाई चुनेर पठाउनुहुन्छ। त्यसपछि विकासको कुरा अघि बढ्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell