PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मतगणना छाडेर नि भाग्दिनँ, बत्ती निभाउनु परो पनि भन्दिन्नँ : गोकुल बास्कोटा (अन्तर्वार्ता)



नेत्र तामाङ

मतगणना छाडेर नि भाग्दिनँ, बत्ती निभाउनु परो पनि भन्दिन्नँ : गोकुल बास्कोटा (अन्तर्वार्ता)

काभ्रे २ को प्रतिनिधिसभा क्षेत्रलाई धेरैले रोचकतासाथ हेरिरहेका छन्। केन्द्रीय राजनीतिमा पहुँच राख्ने र हक्की स्वभावका गोकुल बाँस्कोटा यही क्षेत्रबाट पुन: चुनावी मैदानमा उत्रिएका छन्।

यद्यपि, उनीविरुद्ध पाँच दलीय गठबन्धनबाट पनि बलिया उम्मेदवार उभिएका छन् शिव हुमागाँई। हुमागाँई धुलिखेल मुकाम बनाएर चुनावी रणनीति तयार गरिरहँदा बास्कोटा बनेपालाई मुकाम बनाएर आफ्नो क्षेत्रमा खटिरहेका छन्।

आफूले प्रशस्त विकास गरेको दाबी गरे पनि बास्कोटामाथि विपक्षीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको ७० करोड घुस काण्डका नाइकेका रुपमा प्रस्तुत गरिरहेका छन्। दोस्रोपटक पनि जित निकाल्ने दाउमा चुनावी क्षेत्रमा खटिएका पूर्वमन्त्री बास्कोटालाई चुनावी रन्कोबारे पहिलोपोस्टका नेत्र तामाङले सोधे-

तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ, गठबन्धनसँग कडा प्रतिस्पर्धा हुन्छ होला है?

गठबन्धनले कडा बनाउन कोसिस जारी राखेको छ। प्रतिस्पर्धा भनेको जहिले पनि कडा नै हुन्छ। एक्लै कुदेर जित्ने हैन नि। धेरैहरु कुदेको ठाउँमा जित्ने हो। त्यसैले प्रतिस्पर्धा सहज हुँदैन।

पाँच दल मिलेको छ तपाईँका विरुद्ध। १५ हजार मत बढी छ गठबन्धनको?

कुनै बेला दुई तिहाई थियो कांग्रेसको। अब उही तिहाई हुन्छ।

अब कुनै विषयमा प्रकट भएको जनमत सधैं लगातार कायम भइ बस्ने हो भने नेपालमा अरु कुनै पार्टीको कामै थिएन। नेपाली कांग्रेसले २०१५ सालमा दुई तिहाइ लिएर आएको थियो। ४८ सालमा बहुमत ल्याएर आएको थियो। २०५६ मा बहुमत ल्याएर आएको थियो। नेकपा एमालेले अहिलेसम्म बहुमत ल्याएर आएको छैन। वामपन्थी दलहरु मिलेर अघिल्लोपटक बहुमत ल्याएको हो। त्यो एमालेले होइन।

स्थानीय निर्वाचनको डाटा होला उहाँहरुसँग। त्यसको प्रकृति नै भिन्न छ स्थानीय तह र संघको निर्वाचनमा। स्थानीय निर्वाचनमा व्यक्ति व्यक्तिबिचमा यही टोलमा चुनाव भएको हुन्छ। इस्यु यहीँका हुन्छन्। कुनै नेसनल इस्युले प्राथमिकता पाएको हुँदैन। यो चै नेसनल इस्यु हो। सरकार बनाउने प्रश्न हो। यो काम कसरी हुन्छ भन्नेको मूल्याङ्कन हो।

फिल्डमा मलाई पराजित गरे दुबोको माला बोकेर गइहाल्छु नि। म आधा रातमा मतगणना छाडेर पनि भाग्दिनँ। बत्ती निभाउनु परो भनेर पनि भन्दिन्नँ। धाँधली भयो पनि भन्दिनँ। चुनाव फेयर र हेल्दी गराओस्। फेयर र हेल्दी इलेक्सनमा पिपल्स भर्डिक्ट जहिले पनि स्वीकार्य छ। मसित अर्को इतिहास पनि छ जितको। मैले यसलाई एकदम इजी ठानेको छु। टोर्नाडोमा परेको विमानजस्तो यात्रामा म सवार छैन।

चुनाव फेयर हुँदैन भन्नेमा कुनै शंका?

