PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म व्यवसाय गरेर, टन्न पैसा कमाएर अब पुग्यो भन्दै टुप्लुक्क राजनीतिमा नाम कमाउन आएको होइन : प्रकाशमान



पहिलोपोस्ट

म व्यवसाय गरेर, टन्न पैसा कमाएर अब पुग्यो भन्दै टुप्लुक्क राजनीतिमा नाम कमाउन आएको होइन : प्रकाशमान

काठमाडौं क्षेत्र नम्बर १ मा अघिल्लो पटकको प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित जित थियो प्रकाशमान सिंहको। लगातार फराकिलो अन्तरले जित निकालिरहेका उनलाई विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले अप्रत्यासित रुपमा मत ल्याउँदा झन्डै हारको नजिकै पुर्‍याएको थियो। यसपाला तिनै मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा छन्। विवेकशील साझामा रहेर रविन्द्र मिश्रसँग संघर्ष गरेका पुकार बम चुनाव घोषणा हुनुभन्दा अघिदेखि नै यस क्षेत्रमा सक्रिय छन्। बम यसपाला राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्। नेकपा एमालेले किरण पौडेललाई उम्मेदवार बनाएको छ। उनी युवा संघका अध्यक्ष हुन्। युवा उम्मेदवारका बिच प्रतिस्पर्धा गरिरहेका प्रकाशमान सिंह यतिखेर चुनावी दौडाहमा सक्रिय छन्। स्वतन्त्र र युवा उम्मेदवारका कारण यसपाला यस क्षेत्रमा पहिलेभन्दा फरकखाले स्थिति देखिएको छ। यिनै सन्दर्भलाई लिएर उन्नत सापकोटाले सिंहलाई सोधे : 

अघिल्लो पटकको निर्वाचनमा तपाईंले जुन मतपरिणाम पाउनु भयो, अघिल्ला चुनावसँग तुलना गर्दा जित सेलिब्रेट गर्न सक्नुभएन नि?

प्रथम र दोस्रो संविधानसभाको चुनावमा जुन पर्सेन्टेज अफ भोट आयो, र संविधान जारी गरेपछि २०७४ को पहिलो आम निर्वाचनमा हेर्ने हो भने- सबैले आ-आफ्नो भोट लिँदा मैले त मेरा सबै अपोजिसनहरुले ल्याएभन्दा बढी थियो।

अहिले पनि सबैले आ-आफ्नो भोट लियो भने म कम्फर्टेबल्ली नै जित्ने हो। गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट अब प्रकाशमानलाई फाल्नै पर्छ भन्दै सबै मिलेकाले मतान्तरण केही घटेको हो।

त्यतिखेरको परिणाममा नेकपा एमालेका मतदाताको बढी भूमिका होला नि, होइन?

यसमा पनि डिभाइडेड छन्। राजनीतिक रुपमा सचेत (पोलिटिकल्ली कन्सियस)वालाहरुले बहुदलीय व्यवस्था ल्याएको, डेमेक्रेटिक सिम्बोल माने। २०४६ को जनआन्दोलन त यही चाक्सीबारीबाट भएको हो। २०४६ को उपलब्धीप्रति सन्तुष्ट नहुनेहरु त यसलाई हराउन पायो भने त चाक्सीबारी हार्नु हो भनेका हुन्। त्यसो भन्नुको अर्थ एउटा राजनीतिक खम्बालाई ढाल्नु हो।

म स्ट्याटिस्टिक्समा डिस्टिङ्सनसहित पास भएको व्यक्ति हुँ। सबै अलगअलग रुपमा भिडे भने त मैले सहजै जित्छु। तर, मेरा विरोधीहरु सबै एकै ठाउँमा आए भने प्रतिष्पर्धा हुन्छ भन्ने हो। प्राय सबै एकै ठाउँ हुँदा पनि मैले पाएको मत घटेको छैन।

काठमाडौं १ बाट तीन पटक प्रतिनिधित्व गरेँ। दुई कार्यकाल त हाम्रो संविधान लेखनमै गयो। दोस्रो संविधानसभा पछि त कांग्रेस कै नेतृत्वमा संविधान जारी भयो त। संविधान जारी भएपछि कार्यान्वयन गर्ने समयमा फेरि कांग्रेसले म्यान्डेट पाएन। म्यान्डेट पाएकाहरुले आवश्यक संघीय कानूनहरु बनाइदिएन। त्यस कारण नागरिकहरुमा 'डिसस्याटिस्फ्याक्सन' बढेको देखिन्छ। उनीहरुले पुरानो प्रणाली र अहिलेमा के फरक भयो त भन्दै प्रश्न गरिरहेका छन्। यत्रो संविधानसभाको अभ्यास गरेर ल्याएको संविधान, संघीयता र केन्द्रीय एकात्मक राज्य व्यवस्थामा के अन्तर छ त? भन्ने कुरा आइरहेका छन्। संविधान जारी गरिसकेपछिको पहिलो आम निर्वाचनको परिणामबाट म्यान्डेट पाएकाहरुले काम नगरिदिएकाले यस्तो समस्या देखिएको हो।

संविधान कांग्रेसकै नेतृत्वमा हामीले सबैलाई मिलाएर जारी गरेको हो। अब त्यसलाई लागु गर्नु पर्‍यो। पहिलो संविधानसभाको चुनावमा कांग्रेसको परिणाम कमजोर थियो। दोस्रोमा कांग्रेस सबैभन्दा ठूलो पार्टीको रुपमा आएर संविधान जारी गरेकै हो। अवसर पाउँदा काम नगरेकाहरुले हामीले पाउँदा उनीहरुलाई पनि समेटेर संविधान त जारी गरेका हौं। भन्नुको मतलब अवसर पाउँदा काम गर्न सक्ने खुबी कांग्रेसमा छ। अबको चुनावमा हामीलाई नै अवसर दियो भने संविधान कार्यान्वयन गरेर मतदाताको आम अपेक्षा पूरा गर्छौं।

अघिल्लो निर्वाचनमा माओवादीले जसलाई उम्मेवार उठाथ्यो, उनीहरुलाई एमालेका आधा भन्दा केही बढी भोटरहरुले भोट हालेको र बाँकीले नहालेको देखिन्छ। यही अवस्था रह्यो भने प्रकाशमानलाई रणनीतिक रुपमा हराउन सक्ने सम्भावना पनि देखिन्छ त।

नेकपा एमाले पनि २०४६ को जनआन्दोलनमा लोकतन्त्रकै लागि संघर्ष गरेको पार्टी हो। त्यो आन्दोलनलाई सफल पार्न गणेशमानजीले कम्युनिष्टहरुलाई यही आँगनमा बोलाएर तिमीहरु कोसँग कुरा गर्ने, तिमी कम्युनिष्टहरुमा यति धेरै फ्र्याक्सनमा छौ, तिमीहरु एउटै वाम मोर्चा बनाएर आउनु, अनि कार्यगत एकता गरौंला भन्नु भयो। वाम मोर्चाको संयोजक भएर सहाना प्रधानले आन्दोलनमा सहभागिता जनाएको हो त।

२०१७ सालको कू पछि कांग्रेस र कम्युनिष्टहरु अलग अलग हुँदा पञ्चायत ३० वर्ष टिक्यो। तर जब डेमोक्रेटिक र लेफ्ट फोर्सहरु एक ठाउँमा आए जरा गाडेर बसेको पञ्चायतलाई त ढालेकै हो त। २०१७ सालमा गुमेको अधिकारहरु पुनर्स्थापना गरेको हो।

२०४८ को निर्वाचनदेखि नै काठमाडौं १ ले नेपालकै राजनीति कता जान्छ भन्ने दिशा प्रदान गर्दै आएको छ। यस क्षेत्रबाट निर्वाचित भएकाहरु राष्ट्रपति, प्रधानमन्त्रीदेखि ठूलो ओहदामा पुगेका छन्। हुन त सबै निर्वाचन क्षेत्र उत्तिकै महत्वपूर्ण छ तर, काठमाडौं १ को निर्वाचन इतिहास विश्लेषण गर्दा राम्रो उम्मेदवार निर्वाचित हुँदा देशलाई नै राम्रो हुँदो रहेछ अलि प्रदर्शन गर्न नसक्ने व्यक्ति निर्वाचित भयो भने गाह्रो हुँदो रहेछ भन्ने त देखायो।

जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई चुनावमा पराजित हुँदा, परिपक्व नेताहरुले देखाएको मार्गदर्शन, दिएका सुझावलाई नमान्दा के भयो भन्ने त हामी सबैले भोगेको छौं।

भनेको मतलब एमालेबाट त्यो इतिहासलाई बुझेको पुस्ताले साथ दिन्छ भन्ने तपाईंको बुझाई हो?

त्यसमा मलाई शत प्रतिशत कन्फिडेन्स छ। ल ठीक छ रे चुनावबाट परिणाम अ‍र्कै ल्यायो रे, मेरो राजनीतिक जीवनमा मैले १ नम्बरबाटै ह्याट्रिक गर्नुअघि दुई पटक त चुनाव हारेको मान्छे हुँ। २०४८ मा वाम मोर्चाको संयोजक सहाना प्रधान र ५१ मा भावी प्रधानमन्त्रीको प्रोजेक्सन गरिएका मनमोहन अधिकारीसँग हारेको मान्छे हुँ। संघर्ष गरेरै यहाँसम्म आइपुगेकाले म म्यान्डेट मान्ने मान्छे हो।

अघिल्लो निर्वाचन तपाईंलाई आच्छुआच्छु पर्ने रवीन्द्र मिश्र त्यतिखेर विवेकशील साझा पार्टीका उम्मेदवार थिए। अहिले उनी राप्रपाको उम्मेदवार छन्। त्यस चुनावको रवीन्द्र मिश्र र अहिलेको चुनावका रवीन्द्र मिश्रमा तपाईंले के अन्तर पाउनु भो?

रवीन्द्र मिश्रजीलाई मैले पाँच वर्षअघि चुनावमै भेटेको हो। त्यतिबेला पनि मैले उहाँलाई भनेको थिएँ, 'चुनावपछि पनि फेरि तपाईंसँग कहिले भेट होला नहोला तर, तपाईं जुन धारलाई पकडेर आउनुभएको छ त्यसमा तपाईं सस्टेन गर्न सक्नुहुन्छ कि हुँदैन परीक्षण गर्न समय त छ नि' भनेको थिएँ।

ठ्याक्कै अस्ति उम्मेदवारीको मनोनयन दर्ताको दिन उहाँ नोमिनेसन फाइल गरेर फर्कँरा। म नोमिनेसन गर्न जाँदै थिएँ। मैले रवीन्द्रजी तपाईंलाई के हो चुनावमा मात्रै भेट्नु पर्ने हो भनेर भनेँ। त्यसपछि तपाईंहरु आफैं बुझ्नु न।

यो आवधिक निर्वाचन हो। विभिन्न विचारधारा लिएर उम्मेदवारहरु आउँछन्। त्यसमा हाम्रो भन्नु केही छैन। तर, जनताले बुझिसकेका छन्। राजनीतिमा 'क्यारेक्टर' भन्ने धेरै ठूलो कुरा रहेछ। अडान भन्ने कुरा पनि धेरै ठूलो रहेछ। मूल्यांकन त जनताले गरिहाल्छन्। कति गाह्रो भइरहेको छ भन्ने कुरा उहाँको अभिव्यक्तिबाट आइरहेका छन्। त्यसले उहाँ नर्भस् नर्भस् कै संकेत गर्छ।

निर्वाचनमा जाने, निर्वाचनपछि आफ्नो क्षेत्रमा पाइला नटेक्ने। अनि जनतालाई दु:ख पर्दा केही साथ दिन नपर्ने ! यसलाई मतदाताले राम्रो मान्छन् त? सधैं जानेलाई त मान्छेहरुले प्रश्न गर्छन् भने कहिलेकाहीँ आउनेहरुलाई त त्यति गम्भीर रुपमा मतदाताले लिँदैनन्। विचलन जुन आएको छ त्यसको त सबैले लेखाजोखा त आवश्य गर्छन्।

मैले तीन कार्यकाल चुनाव जितेको अनुभव, आफ्ना नेता, कार्यकर्ताहरुको व्यवस्थापन र परिचालन, गठबन्धनको पूर्ण साथका कारण गएको निर्वाचनको परिणामभन्दा धेरै राम्रो परिणाम यसपाली आउँछ भन्नेमा विश्वास छ।

तपाईंको क्षेत्रमा अर्का एक प्रखर युवा पुकार बम प्रतिस्पर्धामा छन्। रवीन्द्र मिश्रभन्दा युवाहरु बिच तुलनात्मक रुपमा एकदमै पपुलर हुँदै गएको भन्ने सुनिन्छ। युवाहरु किन मूलधारको राजनीतिमा आउन नसकेर अर्को बाटोबाट जानुपर्ने परिस्थिति किन बनेको छ?

जारी भएको संविधानलाई कार्यान्वयन गर्नुपर्‍यो। संविधान कार्यान्वयन नहुँदै हतार मात्रै गरेर डेलिभरी गर्न राजनीतिमा कहाँ हुन्छ? इच्छा राख्नु, अरु ठाउँमा हुन्छ भने यहाँ किन नहुने भन्ने तुलना त होला तर नेपालको सामाजिक बनोट, सोच, ग्राउन्ड रियालिटीलाई यथार्थमा बदल्न समय लाग्छ नै।

२०४६ भन्दा अघि र पछिको अवस्थामा त परिवर्तन आएको छ। फ्रिडम पाइएको छ। शिक्षादेखि बिजनेस, उद्योग क्षेत्रमा नेपालले धेरै ठूलो फड्को मारेको छ। तर, चित्तबुझ्दो रफ्तारमा भइरहेको छैन। अब त्यो गर्नका लागि त राजनीति पनि त 'इभलुस्नरी प्रोसेस' हो प्रक्रिया र चरण अनुसार अघि बढ्छ।

लोकतन्त्रको सौन्दर्य भनेकै सुधार गर्दै र गल्ती सच्याउँदै झन् राम्रो बनाउने हो। यस्तो काम भइरहेकै छ। समय लाग्छ। तर, अहिलेका युवाहरुलाई हतार एकदम छ। राजनीतिमा आउनु भएको छ अनुभव गरेपछि यसबारे थाहा हुन्छ। कोही सामाजिक आन्दोलनबाट त कोही व्यवसायबाट आएका छन्। उहाँहरुलाई स्वागत छ। राम्रो मान्छे राजनीतिमा आउनुपर्छ।

तर, राजनीतिक क्षेत्र र व्यवसाय गर्ने क्षेत्र भने फरक हो। जे कुरा व्यवसायमा सोचेजस्तो सहजै गर्न सकिन्छ राजनीतिमा त्यसो हुँदैन। युवाहरुमा परिपक्वता नभएकै कारण उनीहरु हतारोमा छन्। खाली भएन भएन मात्र भन्ने? राजनीतिमा आउनुस् ठीक छ तर आफू टिक्न पनि त पर्‍यो नि! पब्लिक फिगर भइसकेपछि मान्छेहरुको माग र आवश्यकता पनि पूरा गर्न सक्नुपर्छ। पब्लिकको नजरमा परिसकेकालाई तल माथि गर्‍यो भने त फेरि राम्रो हुँदैन नि त।

तर, चरम असन्तुष्टि र तपाईंहरुकै दलभित्र पनि छ त। जसले लामो समयदेखि कांग्रेस मै भोट हालिरहेका छन् उनीहरुमा पनि एक किसिमको असन्तुष्टि आएको छ। त्यसलाई कसरी हेर्नु भएको छ?

असन्तुष्टि आएको कारण भनेको जुनसुकै राजनीतिक दलमा आबद्ध होस् या नहोस् उनीहरुले यथार्थलाई ग्रहण गर्न नसक्नु हो। सिद्धान्तका कुरामा पनि हामी अडिग हुनैपर्छ तर ग्राउन्ड रियालिटीलाई भने बिर्सनु हुँदैन।

कांग्रेस एक्लै लड्नु पर्छ किन गठबन्धनमा गएको भनेर असन्तुष्टि छ। कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानमाथि निरन्तर प्रहार गरिसकेपछि हाम्रो संसदको कम्पोजिसन नै गठबन्धन गर्नुपर्ने अवस्था बन्यो। संसदमा कांग्रेसको त धेरै कम प्रतिनिधित्व थियो। १६५ मा जम्मा २३ सिट जितेको हो नि।

यथार्थलाई एकातिर चटक्क छोडेर खाली सिद्धान्तका कुरा मात्रै गरेर भएन। यथार्थलाई स्वीकार नगर्ने अनि 'डिसस्याटिस्फ्याक्सन'? संविधान त जोगाउनु पर्‍यो नि! नेपालमा जुन परिवर्तन आउँछ, त्यसलाई नागरिकले उपभोग गर्न नपाउँदै फेरि अर्को परिवर्तनमा जानु त ठीक हुँदैन। सधैं अस्थिरताको अस्थिरता हुने भयो त्यसले।

तपाईंको क्षेत्र कस्तो ठाउँमा पर्‍यो भने महानगरको पनि एक किसिमको 'कोर सिटी'। यसो हुँदा अरु उम्मेदवारको जस्तो ढल बनाउँछु, सडक बनाउँछु वा त्यो बनाउँछु भन्ने पनि तपाईंको भागमा पर्दैन रहेछ। तपाईंले यही भएर चुनावी एजेन्डा नपाएको हो?

ठाउँ त्यस्तो होइन। मेरो प्रतिबद्धतापत्र हेर्नुस् मूल नारा नै 'केन्द्रमा प्रभाव, क्षेत्रमा विकास'। केन्द्रमा प्रभाव भनेको राष्ट्रिय मुद्दामा आफ्नो प्रभाव देखाउने हो। म त विज्ञानको विद्यार्थी। ल्याबमा काम गरेजस्तै हो। निर्वाचन क्षेत्र त त्यो मेरा लागि ल्याब हो नि। जो व्यक्ति व्यवहारमा भिजेको हुन्छ, अप्स एन्ड डाउन्स देखेको हुन्छ, उनीहरुले नागरिकको नाडी छामेर बुझेको हुन्छ।

क्षेत्रमा गरेको विकास कै कारण राष्ट्रिय मुद्दामा पनि त्यो अनुभवसहित काम गर्न चाहन्छु। नेपाललाई क्षेत्रको विकासबाट बटुलेको अनुभवका साथ अगाडि लैजान चाहान्छु। राष्ट्रिय मुद्दाको रुपमा म शिक्षामा केन्द्रित हुनेछु। बोर्डिङ स्कुल र सामुदायिक स्कुलबीच शैक्षिक गुणस्तरमा जुन अन्तर छ, त्यसलाई मेटाउनुपर्छ। यसलाई लक्षित गर्दै नीति तथा कार्यक्रम ल्याउनुपर्छ।

अर्को भनेको अर्थतन्त्रलाई चलायमान बनाउन त्यस क्षेत्र लक्षित कानून निर्माणमा सक्रिय हुनेछु। विद्यमान कानून जुन आउटडेटेड भएका छन् त्यसलाई खारेज गर्ने, समय सापेक्ष नरहेका अव्यवहारिक कानूनलाई परिमार्जन/संशोधन गर्ने। अर्थतन्त्रलाई अझ सबल र सहज बनाउन आवश्यक परेमा नयाँ कानून बनाउन म केन्द्रित हुनेछु। उद्योग गर्नेलाई सजिलोसँग संचालन गर्ने वातावरण, व्यापारी/व्यवसायीहरुलाई काम गर्ने वातावरण हुनुपर्छ।

साना, मझौला र ठूला इन्टरप्राइजेजहरुलाई अघि बढ्न रोकेका अव्यवहारिक प्रावधानहरु छन् त्यसलाई संशोधन गर्न विज्ञसहितको टोलीबाट राय लिएर अघि बढ्नेछु। तर, यी सबै काम गर्न त राजनीतिक स्थायित्व चाहिन्छ। जारी भएको संविधानलाई कार्यान्वयन गर्ने र राजनीतिक स्थायित्वको आधारमा मात्रै सुधारको काम अघि बढ्छ। अस्थिरता कायम रह्यो भने गाह्रो हुन्छ।

कोरोना महामारीमा हामी सबैले अनुभव गर्‍यौं त। सरकारी अस्पतालहरुले सहज रुपमा अक्सिजन दिन नसक्दा हामीले हाम्रो क्षेत्रमा रहेको रत्नराज्य स्कुलमा खोलेको आइसोलेसनले त देशव्यापी प्रशंसा भएकै हो नि। हामीले हाम्रो क्षेत्रमा त्यस्तो संकटमा पनि स्वास्थ्य सेवा सर्भ गर्‍यौं। अबको मेरो ध्यान भनेको वडा क्लिनिकलाई विस्तार गर्नुपर्छ भन्ने निष्कर्ष छ। देशभरका सबै वडामा ल्याब र उचित स्वास्थ्यकर्मीसहितको क्लिनिक निर्माण गर्न भूमिका खेल्छु।

घरदैलोको क्रममा धेरैले खानेपानी भएन भन्नु हुन्छ। काठमाडौंको १ नं क्षेत्रमै खानेपानीको समस्या छ। कहिले आउँछ मेलम्ची माननीयज्यू, तपाईंलाई कति भन्ने। आधारभूत आवश्यकता नै पूरा भएको छैन भने ठूला ठूला सैद्धान्तिक कुरा गरेर के गर्ने?

योजनामा स्पष्ट हुनु एउटा कुरा छ। तर, अहिलेको चुनावमा आम मतदातासँगै तपाईंकै आफ्नो पार्टी कार्यकर्ताहरुले हेर्ने दृष्टिकोण भनेको गत महाधिवेशनमा तपाईंको 'मुभ' र काठमाडौं महानगरको निर्वाचनमा श्रीमती सिर्जना सिंहलाई उठाएको विषय माथि बढी औंला उठाउँछन् त। त्यो प्रश्न त जायज होइन र?

यो जायज होइन। आंशिक रुपमा झ्वाट्ट हेर्दा गरिएका निर्णय अचम्म लाग्नु एउटा कुरा हो। त्यो निर्णयमा पुग्न पुराना घटनाहरु कसरी विकास भयो भन्ने मान्छेहरुले बिर्सिन्छन्। सम्झे पनि बिर्सिएको जस्तो गर्दिन्छन्। म त पार्टी विधि र नियमले चल्नुपर्छ भन्दै आएको छु। २०५६ सालको पोखराको १०औं महाधिवेशनको क्रममा म तेस्रोपटक काठमाडौं जिल्लाको सभापतिमा लड्दै गर्दा १६ जिल्ला कमिटी भंग गरिए।

महाधिवेशनको तिथि मिति तोकिसकेपछि वर्किङ कमिटीमा बहुमत छ भन्दैमा निर्वाचित संयन्त्रहरुलाई भंग गर्नु हुँदैन भनेर मैले अभियान नै चलाएको हो। म व्यवसाय गरेर, टन्न पैसा कमाएर अब पुग्यो भनेर टपक्क राजनीतिमा नाम कमाउन आएको मान्छे होइन। म त विद्यार्थी जीवनकालदेखि ग्राउन्डमा खारिँदै, संघर्ष गर्दै आएको राजनीतिज्ञ हुँ।

त्यसपछि पार्टी फुट्यो। म प्रजातान्त्रिक कांग्रेसमा लागें। पछि मैले शाही आयोगमा अडान लिएँ। ११औं महाधिवेशनको क्रममा मलाई आइसोलेसन सेन्टरमा कैद गरिएको थियो। सर्वोच्च अदालतले शाही आयोग असंवैधानिक नभनेसम्म मलाई रिहा गरिएन। लोकतन्त्र संकटमा पर्दा प्रकाशमानले के गर्‍यो भन्ने बिर्सिने अनि ममाथि बाबुबाजेको ब्याज खायो भनेर आरोप लगाउन कहाँ पाइन्छ। योगदानलाई बिर्सिने खाली विरासतको ब्याज खायो ब्याज खायो भनेर भनिरहने?

शाही आयोगको फैसला आएपछि पार्टी एकीकरणको प्रक्रिया सुरु भयो। १२ ‍औं महाधिवेशन त एकै भएर भएको हो त। विधि र नियममा पार्टी चल्नुपर्छ भन्ने मै हो। गिरिजाबाबु पार्टी सभापति हुँदा मैले नै अभियान चलाएको हो। यो कोइरालाको विरोधी मान्छे हो भन्थे। १२‍औं महाधिवेशनको क्रममा विधान संशोधन भयो, महामन्त्री दुईजना मध्ये एकजना निर्वाचित हुनुपर्ने प्रावधान राखियो। त्यो क्रममा सुशील कोइरालाजीले मलाई किन छान्नु भयो त?

मसँग केही नभएको भए उहाँले किन मलाई विश्वास गर्नुहुन्थ्यो र? कांग्रेसको पहिलो निर्वाचित महामन्त्री हुने मौका त उहाँले नै दिएको हो। त्यही भएर मैले भन्दैछु पार्टी भित्रको महाधिवेशन भनेको आन्तरिक कुरा हो। जसले मलाई आरोप लगाए, अभियुक्त बनाए उनीहरुको पार्टी भित्रको पृष्ठभूमि हेरे भइगयो त। कुन समूहमा को कहिले गयो स्पष्ट छ। कहाँबाट कहाँ फड्को मारेको छ, त्यो हेर्नुस् न।

१२औं महाधिवेशनमा निर्वाचित महामन्त्री भएको मान्छे, १३ औंमा आइपुग्दा सुशील कोइरालाजी बित्नुभयो। १३औं महाधिवेशनमा मैले भने फस्ट म्यान सुशीलजी हो म त सेकेन्ड म्यान हो नि। त्यस कारण मलाई ब्याक गर्नुपर्‍यो भन्दा सिनियर कांग्रेसीहरुले तिम्रो उमेर पनि छ, सबै छ, तिमी अर्को पाली गर, यसपाली सिनियारिटीलाई मान्देउ भने। र, मैले रामचन्द्रलाई ब्याक गरेको हो।

१३औंमा पनि मैले सिनियारिटीलाई मानेको अब १४औंमा आउँदा पनि मैले रामचन्द्रजीलाई नै मैले भने तपाईं सिनियर भनेर मैले अघिल्लोपटक छोडेको। फेरि उही कुरा त मान्य हुँदैन। म र शेखरमध्येमा को चाँई सिनियर भनेर तपाईंहरुले भन्दिनु पर्‍यो भन्दा चुप्पो लागेर बस्छन्। अरु पनि चुप्पो लागेर बस्छन्। यो पार्टीभित्र मलाई त नम्बर वान म्यानमा कोही उठाउनै नचाहने !

यो समूहलाई बलियो र एकीकृत बनाउन त मेरो पनि ठूलो योगदान छ। अनि म भने यस समूहले भने अनुसार र उहाँहरुको मात्रै इच्छामा सधैं हिडिरहने? कहाँ हुन्छ भनेर मैले गत महाधिवेशनमा 'पोलिटिकल डिसिजन' लिएर शेरबहादुर देउवालाई साथ दिएँ। राजनीतिक निर्णय लिँदा कसैलाई राम्रो लाग्छ कसैलाई नराम्रो लाग्छ। म त सुरुमै कोइराला समूहबाट अलग भइसकेको हो। सुरुमै छुट्टै सभापतिका लागि उम्मेदवारी दिएँ। यसमा के को बेइमानी हुन्छ? मलाई अन्याय गरेर अगाडि जान नदिएपछि छुट्टै अघि बढेको हुँ।

'म विधि र नियमबाट पार्टी चलाउँछु, मैले पनि त त्याग गरेको छु। मेरो यो अन्तिम पटक हो प्रकाश, म गर्छु, म गर्छु' भनेर देउवाजीले भनेपछि सघाएको हुँ।

अर्को कुरा यहाँ मान्छेहरुले भन्छन् शेरबहादुरलाई सभापतिमा समर्थन गरेकैले आफ्नो श्रीमतीलाई काठमाडौं महानगरको मेयरमा उठाउन पो रै'छ। एकातिर महिला सशक्तिकरणको कुरा गर्ने, अवसर पाएन भन्ने। अनि महिला उठाउँदा सौदाबाजी गर्‍यो भन्ने? सिर्जनाको पनि प्रकाशमानबाहेक आफ्नो राजनीतिक इतिहास छ। ऊ पनि पार्टीमा सक्रिय कार्यकर्ता हो। त्यो कुरा बुझ्नुपर्छ।

पार्टीले आधिकारिक रुपमा निर्णय गरेको, तय गरेको उम्मेदवार प्रकाशमानले भनेकै भरमा टिकट पाउँछ त? प्रकाशमानले भन्दैमा पार्टीको केन्द्रीय समितिको संसदीय समितिले मान्छ? मैले भनेको मान्ने भए त मै पार्टी सभापति हुन्थेँ। प्रक्रियागत रुपमा गरिएको पार्टीको निर्णय हो।

अन्तिममा, चाक्सीबारीमा रहेको यस ऐतिहासिक घरलाई हेरिटेज होटलका रुपमा विकास गरेर लाखौं कमाएर मोज गर्न सक्नुहुन्थ्यो। किन राजनीति नै गर्नै नै हुटहुटी जाग्यो? दिमागमा यो कुरा आएन तपाईंलाई?

२०१७ सालको कूमा बुवा आमा जेल पर्नुभयो। हामी त डेरा सर्दै, स्कुल फेर्दै पढ्नुपर्ने अवस्था थियो। जसले 'सफर' गर्छ उसलाई थाहा हुन्छ के। हामी त चाक्सीबारीको यो घर मुद्दा लडेर फिर्ता पाएका हौं। सर्वस्वहरण भएको यो प्रोपर्टी अदालतबाट फिर्ता पाएको हो।

मुख्य कुरा भनेको आनन्दको जीवन जीउन राजनीति छोडे पनि हुने हो। तर, हामीले आफ्नो जिम्मेवारी भुलेनौं। बुवा आमाले लोकतन्त्रको लागि त्यत्रो त्याग र संघर्ष गरेको, सबैलाई स्वतन्त्रता त दिलाएकै हो त। उहाँहरुले समाजमा गरेको योगदानमाथि थप केही राम्रो गरौं, समाजलाई सर्भ गरौं, राष्ट्रलाई सर्भ गरौं भन्ने भयो। 'नेसनल इन्ट्रेस्ट फस्ट, पिपल इन्ट्रेस्ट फस्ट' भन्दै बुवा आमाले देखाएको बाटोमा हामीले शुद्ध राजनीतिबाट सेवा गर्न निरन्तर लागिरहेका छौं। त्यसमा दाग नलागोस् भन्ने हो।

म पनि सधैं राजनीतिमा कहाँ हुन्छु र? राजनीतिबाट अलग भइसकेपछि पनि मान्छेहरुले भनोस् गणेशमान सिंह र मंगलादेवी सिंहको छोराले राजनीतिमा राम्रै गरेर गयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell