PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टेनिस खेल्न नपाउँदा कमल थापालाई ‘नोस्टाल्जिया’ : मिठो नतिजाको पर्खाईमा डिना, जनतासँग गठबन्धन गर्दै दिपक सिंह



पहिलोपोस्ट

टेनिस खेल्न नपाउँदा कमल थापालाई ‘नोस्टाल्जिया’ : मिठो नतिजाको पर्खाईमा डिना, जनतासँग गठबन्धन गर्दै दिपक सिंह

  • नेत्र तामाङ/निशा गुरुङ-

हेटौंडा : गत शुक्रवार बिहान हेटौंडाको वडा नम्बर १५ स्थित फाइरलाइन टोलमा राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिन्ह फर्फराउँदै ‘गाउँगाउँमा ओली, शहर शहरमा ओली’ गीत घन्काउँदै मत माग्दै थिए। पटक-पटक चुनाव हारे पनि कहिले राप्रपाको अध्यक्ष बनेर त कहिले राप्रपा नेपालको अध्यक्ष बनेर सत्तामा पुगेका थापाको सानो टुकुडी 'ओली गान' बजाएर मत माग्‍नु अनौठो मान्नै परेन।

किनकि कुनै समय गीता छोएर राप्रपा फुटाउँदिन भन्दै कसम खाएका थापा पार्टी अध्यक्षमा पराजित बनेपछि राप्रपाबाट अलग्गिए। राजतन्त्र पुनर्स्थापनाको नारा उछालेर चर्चामा आएका थापा अध्यक्षले तत्कालै पूर्व राजा ज्ञानेन्द्र शाहलाई हारको दोष लगाए। अनि ब्युँताए पुरानै पार्टी राप्रपा नेपाल।

सूर्य चिन्हबाट लड्न पाउनु स्वभाविक

गाई चुनाव चिन्ह लिएर २०७० सालमा समानुपातिकबाटै २४ सिट हात पारेको थापा नेतृत्वको राप्रपा पार्टी फुटका कारण अहिले सूर्यको सहयोगमा चुनाव लडिरहेको छ।

पहिलोपटक अर्कैको चुनाव चिह्न लिएर चुनाव लड्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ? हाम्रो प्रश्नमा थापाले सूर्य चिह्न देशभरकै लोकप्रिय चिह्न भएको धारणा राखे।

‘यसलाई मैले स्वभाविक रुपमा लिएको छु। नेपालको कानुन अर्थात् राजनीतिक दलसम्बन्धी एन २०७३ ले दुई वा दुईभन्दा बढी दलहरु मिलेर साझा चुनाव चिह्न लिएर सहभागी हुनसक्ने व्यवस्था गरेको छ। त्यही अनुसार मैले नेकपा एमालेसँग समझदारी गरेर सहकार्यमा सूर्य चुनाव चिह्न लिने निर्णय गरेको हुँ’, थापाले पहिलोपोस्टसँग भने, ‘सूर्य चिह्न मकवानपुरमा मात्र हैन देशभरी नै अत्यन्त लोकप्रिय चुनाव चिह्न छ र मकवानपुरमा त विगत ३० वर्षदेखि सूर्य चिह्नप्रति सद्भाव समर्थन रहेको छ। त्यसकारणले सूर्य चिह्न लिएर चुनावमा जाँदा जनताले अत्यन्तै उत्सुकताका साथ सहयोग र समर्थन गर्ने चाहना व्यक्त गरेको मैले पाएको छ।’

एमालेले रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिन्ह दिएको हो। यही घटनाका कारण थापामाथि एमाले कार्यकर्ताले कतै पूर्वग्राह पोख्ने त हैन?

‘त्यो च्याप्टर क्लोज भइसक्यो। सुरुमा केही असन्तुष्टि देखिएता पनि सम्पूर्ण नेकपा एमाले नेता कार्यकर्ताको चुनावी अभियानमा एकबद्ध भएर खट्नुभएको छ,’ जवाफमा थापाले भने।

हेटौंडालाई प्रदेशको राजधानी बनाउन आफूले योगदान गरेको तर्कसमेत छ थापाको। एमालेको जनमत र आफ्नो प्रभावका कारण यसपटक निर्वाचित हुनेमा ढुक्क सुनिए थापा।

‘नेकपा एमालेको मकवानपुरमा सशक्त मत छ। एमाले यहाँको ठूलो दल हो। मेरो आफ्नै पनि मकवानपुर जिल्लामा राम्रो प्रभाव छ। जनताले मलाई धेरै माया सद्भाव व्यक्त गरेका छन्। विगतमा हामीले जेजस्तो कामहरु गर्‍यौँ त्यसबाट जनता प्रभावित छन्’, थापाले भने, ‘यसपटक मैले के पाएको छु भने हेटौंडालाई प्रदेशको राजधानी बनाउन हामीले जुन योगदान गर्‍यौँ। त्यसले गर्दा यसपटक कमल थापालाई जिताउनुपर्छ भन्ने आम जनताको धारणा भएको मैले पाएको छु।’

टेनिस खेल्न नपाउँदा नोस्टाल्जिक

मकवानपुरमा राप्रपा नेताको रुपमा चिनिने चर्चित नेता थापा नै हुन्। तर, अहिले राप्रपा पनि उनीविरुद्ध उम्मेदवार उभ्याएको छ। दीपक सिंहको उम्मेदवारी भारी पर्ला नि?

‘मकवानपुरमा राप्रपाको जुन प्रश्न छ। स्थापनाकालदेखि ६ पटक फुटिसकेको छ। तर, मकवानपुरमा जहाँ कमल थापा त्यही नै मुलधार हो। म जता उभिएको छु राप्रपाका साथीहरु सँगै हुनुहुन्छ। चुनाव नजिकिँदा केही साथीहरु अलग ढंगबाट हिँड्न खोज्नुभएको छ। भोलिका दिनमा साथीहरु यतै आउनुहुन्छ,’ जवाफमा थापाले भने।

धेरैपटक सत्तामा लागेर केही गर्नुभएन अब नो नट अगेन भन्न थाले नि? पटकपटक सत्तामा पुगिसकेका नेता थापालाई हामीले यो प्रश्न पनि गर्‍यौँ। तर उनी भने आफूले देशको लागि प्रशस्त योगदान गरेको दाबी गर्दै ‘अगेन एन्ड अगेन’ भन्नुपर्ने तर्क गरे।

‘खै मैले त केही थाहा भएन कसैले गर्नुभएको छ भने त्यो नितान्त पूर्वाग्राहमात्र हो। मलाई नो नट अगेन हैन। अगेन एन्ड अगेन भन्नुपर्छ जस्तो जरुरी झै लाग्छ’, थापाले भने, ‘विगतमा मैले नेपालमा नेपालको राष्ट्रवादी शक्तिको निर्माणको निमित्त, राष्ट्रियताको सुदृढीकरणको निमित्त, भारतले लगाएको आर्थिक नाकाबन्दी अन्त्यको निमित्त, अन्तर्राष्ट्रिय रंगमञ्चमा गएर नेपालको तर्फबाट एउटा सशक्त आवाज उठाउनका निमित्त जुन आवाज उठाएको छु त्यो हिसाबबाट मलाई अगेन एन्ड अगेन भन्नुपर्ने हो। मैले कुनै अपराध गरेको छैन। कुनै बेमान गरेको छैन। कुनै भ्रष्टाचार गरेको छैन।’

थापा टेनिसमा पनि माहिर खेलाडी हुन्। यही प्रसंग जोडेर हामीले प्रश्न गर्दा चुनाव प्रचारका कारण केही दिनयता टेनिस खेल्नै नपाएको उनले बताए।

‘टेनिसको कुरा गर्दा नोस्टाल्जिक भइरहेको छ। टेनिस मिस भइरहेको छ। चाँडो चुनाव सकेपछि टेनिस खेल्न जानुपर्छ भनेर बसेको छु’, थापाले भने, ‘खेलकुदमा लागेको व्यक्ति हारलाई पनि सहज रुपमा स्वीकार गरेर भविष्यमा जितका निमित्त तयार गर्ने पाठ खेलकुदले सिकाएको हुन्छ। अनुशासन र कडा परिश्रम खेलकुदले सिकाउने अर्को लेसन हो। यिनै कुरा खेलकुदबाट सिकेको छु।’

भाइ गणेश बेग्लै रुपमा खट्दै

दाइलाई जिताउन गणेश थापा बेग्लै रुपमा खटिरहेका छन्। विशेषगरी ग्रामीण भेगमा अड्डा जमाएरै गणेश खटिरहेको भेटिन्छन्। दाइ चुनावी प्रचारमा ओली गान बजाएर हिँडिरहँदा गणेश भने मतदातालाई वान अन वान भेटेर दाइको पक्षमा माहोल सिर्जना गराउन व्यस्त देखिन्छन्।

२० हजार बढी मतले जित्ने डिनाको दाबी

राप्रपा नेपालका अध्यक्ष थापाका बलियो प्रतिस्पर्धी हुन् नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’। गठबन्धनको साझा उम्मेदवार रहेकोले उनी आफू जित्नेमा ढुक्क रहेको सुनाउँछिन्।

शुक्रवार बिहान पहिलोपोस्टको भेटमा डिना घरदैलो जना हतारिएकी थिइन्। हेटौंडा वडा २ को आफ्नै निवासमा बिहान ६ बजेबाटै कार्यकर्ताले घेरिएकी उनलाई हामीले सोध्यौँ - निर्वाचन क्षेत्र फेरेर आउनुभएको छ, कस्तो छ चुनावी माहोल?

‘अर्को निर्वाचन क्षेत्रमा आएको भन्ने गलत अफवाह हो। निर्वाचन क्षेत्र परिवर्तन भएको हैन। २०७४ मा म अर्काको निर्वाचन क्षेत्रमा गएको। अहिले मेरै निर्वाचन क्षेत्रमा फर्किएकी हु। यहाँ फर्केकोमा सबै खुशी हुनुहुन्छ,’ डिनाले तुरुन्तै जवाफ फर्काइन्।

समानुपातिकमा दुई पटक नेतृत्व गरेर मन्त्री भइसकेकी डिना यसपटक प्रत्यक्ष निर्वाचनमा उत्रेकी हुन्। यसो त पटकपटक पराजित भएपछि क्षेत्र नम्बर परिवर्तन गरेकी डिनालाई कमल थापाको मात्र हैन यसपटक स्थानीय निर्वाचनमा राम्रै मत पाएका राप्रपाका दीपक सिंहको उत्तिकै टक्कर छ। तर, यसबाट आफूलाई कुनै असर नहुने डिनाको दाबी रह्यो।

‘स्थानीय निर्वाचन र राष्ट्रिय निर्वाचन फरक हो। अहिले जाने भनेको प्रतिनिधि सभा हो। राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको पार्टीको एकल जाँदा कुनै अस्तित्व रहँदैन। संसदमा कराउने मात्र हो। कार्यकारी पदमा पुग्न सक्नुहुन्छ। यहाँ काम गर्ने मौका पनि पाउँदैनन्,’ उनले थपिन्, ‘त्यसैले म निर्वाचन जित्छु।’

२०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी उनी हाल तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भइन्। २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन्।

२०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एकपटक खतिवडासँगै पराजित हुन पुगिन्। हालसम्मको राजनीतिक जीवनमा कांग्रेस पार्टीभित्र राम्रो स्थान बनाए पनि उनले जनताबाट प्रत्यक्ष अनुमोदित हुने अवसर भने पाएकी छैनन्। विगतको अनुभव त तितो छ नि?

‘तितोबाट मिठो हुन्छ। मिठो हुने दिन आयो भन्छु म’, जवाफमा डिनाले भनिन्, ‘यो भन्दा अघि विद्रोही उम्मेदवार हुनुहुन्थ्यो। यसपाला त्यस्तो हुन्न। अनर्गल प्रचार छ। आफ्नै पार्टीबाट सहयोग हुन्न भन्नेहरुको झुन्ड तयार भएको छ। ती सबै कुरा हुन्। कतिले त दिदी नजिते राजनीति छाडिदिन्छु भन्नुहुन्छ। म २० हजार बढी मत ल्याएर जित्छु।’

यसपटक एमालेले राप्रपा नेपालको अध्यक्षलाई फिल्डमा उतारेको छ। यस्तो अवस्थामा झन् गाह्रो होला नि? हामीले अर्को प्रश्न सोध्यौँ।

‘प्रतिस्पर्धी हो। हामी मैदानमा छौँ। हराउने जिताउने जनताको हातमा छ। पञ्चायतदेखि शासन गरेका। गणतन्त्रको विरुद्ध उभिएकालाई जनताले चिनेका छन् नि। आम जनताले बुझेका छन्’, डिनाले भनिन्, ‘जुनसुकै चिह्न लिएर आए पनि जनताले पत्याउन छाडे अब। सत्ताको लडाई बाहेक केही नगर्नेलाई जनताले चुन्नेछैन।’

आफूले पदमा पुग्दा यस क्षेत्रमा विकास गरेकोले जितमा कुनै समस्या नहुने उनको दाबी रह्यो। ‘विकास गरेको छु। महिलाको समस्या, जनताको समस्या, दलितको समस्या मैले समाधान गरेको छु। सहकारीमार्फत १२ हजार सदस्यलाई हामीले लाभान्वित बनाएका छौँ। किसानलाई सघाइरहेका छौँ। पदमा नभए पनि मैले धेरै काम गरेको छु’, उपाध्यायले भनिन्, ‘म बाहिर हाहा हुहु गरि हिँड्दिनँ। भित्रभित्रै काम भएका छन् मैले विद्युतीकरणमा काम गरें। नीतिगत कामहरु धेरै गरेको छु।’

वडा वडामा नेता कार्यकर्ता परिचालन

जित्नैपर्ने दबाबमा रहेकी ‘डिना’ले आफ्ना नेता कार्यकर्तालाई वडा वडामा परिचालित गरेकी छिन्। चुनाव आफ्नो पक्षमा पार्न डिनाले विपक्षी पार्टीका कार्यकर्तालाई आफ्नै निवासमा वान अन वान भेट्न थालेकी छन्।

यसरी भेट्नेमा धेरैजसो एमाले कार्यकर्ता रहेको बताइन्छ। बिहान र साँझको समयमा उनको निवासमा एमाले कार्यकर्ता पुगेको देख्न सकिन्छ।

सूर्य चिह्न कमल थापालाई दिएकोमा धेरैजसो एमाले कार्यकर्ता असन्तुष्ट देखिन्छन्। ती कार्यकर्तालाई आफ्नो पोल्टामा पार्ने दाउ छ डिनाको। यसो त महिलाको पक्षमा आफू काम गर्ने एकमात्र उम्मेदवार भएको दाबी गर्दै महिला मतदाताको मत आफ्नो पक्षमा पार्ने अभियानसमेत उनले चलाएकी छिन्।

कमल थापा कसको इशारामा चलिरहेको छ पत्तै लगाउन सकिएन :  सिंह

यस क्षेत्रमा अर्का आकर्षक उम्मेदवार हुन् राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह। गत स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा भिडेका सिंह तेस्रो बनेका थिए। शुक्रवार बिहान हेटौंडा-६ चौघडामा मत माग्दै गर्दा हामीले उनलाई सोधेका थियौँ - स्थानीय निर्वाचनमा पराजित हुँदा पनि थकाई लागेको छैन?

‘जुन दिन आर्यघाटमा जान्छु त्यो दिनमात्र थकाई लाग्छ। जबसम्म मेरो शरीर यो अवस्थामा रहन्छ हार्दा पनि मकवानपुरको उन्नति र प्रगतिका लागि यो भेगका जनताका लागि म जहिल्यै पनि समर्पित हुन्छु,’ जवाफमा उनले भने।

फूर्तिला सिंह घरदैलोमा नमस्कार गर्दै अघि बढे। सबैभन्दा बढी उनी गठबन्धनसँग आक्रोशित सुनिए।

‘गठबन्धन सुन्दासुन्दा मान्छे वाक्क भए। सिर्फ सत्तामा जानका लागि गठबन्धन गरे। यहि गठबन्धनले राष्ट्रघाती सम्झौता गरे। नागरिकता विधेयक ल्यायो। देशको विकास भन्दा गठबन्धनमा जोड गर्न ठूला दलका नेता लागि परे। अहिले देशभरका जनलहर गठबन्धनविरुद्ध छ’, उनले भने, ‘कांग्रेस माओवादी एमालेका कार्याकर्तालेसमेत यो गठबन्धनलाई मन पराइरहेको छैन। ६/६ महिनामा प्रदेश सरकार फेर्ने यही गठबन्धन हो। जहाँ पनि कमिसन आफ्नो नाता म र मेरो बाहेक केही देखिएन। त्यसैले यो गठबन्धनदेखि देशभर र मकवानपुरका जनता वाक्कदिक्क भइसकेका छन् र उहाँहरुले जसरी गठबन्धन गर्नुभएको छ।’

दुई बलिया गठबन्धन देखेर तपाईलाई झोक चलेको हुनुपर्छ? हामीले सिंहलाई प्रश्न राख्यौँ। जवाफमा उनले भने, ‘मेरो पनि गठबन्धन छ मकवानपुरका जनतासँग मन र मुटुको गठबन्धन छ। मकवानपुरका युवा विद्यार्थीसबैसँग गठबन्धन छ। मेरो गठबन्धन पवित्र छ। नवीन नेपाल बनाउन मेरो गठबन्धन। यो गठबन्धन पवित्र छ। चुनावको रिजल्ट मकवानपुरमा हलोले एकलौटी पार्ने धेरै सम्भावना छ।’

आफूले निस्वार्थ राजनीति गरेको दाबी गर्दै कमल थापा र महालक्ष्मी उपाध्यायले मकवानपुरमा केही नगरेको उनको दाबी रह्यो। यतिमात्र हैन दुवै उम्मेदवारमाथि आरोप लगाउनसमेत भ्याए सिंहले।

‘गठबन्धनबाट उम्मेदवार रहेकी डिना उपाध्याय जसले प्रधानन्यायाधीशसँग महाभियोग फिर्ता लिन्छु भन्दै चुनाव खर्च मागेको सुन्नुभएको होला। क्वाटरमा पसेर कुरा गरेको डिनाजीले स्वीकार गरिसक्नुभएको छ। डिनाको कारण मकवानपुरको शिर निहुरिएको छ’, उनको आरोप रह्यो, ‘यहाँका अरु उम्मेदवार चुनावअघि मात्र देखिएका छन्। रक्सी र मासुमा मत साट्न दिन्नँ।’

स्थानीय निर्वाचनमा हेटौंडामा राप्रपाको स्थिति बलियो देखिन्छ। राप्रपाको मत सूर्य चिह्नमा जाने सम्भावना उत्तिकै बलियो देखिन्छ नि? हामीले अर्को जिज्ञासा राख्यौं।

‘स्थानीय निर्वाचनले देखाइसकेको छ। यो त मंसिर ४ पछि देखाउँछ। विचार सिद्धान्त र नीतिमा मुलुक चल्नुपर्छ। एउटा पूर्वमा फर्केका छन् त अर्को पश्चिम। यो के को गठबन्धन हो बताउँनुस् त’, उल्टै हामीलाई प्रश्न गरे सिंहले, ‘एउटा पार्टी चट्ट छोडेर अर्को पार्टीमा पट्ट पाइसकेको टिकट फ्याँकेर आफू छड्काउँदा यो पनि गठबन्धन हो?’

कमल थापा कसको इशारामा चलेको हो आफूलाई थाह नभएको उनको भनाइ रह्यो। भने, ‘पद चाहिएको छ उहाँलाई त्यही भएर जानुभएको होला। आधाभन्दा बढी एमालेका मित्र उहाँको उम्मेदवारीमा सन्तुष्ट छैनन्। उहाँ कसको इशारामा चलिरहनुभएको छ मलाई थाह छैन।’

दुई गठबन्धको असन्तुष्ट कार्यकर्ता रिझाउँदै सिंह

स्थानीय तहको निर्वाचनमा मेयरमा झिनो मतले तेस्रो भएका सिंह जित निकाल्न ६ महिनादेखि मैदानमा छन्। घरदैलोमा उनी जोशका साथ खटिरहेका छन्।

प्रतिनिधि सभामा नयाँ अनुहारलाई पठाउन आग्रह गरिरहेका छन्। सिंहको घरदैलोमा नेताको साथ छैन। तर, आफूलाई दुवैतिर गठबन्धनका कारण असन्तुष्ट कार्यकर्ताको भित्री समर्थन रहेको सिंहले दाबी गरे।

स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमध्ये ८ वटा पालिकाको नेतृत्वमा गठबन्धन विजयी भएको छ। उक्त निर्वाचन क्षेत्रमा चार वटा पालिकाका ४० वटा वडा पर्छन्।

हेटौंडा उपमहानगरकाका १५, मकवानपुरगढीको ४, बकैया गाउँपालिकाको १२ र वाग्मती गाउँपालिकाको ९ वटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन्। स्थानीय तहको निर्वाचनमा ४० वटा वडामध्ये १४ वटा वडामा मात्र एमालेको वडाध्यक्ष विजयी भएका छन्।

चार वटा पालिकामा एमालेका मेयर/उपमेयर, अध्यक्ष र उपाध्यक्ष कुनै पदमा जित निकाल्न सकेन। यस क्षेत्रमा १ लाख ५० हजार १ सय ५५ हजार मतदाता छन्। यहाँ दुई स्वतन्त्रसहित १६ जना प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell