काठमाडौं: भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छिन्। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन्।
आउँदो मंसिर ९ गते सुरु हुने महोत्सवको उद्घाटनमा विशेष अतिथिको रुपमा उनलाई आयोजक मण्डला थिएटरले बोलाएको हो। महोत्सवमा आजमीले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ दिने कार्यक्रम रहेको महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जानकारी दिइन्। मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७:३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ।
अभिनेत्री शबानाले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाइसकेकी छिन्। आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्मश्री’ र सन् २०१२ मा ‘पद्म भूषण’ बाट सम्मान गरेको थियो।
‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ हुन लागेको महोत्सव मंसिर १७ सम्म चल्नेछ। फेस्टिभलमा देश–विदेशका २२ नाटक मञ्चन हुनेछन्।