
काठमाडौंः निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानका दिन अत्यावश्यक सवारीलाई अनुमतिपत्र बिना नै सञ्चालनको व्यवस्था गरेको छ। सम्बन्धित निकायहरुबाट जारी परिचयपत्रकै आधारमा सवारी चल्न पाउनेछन्। अतिरिक्त परिचयपत्रको व्यवस्था योपटक हटाइएको हो।
जसमा बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधनलाई अन्य अनुमतिपत्र नचाहिने निर्वाचन आयोगले जनाएको छ।
यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्टारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास भएका सञ्चारकर्मीलाई अन्य पास आवश्यक पर्ने छैन। साथै प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र बाहकलाई पनि नयाँ अनुमतिपत्र आवश्यक पर्ने छैन।
दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधनलाई पनि अन्य परिचयपत्र आवश्यक पर्ने छैन।
निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधनलाई पनि अनुमतिपत्र चाहिने छैन।
विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई पनि अनुमतिपत्र आवश्यक पर्ने छैन।