
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ का सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए।
‘भूमि आयोगले काम सुरु गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ’, आइतवार बिहान थापाथलीस्थित बागमती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौँ।’
समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए। ‘सरकार र तपाईंहरुलाई पनि हुने गरीकन, विनविन सिचुयसन दुवैलाई हुने गरी गर्नका लागि हामी जोड दिन्छौं,’ उनले भने।
मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसको सरल र छिटोछरीतो बनाउन पनि पहल गर्ने बताए।