लोकल चुनाव हेर्दा सत्ता पक्षले कति ठाउँमा कसरी दुरुपयोग गर्‍यो त्यो त्यही ठाउँको मान्छेलाई थाह छ। किनकि नेपालको मिडियाले आफ्नो विश्वासनीयता गुमाएको छ। सत्य ल्याउँदैन, पक्ष ल्याउँछ। त्यसो भएकोले केही कुरा ओझेलमा परेको छ।

त्यसैले यो राष्ट्रिय चुनाव हो। हामी आशा गर्छौ - चुनाव निष्पक्ष हुन्छ। जनताले आफूले चाहेको मतदान स्वतन्त्र ढंगले गर्छन् र गर्न पाउनुपर्छ। प्रजातन्त्र भएको देशमा परिणाम एकछिन निकाल्ला तर मन जित्न सक्दैन। त्यसको दुरुगामी असर हुन्छ। बाजुरामा सत्तापक्षले के गरेको थियो? जनताले उल्ट्यादिएन? यहाँ रिभेन्ज पोलिटिक्स त चल्दैन। पाकिस्तानी पोलिटिक्स त हुन्न होला। नेपाली पोलिटिक्स गर्नुपर्ने होला।

यो कुरा निर्वाचन आयोगले बुझेको होला। प्रशासनले बुझेको होला, हरेक मान्छे अहिले प्रेसको क्यामरामात्र हैन पर्सनको क्यामरामा पनि परिरहेको हुन्छ। अहिले हातहातमा मोबाइल छ। जनताले के फैसला गर्छन् भन्ने कुरा बाजुराको बाणगंगाको उदाहरण छ।

तपाईको क्षेत्रमा पार्टीका उम्मेदवारहरु आलोपालो निर्वाचित भएको देखिन्छ?

आलोपालो भन्या के?

एकपटक कांग्रेसको, अर्को पटक एमालेको जितेको इतिहास छ नि त?

मैले अघि नै भने जनमत सधैं उही र उस्तै हुन सक्दैन। म परीक्षणमा सामेल हुन तयार भएरै प्रतिस्पर्धामा उत्रेको हो। कति हजार माथि छ रे भोट गठबन्धनको? म थाह भएरै निर्वाचनमा होमिएको छु।

त्यसो भएकोले परिणाम मेरो पक्षमा आउँछ। म जनतामाथि विश्वास गर्छु। काममाथि विश्वास गर्छु। जनताले त्यो देख्या छ। त्यसैले कसैको जोर चल्छ भन्ने मलाई लाग्दैन। कसैको हर्कत चल्छ भन्ने मलाई लाग्दैन।

विश्वविद्यालय बन्नु हुँदैन भनेर कागज च्याते शिव हुमागाईलाई वाकओभर दिने च्यालेन्ज छ नि तपाईँको हैन?

मदन भण्डारी विश्वविद्यालय यहाँ बन्ने नै हैन, यो सबै झुटा हो भनेर मेरो प्रतिस्पर्धी मित्रले भन्नुभयो। तिमी आलोचना गर साथी तर तथ्यमा टेकेर। डेमोक्रेसी नै त्यही हो नि। वादप्रतिवाद भइरहन्छ। तथ्यमा टेक्नेको जित हुन्छ। झुटा कुरा गर्ने टिक्दैन।

विश्वविद्यालय बन्ने ठाउँमा उहाँले यहाँ बन्ने नै हैन, चुनावी फन्डा बनायो भन्नुभो। उहाँले केही गरेकै हैन। बाटो नि मैले बनाएँ, पुल पनि मैले बनाएँ भन्नुभयो। मैले जवाफ के दिए भने - त्यसो भए यो मदन भण्डारी तथा विज्ञान विश्वविद्यालयको नाममा शुरु गरिएको जग्गादान जनताले दिइसके।

सरकाले ग्लोबल टेन्डर निकालिसक्यो, हाम्रै पालामा। त्यसो होइन भनेर हिँड्नुहुन्छ भने पहिले पूर्जा च्यात्नु नि त। उहाँलाई विश्वविद्यालय आएकोमा यस्तो औडाह किन पर्‍यो भन्ने मेरो प्रश्न हो। जहाँ मान्छेले खाइसके पानी त्यहाँ गएर पानी ल्याउँछु रे। त्यहाँ गएर कुन पानी ल्याउने दारु पानी ल्याउने कि पिउने पानी खुवाउने भन्ने हो मेरो। केही काम गर्न बाँकी छ, त्यो म स्वीकार्छु।

बनेपाको नागीडाँडामा एयरपोर्ट बनेन नि। तपाईँको त चुनावी प्रतिवद्धता नै थियो?

हो। २५ करोड पनि छुट्याएको हो। त्यो सानो ट्विनअटर टाइपको विमानको लागि। अहिले हिमाल खुलेको छ। मंसिर र फागुनसम्म पर्यटक आइरहेका हुन्छन्। छोटो बिदा लिएर आएका हुन्छन्। अनि उनको आँखा बेचेर डलर कमाएर विदेशी मुद्रा आर्जन गर्न चाहन्छौं। तर, ७ दिनको विदामा आएको मान्छे काठमाडौंको एअरपोर्टमा कुहिरो कुरेर बसेर कतिखेर जहाज उड्ला र म सगरमाथाको छेउमा एक फन्को लाउला भन्ने मान्छे त उड्न सक्दैन।

त्यसले देशको इज्जत र देशको गौरव हिमालय क्षेत्र जहाँ घुम्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ। यति माउन्टेन फ्लाइटको लागि राखौं भनेको। यहाँ कुहिरोले छेक्दैन। हाइटमा पनि छैन। बिहान हुस्सु पनि लाग्दैन। त्यसकारणले पर्यटनलाई प्रबर्द्धन गर्नमात्र हो। कुनै कमर्सियल फ्लाइटको लागि हैन नि। हामी पखेटा लाएर बनेपाबाट साँगाबाट काठमाडौं जाने हो र? प्लेन स्टार्ट गर्दागर्दै काठमाडौं पुग्छौं हामी।

माधव नेपालजीले व्यक्तिगत इस्यु बनाएर निजगढ एरपोर्टसित जोडेर बुझ्दै नबुझी कुरै नसुनी संसदको पराष्ट्र समितीबाट हुँदैहुँदैन भन्नुभएछ। डीपीआर बनाइसकेको, सरकारको नीति कार्यक्रममा परिसकेको, बजेटमा परिसकेको सारा कुरा भइसकेको कुरालाई उहाँले रोकेपछि के गर्ने त। यी त विकास विरोधी हुन्। उहाँको मैले कोदोबारी फाड्दिएको थिइनँ। सागबारी फाड्या पनि थिइनँ। उखुबारी खत्तम बनाएको पनि थिइन् रौतहटको। तर उहाँको के जान्थ्यो यहाँ बनाउँदा?

अब के हुन्छ यो आयोजना, तपाईको प्रतिस्पर्धीले त यहाँबाट जहाज उड्छ, एरपोर्टको कुरा थाह छैन भन्नुभएको छ?

उहाँहरुले नारायणीको बोट पनि देख्नुहुन्न। उहाँहरु कुरै बुझ्नुहुन्न। १७ वर्ष सरकारमा त बस्नुभयो, उहाँले पनि जित्नुभयो। आफूले केही गर्न सक्नुभएन। हामले जे गरे पनि उहाँ दाह्रा किटेर मुर्मुरेर बस्नुहुन्छ। मान्छे चन्द्रममा एकै दिन पुगेको हैन के। चन्द्रममा पुग्न सकिन्छ भनेपछि उसले विषय खोज्यो। रकेटको विकास गर्‍यो। रकेटबाट त्यहाँ पुगिन्छ भनेर कल्पना गर्‍यो। अनि त्यहाँ पुग्यो मान्छे। यी कुरा गलत भन्नुस्। कि आफै बनाउछु भन्नुस्। मैले कहिले बनाइसके भन्या छ र। मेरा हजारौ भाषण र अन्तर्वातामा भनेको छु रोक्ने उहाँ नै हो भनेर। मैले हरेक इन्टरभ्युमा भनेको छु यो रोक्ने माधव नेपाल हो। उहाँले चै त्यो बनाउनुपर्दैन र?

त्यसले त काभ्रेमा पाँच वटा थप होटल ल्याउँछ। रोजगारी बढाउँछ। पर्यटक बढाउँछ। पूर्वधार विकासले हैन समृद्धि हुने। पर्यटक एउटा मुल क्षेत्र हो कि हैन हाम्रो देशमा विदेशी मुद्रा आर्जन गर्न। एउटा पार्क बन्दा उहाँलाई ज्वरो आउने। यहाँ ट्रेकिङ ट्रेल बन्दा उहाँलाई निद्रा नपर्ने। यहाँ एरपोर्ट बनाउन खोज्दा बनिसक्यो होला रे।

म जिते बनाउँछु ल। विरोध नगरोस् न उनीहरुले भै गो त। बनाउँछु भन्न नसक्ने चल्या हेर्ने।

त्यही भएर उहाँहरु जानुहुन्न नि जनकपुर। अहिले केपी ओली जानुभयो। रेल आएपछि चढ्न जान सक्दैन। हरेक कुरोको ओठे जवाफ दिनुछैन। तथ्यमा कुरा गरौ न।

उहाँहरुले कागजी योजना भन्नुभएको छ। सुनकोशी पनि कागजी थियो। अहिले बंगलादेशसित हाइड्रोको सम्झौता गरेको छ। त्यहाँ पनि टुरिजमको विकास हुन्छ। डाँडखोला सिपाघाटको ५०० मिटरसम्म जम्छ। त्यहाँबाट मान्छेले के गर्दिन्छ। अलि पछि मोटर बोट चलाउँछ। अनि उहाँहरु भन्नुहुन्छ एमालेका पानी जहाज त्यही हो भन्नुहुन्छ। उहाँहरु लिपुलेकको कुरा गर्नसक्नुहुन्न। हामीले सतालजको कुरा त गरेको हैन नि।

त्यसैले राजनीति यही देशमा गर्ने हो। यो देशको जनताको हितमा गर्ने हो। कसैलाई खुइल्याउन राजनीति गर्ने छ आफै खुइलिन्छ। मलाई के खाइदो भन्या? कसैलाई केही गर्नुछैन भने मलाई के? मलाई त धेरै गर्नुछ। धेरै योजना छन् मेरो दिमागमा। चरा अध्ययन केन्द्र बन्न सक्छ यहाँ। उहाँको घरमाथि २५० प्रजातिको चरा पाइन्छन्।

डिस्कभरी र सिजिटिएएनको डकुमेन्ट्री बनाउन चाहि उहाँहरुले आँट नगर्ने? सोत्तरै सोरेर जंगलको मजा हुन्छ र? रिसर्चरको लागि राम्रो अध्ययन केन्द्र बन्न सक्छ। चरा पार्क भनेको उहाँहरुले पर्खाल बनाओस्। जंगलमा ठुलो बाटो बनाओस् भन्नुहुन्छ। यसो गरे त जंगलमा केही रहन्न नि। यस्तासित चै म बहस गर्दिनँ हेर्नुस्।

७० करोडको अडियो काण्डको घाउ त सधैं उक्किरह्यो है?

ठीक छ। मैले यो त संसदमै भनेको छु। म यो मान्छे हुँ। जसले मेरो बारेमा प्रश्न उठेपछि तत्कालै २४ घन्टाभित्रै राजीनामा दिएको छु। पदमा बसेर डुक्रिनँ नि। संसदको विशेष समिति, लेखा समिति, अनुसन्धान आयोगहरु, कर अनुसन्धान सबै एक्टिभ गरेर छानबिन गरोस् न। आज तीन वर्ष भयो हैन? उहाँहरु आरोप त लागउनुहुन्छ। उहाँहरुले मलाई संसदबाट किन निलम्बन गर्न नसक्या? एक मेरो प्रश्न। अर्को महालेखाको प्रतिवेदन मैले लेख्या हैन होला। त्यहाँ किन केही पनि छैन भनेर लेख्या। उहाँहरुले किन च्यातेर नफाल्या। अर्को पनि बताउँ - संसदमा मैले पटकपटक मलाई छानबिन गर भनेर प्रश्न उठाएँ। मैले अदालतमा गएँ। अख्तियारलाई पनि भने मैले मलाई छानबिन गर भनेर। त्यसो गर्दा पनि उहाँहरुलाई गर्‍या जस्तो लाग्या छ रे।

अब ठीक छ। त्यसो भए एउटा कुरा यहाँ पर एउटा छ आइटीपार्क। त्यहाँ फ्युल ट्यांक बन्या छ। पानी ट्यांकी बन्या छ। विद्युतको हाइटेन्सनको लाइन अन्डरग्राउन्ड गर्ने प्रक्रिया शुरु भएको छ। अन्तशुल्क स्टिकर यही छापिन थालेको छ। म एकीकृत प्याकेजको कुरा गर्छु। उहाँहरु खण्डीकृतको। २५ अर्बमा सकिने परियोजना हो यो। उहाँहरु ३५ अर्बमा लाँदै हुनुहुन्छ। समय आएपछि भनौला त्यो। अर्को प्रश्न - मेरो बारेमा आरोप लगाएर हिड्नुभन्दा मेरो प्रिय विपक्षी मित्रलाई गठेलाई, किन घोक्रो सुकाएर, हस्याङफस्याङ गर्दै भन्दै हिँड्नै पर्ने थिएन नि। ट्याक्क एउटा अख्तियारको एउटा निर्णय ल्याएर आएर बेमानी भएकै हो भनेर निर्वाचनमा आयोगमा, अदालतको कुनै निर्णय ल्याएर आएर सेक्युरिटी प्रिन्टिङ प्रेसको विषयमा यो मान्छे उम्मेदवार हुन नलायक छ अयोग्य छ उम्मेदवार बन्न ठीक छैन भनेर जम्माजम्मी एउटा सही, आफैले हाल्न पर्दैन थियो। प्रमाण भएपछि जसले हाल्दा पनि हुन्छ नि। विरोधीले नै हाल्दा हुन्छ। निजी विषय पनि हैन राष्ट्रिय मुद्दा हो।

होहल्ला मच्चाइएको तीन वर्षसम्म हात्ती आयोग हात्ती फुस्स भएको। मैले भनिसकेको छु। अस्ति नै लेखिदिएको भए तेल पनि बच्थ्यो। झन्डा पनि बच्थ्यो कांग्रेसको। गठबन्धनको। मेरोविरुद्ध भाषण पनि गर्नुपर्दैनथ्यो। निर्विरोध जस्तैजस्तै हुनुपर्थ्यो। त्यति किन नगरेको। अनि अहिले भोटको हिसाब किन गर्दै हिड्नुपरेको। जम्मै कुरा रहेछ त मलाई मैदानमै हराए भै गो त। निवेदन हालेको भए खारेज गर्न सक्थ्यो नि। सक्नु भयो त? किन उजुरी हाल्न सक्नुभएन त? मैले त भनेको छु हजारचोटी गएर जनताको माझ गएर जाँचिन तयार छु। हाम्रा नियामक निकायहरुको दायरामा घोटिन तयार छु जाँचिन तयार छु र त्यो भट्टीबाट चोखो निस्कन सक्ने तागत हैसियत मसित छ।

मैले विशाल बंगला बनाए हैन। त्यो टोलमा मैले १८ वर्षदेखि बस्या छु। मन्त्री त म पाँच वर्षअघि बनाएको। बाँकी १२ वर्ष अघि चै त्यो घर कसले बनाइदियो। मेरै पैत्रिक सम्पत्ति ३ आना तीन पैसा तीन दाम न छ त्यो। जति छ त्यतिमा चिटिक्क मिलाएर बनाएको छु। चिटिक्कको मतलब बाटो थिएन त्यतिबेला। अहिले रिइनोभेट गरेको छ हो मैले।

दुई पटक संसद विघटन गरेको पार्टी हो एमाले, प्रतिगमनतिर पाइला चाल्नेलाई किन मत दिने त?

उहाँहरु खुब क्रान्तिकारी भएर अहिले चुनाव गर्नुभएको हैन त। संविधानमा चुनावको व्यवस्था छ कि छैन? चुनाव प्रतिगामी हो त? संसदै रित्तियो चुनाव हुँदैन त? १८ महिनासम्म जनतालाई मल दिन सक्नुभएन। सरकारको सफलता यही हो? एउटा बच्चा मर्‍यो एउटा वक्तव्य निकाल्न सक्नुभएन। अनि नेपाल फस्ट पोलिसी भनेर धाक लगाएर त भएन नि। ढुंगो लागेर मरेको बच्चाको बारेमा खै सरकार बोलेको?

कुटनीतिक नोट त पठायो नि?

नोट पठाउने हो र? त्यसमा त र्‍याखर्‍याखती बनाउने हो नि। त्यसमा त जवाफ माग्ने हो नि। भर्त्सना र विरोध गर्ने हो। देशको झन्डा बोक्न नसक्ने गठबन्धन। यो चुनाव भइसक्यो। संसद गठन गर्न सक्दैन भन्ने कुरा अहिले पनि छैन संविधानमा। अदालत लगाएको हैन सेटिङमा। आउट अफ ट्रयाक गएर केपी ओलीलाई हटाउन गर्‍या। शक्तिको दुरुपयोग। न्यायाधीशहरुको लिलामी। सीधा कुरा। ल कसले के भन्छ? ल मलाई कसले गोली हान्छ? त्यति खत्तम न्याय प्रणाली त अहिले बनाएको हो नि। अस्ति नै चोलेन्द्र शम्शेरले जम्मै भनेको हैन? उनीहरुले भनेको मात्र सत्य हुन्छ? यो त बुझ्या छ त कुरा।

न्यायाधीशमाथि किन यत्रो रिस?

पाँच जना न्यायाधीशले जे निर्णय गर्‍यो त्यो संविधानको बलात्कार गर्‍यो। आफू नांगै हिड्या छन् अरुलाई नाँगो भनेर उडाएर हुन्छ? त्यसैले हामी जित्छौं। पहिलोपटक एमालेको सरकार बन्दैछ। आधार बनेको छ यसका निम्ति गठेलाई धन्यवाद। गठे भनेको गठबन्धन। आजसम्म एमालेको एक्लै सरकार बनेको छैन। त्यो नयाँ इतिहास हामीले रच्न चाहन्छौ।

भनेपछि यसपटक बहुमतको सरकार बनाउँछ एमालेले?

हो, हामी जनादेशबाट सरकार बनाउँछौ।

बग्गी अघि लगाएर घोडा पछि राखेर हिड्ने साथीहरुले कांग्रेसलाई घोडा जिम्मा लाउने, यिनीहरु बग्गीमा बस्ने। बग्गी अघि लाग्या छ। समाजवादको नारा यिनको। काशी जानेको कुतीको बाटो। सरकार बनाउँदा भारतका लागि कम्फर्टेबल भन्नेहरु अहिले नबोल्या बच्चा मारिँदा? बोल्यो कि त भारतले के गर्‍या भनिहाल्छ। बाबुरामलाई जरो आइरहेको छ अहिले। सर्वभौमसत्तालाई चुनावी मुद्दा बनाउने भनेर। चुनावी मुद्दा हैन, देशको मुद्दा हो, देशभक्तिको मुद्दा हो। बाबुराम भट्टराई भन्ने डाक्टर छ नि त्यो कुनै पार्टीमा पनि नटिक्ने। वर्षैपिच्छे पार्टी फेर्ने। परिवारका निम्ति पार्टी बनाउँदै हिँड्ने। हैन। देशको प्रधानमन्त्री भएको मान्छेले त्यो बोल्ने हो? यो त देशको विषय हो नि। चुनावी मुद्दा बनाएको हैन। देशभक्तिको मुद्दा बनाएको।

तपाईहरुलाई सजिलो बनाइदिएको होला नि?

राम्रो, त्यसको लागि धन्यवाद। उनीहरुबाट चल्दैन। उनीहरुको उद्देश्य एमालेलाई हराउने जसरी भए पनि। पाँच वटा मिल्या छन्। किन मिल्या त एक्लै हराउन नसक्ने भएर हो नि। त्यसलाई पनि म फिस्लिक्कै हराउँछु ल। फिस्लिक्क। मैले हराउने अठोट लिएको छु। जनताले मलाई साथ दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell