- प्रकाश भण्डारी/उन्नत सापकोटा -
काठमाडौं : ‘वंशी टोलतिर आउनुस् त्यतै भेटौंला,’ यस्तो खबर पाएपछि हामी त्यतैतिर लाग्यौँ। वंशी टोलमा हामी त पुग्यौं, तर नेकपा एमाले काठमाडौं-१ का प्रतिनिधि सभाका उम्मेदवार किरण पौडेल पुगेनन्। उनी नआए पनि घरदैलो भने जारी नै रह्यो वंशी टोलमा।
‘म बानेश्वरतिरै आज एउटा मिटिङमा ब्यस्त भए,’ घरदैलोमा आउन नसक्नुको कारण खुलाए पौडेलले। स्थानीय तह निर्वाचनको परिणामअनुसार एमाले दोस्रो ठुलो दल हो। उक्त दलका उम्मेदवार पौडेलको चुनावी माहोलबारे धेरैलाई चासो हुनु स्वाभाविकै हो। एमालेको युवा संघको अध्यक्ष त उनी हुन् नै, युवा उम्मेदवार पनि हुन पौडेल। त्यसैले पनि होला अरु पार्टीका उम्मेदवारको नजर पनि उनीमाथि छ। अरु उम्मेदवारले भ्याइ नभ्याइ घरदैलो र प्रचारप्रसारमा लाग्दा पौडेल सुस्त देखिएपछि उनी कतै एमालेको रणनीतिक उम्मेदवार त होइनन्? प्रश्न गर्नेहरु पनि छन्।
हुन पनि पौडेलको चुनावी माहोल कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमको भन्दा फितलो छ। ‘कमिटी नै सक्रिय हुनुपर्ने। यता तिर त कमिटी नै रहेनछ। यस क्षेत्रमा बलियो त प्रकाशमान नै हुन्। युवालाई उम्मेदवार उठाएपछि भोट तान्न सजिलो हुन्छ कि भनेर होला ओली बाले उम्मेदवार बनाएको,’ एक युवा संघका कार्यकर्ताले पौडेलको पक्षमा माहोल नभएकोबारे प्रस्ट्याएका थिए हामीलाई घरदैलोको क्रममा। पौडेलको प्रचारमा हिँडिरहेका युवासंघका कार्यकर्ताले आफ्नै अध्यक्ष र उम्मेदवारलाई कम आँकेर प्रकाशमानलाई बलियो उम्मेदवार भएको बताउनु हाम्रा लागि अनौठो थियो। जसले पौडेलको चुनावी प्रचारमा हिँडिरहेकाहरुको मनोविज्ञान पनि बताउँथ्यो। किनभने पौडेल आफैँ पनि कतिपय ठाउँको चुनावी प्रचारलाई महत्व दिइरहेका छैनन्। एमालेभित्रै पनि काठमाडौं-१ मा जित निकाल्न मुस्किल हुने विश्लेषण छ।
पौडेलमाथि अर्को आरोप पनि छ- आफूले नजित्ने अवस्थामा प्रकाशमानलाई हराउन मिश्रलाई भोट हाल्न लगाउने। उक्त आरोप सहि साबित होला या गलत? त्यसका लागि त भोटिङकै दिनसम्म कुर्नुपर्ला।
पौडेलको घरदैलो पछ्याएका हामीलाई कांग्रेसका उम्मेदवार सिंहको चुनावी अवस्थाबारे पनि बुझ्नु थियो। भोलिपल्टै (बिहीवार) प्रकाशमानले चाक्सिबारीमा रहेको घरमै बोलाए। कांग्रेस स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको थियो। सबैभन्दा ठूला दलको तर्फबाट मात्रै होइन सत्ता गठबन्धनकै उम्मेदवार बनेका प्रकाशमान कस्तो रणनीतिक चाल चलिरहेका छन्? यस्तै प्रश्नहरु लिएर चाक्सिबारी पुग्यौं हामी। अहिले गठबन्धनको साथ पाएर बलियो उम्मेदवारका रुपमा देखिएका प्रकाशमान २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझाका उम्मेदवार मिश्रसँग भने बालबाल चुनाव जितेका थिए। तर यसपाला भने प्रकाशमान केही कन्फिडेन्ट देखिन्छन्।
कांग्रेसमा अन्तर्घात नभए कांग्रेसकै संगठित मतमात्रै पनि जितका लागि पर्याप्त हुने आधार पेश गरे प्रकाशमानले। ३४ वर्षका उम्मेदवार बममाथि ‘अपरिपक्व’को आरोप त प्रकाशमानले लगाए नै। व्यवस्था परिवर्तनमा आफूले खेलेको भूमिकाका कारण अहिलेका स्वतन्त्र भनिने उम्मेदवारहरु पनि आफ्ना अघि फिक्का भएको टिप्पणी गरे। विवेकशील, विवेकशील साझा, ‘इनफ इज इनफ’लगायतका सामाजिक अभियानमा हुँदै रास्वपाबाट उम्मेदवार बनेका बम कसरी कच्चा त? यही प्रश्नको जवाफ खोज्नु थियो बमसँग। कुराकानीका लागि भनेर सम्पर्क गरेपछि बमले शुक्रवार घरदैलो भ्याएर समय निकाले हामीसँग भेटघाटका लागि। कुराकानीका लागि तयार हुनुअघि भाडामा लिएको कार्यालयको बैठक कक्षको ‘डेकोरेसन’ केही बदलियो भिडियो अन्तर्वार्ता पनि भएकाले।
रङ खुइलिएको भित्ता छोपिने गरेर मिलाउँदै गर्दा उनको भनाइ भने अलि भिन्न सुनियो। जो तत्कालीन राजनीति प्रतिको टिप्पणी पनि थियो।
‘जे जस्तो छ यस्तै देखाउने हो,’ उनी रंगरोगनप्रति वास्ता गरिरहेका छैनन्। उनले त्यसलाई चुनावी अभियानसँग पनि जोडेर सन्देश दिन खोजिरहेहका थिए।
‘प्रचण्ड यही गरिवी देखाएर कहाँ पुगे। जनताहरु जहाँको त्यहीँ छन्,’ प्रचण्डप्रतिको आक्रोश बमले सुनाए। लोकतान्त्रि गणतन्त्र ल्याउनमा प्रचण्डको भूमिकालाई कम आक्न मिल्दैन। तर त्यसपछिको अवस्था बदल्न स्वयम् प्रचण्ड चुके जसलाई उनले स्वीकारिसकेका छन्। त्यसैले पनि प्रचण्ड आफूलाई अब अवस्था परिवर्तन गर्नका लागि मत दिन अनुरोध गरिरहेका छन्।
बम अहिलेको मुलधारको राजनीतिप्रति नै बेखुश छन्। अर्थात् वैकल्पिक राजनीतिको वकलता जसरी विवेकशीलमा हुँदा बमले गरिरहेका थिए, अहिले रास्वपाको उम्मेदवार हुँदा पनि जारी छ। बेला मौकामा वैकल्पिक राजनीतिबारे पनि उनले कुराकानीका क्रममा सुनाउन भने छोड्दैनन्। हुन त अहिले वैकल्पिक राजनीतिको वकालत गर्नेहरु नै लाखापाखा लागिसकेका छन्। नयाँ शक्तिमार्फत् वैकल्पिक राजनीतिका लागि अवतरण गरेका डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा फर्कँने तयारीमा लाग्दा वैकल्पिक राजनीतिको चर्को नारा लगाउने मिश्र पञ्चहरुको पार्टी राप्रपामा पुगे।
वैकल्पिक राजनीति त्यागेपछि मिश्र अहिले बमकै प्रतिस्पर्धी छन् राप्रपाबाट। मिश्रको राजावादी ‘मुखुण्डो’प्रति चर्को असन्तुष्टि जनाउने मध्येका तत्कालीन विवेकशील साझाका एक नेता थिए बम। बमलाई मिश्रले पार्टीबाटै निकाले। तर, चुनावको मुखमा मिश्र आफैँ पनि विवेकशील साझामा रहेनन्। राप्रपामा लागेपछि बमलाई भने केही राहत मिलेको रहेछ।
‘उहाँसँग लिखित सम्झौता नै भएको थियो पार्टीको विचार कस्तो हुने भनेर। उहाँको राजावादी लाइनबारे पनि अलि अलि थाहा थियो। तर उहाँले लिखित सम्झौता नै तोड्नुहुन्छ भन्ने थाहा थिएन। यसरी धोका दिनुहुन्छ भन्ने थाहा भएको भए हामी नेता मान्दैन थियौं। त्यतिबेला पनि हामीले उहा सुध्रनुहुन्छ कि भन्ने सोच्यौ,’ मिश्रप्रति कठोर सुनिए बम, ‘एक हिसाबले हामीलाई सजिलो पनि भएको छ। उहाँ राप्रपामा गएपछि समयमै प्रष्ट भयो उहाँबारे।’
मिश्रले पनि आफूलाई हराउनकै लागि बम उम्मेदवार बनेको आरोप लगाइरहेका छन्। त्यसो त बममाथि चुनाव क्षेत्र फेरिरहको र अस्थिर भएको आरोप लागिरहेको छ। जसको दोष बमले मिश्रमाथि नै लगाए। अझ उनले के सम्म भन्न भ्याए भने २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई क्षेत्र नम्बर १ बाट ८ मा पुर्याउने नै मिश्र भएको दाबी गरे।
‘पहिला पनि मैले यस क्षेत्रबाट उम्मेदवार हुन खोजेकै हो। म जुनियर भएको हुनाले मलाई उठ्न दिएनन् सिनियरले। रबिन्द्र मिश्र आफैं भोटर रहेको ललितपुर छाडेर उहाँ २०७४ मा यता आउनुभयो। यसपाला मैले हिम्मत गरेँ,’ बमको भनाइ छ। मिश्रविरुद्ध बमले राजावादी धारलाई मात्रै आलोचनाको आधार बनाएनन्। उनको चुनावी अभियानमा हिँड्नेहरुप्रति आक्रोशित सुनिए।
‘मिश्रजीको चुनाव प्रचार प्रसारमा हिँड्नेहरु पनि कस्ता रहेछन् भने सबै बुढा नै बुढा। एक छिन हिँडेपछि म त औषधी खान हिँडे भन्दारहेछन्। त्यस्तो प्रचार गरेर कहाँ पुग्नुहुन्छ उहाँ?।’
मिश्र आफैँ पनि आराम गर्नुपर्ने बेलामा पुगेको बमले सुनाए। मिश्रले सल्लाहकारको काममात्रै गर्नुपर्ने उनको भनाई थियो।
आफ्नै पूर्व नेता मिश्रमाथि खनिएका बम कांग्रेस नेता प्रकाशमानको आलोचना गर्न किन पछि पर्थे र? चुनावको बेलामा आरोप प्रत्यारोप त चल्ने नै गर्छ। त्यसभन्दा पनि महत्वपूर्ण कुरा त के भने कट्टर कांग्रेसीहरु पनि आफ्नो पक्षमा खुलेको दाबी गर्न भ्याए उनले।
‘कांग्रेस, एमाले, माओवादीका मान्छेहरुले हाम्रा लागि काम गरिदिनु भएको छ। पहिला जितिसकेको मान्छेलाई जसरी पनि हराउनुपर्छ भन्नेमा उहाँहरु हिँडिरहनु भएको छ,’ बमको दाबी छ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीले चुनावी तालमेल गर्दा पनि जित निकालेका प्रकाशमान अहिले कांग्रेस-माओवादी लगायत पाँच दलको गठबन्धन हुँदा सहज अवस्थामा छन्। तर, त्यसमा बम भने सहमत छैनन्।
हुन त दलहरुले उम्मेदवार को हो? भन्नेसम्म टुंगो नलगाएको बेलामा बमले काठमाडौं-१ मा उम्मेदवारी घोषणा गरेर तयारी सुरु गरेका थिए। ८७ प्रतिशत मतदातासम्म शुक्रवारसम्म पुगिसकेको दावी बमको छ। जसलाई जितको बलियो आधारका रुपमा प्रस्तुत गर्छन् उनी। अर्कातिर प्रकाशमानका कमजोरीलाई क्यास गर्ने दाउमा छन् उनी। प्रकाशमानमाथिको टिप्पणी के त?
प्रश्न सुन्नासाथ उनी केही कडा रुपमा प्रस्तुत भए।
‘उहाँको शक्ति नै त्यही हो- बुवाले जे गर्नुभयो। त्यसैको ब्याजमा अघि बढीराख्ने? जसको आफ्नो केही पनि शक्ति छैन, राम्ररी बोल्न पनि आउँदैन। नागरिकका मुद्दा उठाउन पनि आउँदैन,’ बमले प्रकाशमानका कमजोरी खुट्टयाए। प्रकाशमानले सधैं भोग्ने गरेको आरोप बुवाको बिरासत भन्नेमा यसअघि नै प्रष्टिकरण दिएका छन्। त्यसमा उनले आफ्नो त्याग सानो नभएको बताएका थिए।
‘१५ वर्षदेखि मैदानमा छु। उहाँ पनि १५ वर्षदेखि संसदमा हुनुहुन्छ। सदनभित्र उठ्नुपर्ने मुद्दाहरुमा उहाँ कहाँ हुनुहुन्थ्यो? उहाँका वरिपरिका मान्छेहरु भ्रष्टाचारमा मुछिँदा उहाँ कहाँ हुनुहुन्थ्यो?,’ एजेण्डा विहीन भएको भन्दै प्रकाशनलाई बमले प्रश्न गरे।
प्रकाशमानले सांसद भएर गर्नुपर्ने काम आफूले सडकमा उभिएर गरेको बमको दावी थियो। माथि नै उल्लेख भइसक्यो कि प्रकाशमानले बमलाई कच्चा उम्मेदवार भएको आरोप लगाएका छन्। आरोप लगाउन बम पनि कम छैनन्।
‘उहाँको हैसियत हामीलाई थाहा छैन? हामीलाई कच्चा भन्ने? उहाँले अहिलेसम्म के गर्नु भो? यो उहाँहरुको प्रोपागाण्डा मात्रै हो। उहाँहरुकै मान्छेले हामीलाई साथ दिएर यहाँसम्म आएका छौ,’ बमले भने।
बमको दाबी कहाँसम्म छ भने - प्रकाशमानका विश्वासपात्र नै उनीसँग छन् अहिले।
‘प्रकाशमान प्रवृत्तिलाई ठाउँका ठाउँ रोक्नुपर्छ भनेर उहाँको विश्वासपात्र नै हामीसँग हिँडिरहनुभएको छ,’ बमको दाबी थियो। उनले संकेत गरेको ब्यक्ति को हुन? बमले खुलाउन चाहेनन्।
मिश्र र प्रकाशमान माथि खनिएका बमलाई चुनौती भने स्वतन्त्र र साना दलबाट उम्मेदवार बनेकाहरुबाट पनि रहेछ। उनले काठमाडौं-१ मा उठेका अरु उम्मेदवार माथि निगरानी गरिरहेका छन्। आफ्नो मत स्वतन्त्रबाट उठ्ने उम्मेदवारले काट्न सक्ने विश्लेषण बमको छ। बमले आफ्नो क्षेत्रको मतदाताकहाँ विदेश जानुपर्ने बाध्यतालाई रोक्ने विषयलाई मुख्य ऐजेन्डाका रुपमा उठाएका छन्। जसको एउटै कारण हो - काठमाडौं महानगरपालिकामा बालेन साहले मेयरमा चुनाव जित्नुका पछाडि विदेशमा रहेका नेपालीका परिवारको मत थियो।
बमले घरघर पुगेर मतदातालाई आश्वस्त पार्नेक्रम जारी नै छ। पछिल्ला दिनमा उनी स्वतन्त्र नै उम्मेदवार भए जित्ने तर रवि लामिछाने नेतृत्वको रास्वपामा जाँदा नकारात्मक धारणा राख्नेहरु पनि नभएका होइनन्। तर, चुनाव चिन्हका कारण पनि पार्टीमा आवद्ध हुन पुगेको बताउँछन् बम। ‘हामी छुट्टा छुट्टै उम्मेदवार भएको भए १० वटा चुनाव चिन्ह हुन्थ्यो होला। एकै ठाउँमा आउनुपर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीबाट जानुपर्छ भन्ने निर्णयमा पुगेका हौं,’ उनले सनाए। त्यसो भने उनी के वैचारिक हिसाबले लामिछाने भन्दा फरक छन् ?
‘बिचार फरक भएको भए त हामी अलगअलग नै हुन्थ्यौं नि। विचार पनि मिलेको हो। अहिलेसम्म वैचारिक रणनीतिक हिसाबले जसरी अगाडि बढिरहेका छौं त्यो मिलिरहेको छ,’ बमको प्रष्टिकरण थियो। एमालेका उम्मेदवार पौडेल रणनीतिक उम्मेदवार हुनसक्ने विश्लेषण भइरहँदा त्यसबारे सचेत छन् बम। एमालेले पौडेललाई डमी उम्मेदवारमात्र बनाउँदा मतदाताले जे भन्यो त्यही मान्ने खालको स्थिति नभएको र एमालेमै बिद्रोह हुने भएकाले त्यसलाई लिएर कुनै छुट्टै रणनीतिक चाल नरहेको बमले बताए।
‘हेर्नुस पौडेललाई युवा भनेर जसरी एमालेले ल्यायो त्यसमा डमी उम्मेदवार मात्रै बनायो भने त्यो एमालेका युवामाथि ठूलो धोका हुनेछ,’ बमले भने।
काठमाडौं-१ मा कसले जित्छ? त्यसबारे त निर्वाचनको परिणामसम्मै पर्खनुपर्ला। तर, अहिलेसम्म जस्तो रस्साकस्सी देखिन्छ त्यसले यस क्षेत्रमा रोचक नतिजाको अपेक्षा भने गर्न सकिन्छ।