
- फूलमान तामाङ-
नवलपुर : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा यसपटक गठबन्धनबाट माओवादी र एमालेबाट पूर्व माओवादी नेता चुनावी मैदानमा छन्। गठबन्धनबाट माओवादीका युवराज दुलाल ‘शरद’ दोस्रोपटक चुनावी मैदानमा उत्रँदा उनका मुख्य प्रतिद्वन्द्वी बनेका छन् हालै माओवादी छाडेर एमाले पसेका अमनसिंह तामाङ।
अघिल्लोपटक माओवादी केन्द्रबाटै चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर बनेका अमनसिंहले यसपटक पनि मेयरको टिकटमा दाबी गरेका थिए। तर, माओवादी केन्द्रले उनलाई मौका दिएन।
त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाउँदै एमाले पसे अनि हात पारे प्रदेशको टिकट। यता युवराज अघिल्लोपटक वाम गठबन्धनबाट प्रदेश सभामा छिरेका थिए। यसपटक पनि प्रदेश सभा छिर्ने दाउमा छन् उनी।
यसैले यो प्रदेशको चुनावी भिडन्त रोचक हुने देखिन्छ। अघिल्लोपटक वाम गठबन्धनमा एमालेको सहयोगबाट जितेका युवराज यसपटक कांग्रेसको सहयोगमा आफू निर्वाचित हुने दाबी गर्छन्।
‘हाम्रो उम्मेदवारीलाई सकारात्मक रुपमा लिनुभएको छ। काम गर्ने मान्छेलाई जिताउनुपर्छ भन्नुभएको छ। काम गर्ने मान्छे भएकोले म ढुक्क छु,’ दुलालले भने।
वाग्मती प्रदेशमा निर्वाचित भएपछि सामाजिक विकास मन्त्रीसमेत बनेका युवराज विकासको योजनामा आफू अरु उम्मेदवारभन्दा निकै अघि भएको दाबी गर्छन्। त्यसैले अमनसिंहलाई प्रतिस्पर्धी ठान्दैनन् उनी।
‘प्रदेशमा गएर युवाहरुलाई स्वरोजगार, किसानमुखी कार्यक्रम, विकासका बाकस ल्याउने जस्ता कार्यक्रम लिएर अघि बढेको छु’, युवराजको तर्क छ, ‘मेरा प्रतिस्पर्धीको यस्तो योजना छैन। त्यसैले म धेरै अघि छु जस्तो लाग्छ।’
२४ वडा रहेको यस प्रदेश क्षेत्रमा करिब ६२ हजार मतदाता छन्। यस प्रदेशमा आफू निर्वाचित भएपछि ‘विकासको बाकस’ ल्याएको उनी दाबी गर्छन्।
आफूले जनताको हकहित अधिकार जनपक्षीय नीति नियम निर्माण गर्ने, किसान केन्द्रित कार्यक्रम युवाहरुलाई रोजगार प्रवर्द्धन गर्ने योजनाबद्द विकाससहित विगतमा काम गरेको आधारमा जित सहज हुने उनले दाबी गरे।
कांग्रेसको मत क्रस हुने डर कतिको छ?
‘निर्वाचनअघि शंका उपशंका हुन्छ। जब निर्वाचनको दिन नजिक हुन्छ तब प्रतिस्पर्धा तीव्र हुँदै जान्छ। अन्त्यमा आफ्नो उम्मेदवार छान्ने जिम्मा हुन्छ’, जवाफमा उनले भने, ‘पहिले पनि यस्ता शंकाउपशंका थिए, गठबन्धनलाई साथ दिने कुरा छ।’
त्यसो त युवराज प्रदेशको मन्त्री हुँदा केही ठाउँमा कांग्रेससँग टसल परेको थियो। विकासका आयोजना उद्घाटनमा नेताहरुबिच आरोपप्रत्यारोप चलेको थियो। ती विषय अहिले गौण हुने बताउँछन् उनी।
‘केही टसल परेको छैन। राजनीतिमा प्रतिस्पर्धा र संघर्ष अस्थायी हुन्छ। हामीले गाउँपालिकाका धेरै आयोजनामा संयुक्त रुपमै अघि बढाएका छौँ। राजनीतिक समझदारीमै अघि बढ्छ,’ उनले भने।
आफूले कतिपय स्थानमा पालिकाप्रमुखहरुसँग संयुक्त रुपमै विकासका योजनाहरु उद्घाटन शिलान्यास गरेको उनले बताए। पहिलोपटक प्रदेशसभामा छिर्नसाथ महत्वपूर्ण मन्त्रालयको चाबी पाएका युवराज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रियपात्रसमेत हुन्।
‘पावर इक्सरसाइज’का लागि युवराजलाई प्रचण्डले साथैमा राखेको र टिकट दिएको बताइन्छ। यसैले पनि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रुपमासमेत हेरिन थालिएको छ। यद्यपि, गठबन्धनभित्रको समझदारी भन्दा बाहिर गएर आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने धारणा राखे।
‘मलाई मुख्यमन्त्रीको आकंक्षीका रुपमा मतदाताले हेरिरहेका छन् मेरो कामको आधारमा। वाग्मती प्रदेशको सरकार सञ्चालनको संयोजक पनि मलाई बनाएको हो गठबन्धन सरकारले’, युवराजले भने, ‘तर, अब गठबन्धन भित्रको समझदारी र पार्टीभित्रको कुरा चाहिँ के हुन्छ त्यो भविष्यले बताउँला।’