PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कास्की २ को चुनावी मैदानमा विद्या र श्रीनाथः गठबन्धनलाई बागीको डर, एमाले पनि छैन सुनिश्चित



रिना थापा

कास्की २ को चुनावी मैदानमा विद्या र श्रीनाथः गठबन्धनलाई बागीको डर, एमाले पनि छैन सुनिश्चित

पोखराः हक्की नेताको रुपमा चिनिन्छन् नेपाली कांग्रेसका महादेव गुरुङ। गुटगत राजनीतिमा नखुलेका महादेव यतिबेला चुनावी मैदानमा छन्। टाउको दुखाई बनेको छ उनको उम्मेदवारी सत्तारुढ गठबन्धनबा लागि। २०५६ सालमा कास्की २ बाट निर्वाचन जितेका उनी पूर्व पर्यटन राज्यमन्त्री बने।

२०७० सालको निर्वाचनमा महादेवले हार व्योहोरे। २०७४ सालको निर्वाचनमा उनले टिकट पाएनन्। यस पटकको निर्वाचनमा उनको नाम समानूपातिकमा थियो। तर, गठबन्धनको विरोध गर्दै उनले कास्की २ मा बागी उम्मेदवारी दिए। उनको उम्मेदवारीले एमालेको विरासत भत्काउने नेकपा (एकीकृत समाजवादी) लाई धक्का पुगेको छ।

कास्की २ एकीकृत समाजवादीको भागमा परेको छ। एमालेको किल्लामा धावा बोल्न एकीकृत समाजवादी चाहन्छ। तर यसमा बाधा देखिएका छन् महादेव। नेताहरुले एकीकृत समाजवादीका तर्फबाट गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराललाई सघाउन आग्रह गरे। तर, महादेव आफ्नो अडानमा रहे। एमालेको लाल किल्ला मानिएको क्षेत्रमा महादेवको उम्मेदवारीले गठबन्धनको मत काट्ने देखिन्छ। गठबन्धनबाट बागी उम्मेदवारी परेपछि एमाले आफ्नो जितमा निश्चित सुनिन्छ। यस क्षेत्रमा प्रतिनिधि निर्वाचन क्षेत्रतर्फ पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडा पर्छन्।

महादेव अहिले पुतली चिह्न लिएर मैदानमा खटिएका छन्। उनको उम्मेदवारीले गठबन्धन सशंकित छ।

‘महादेवको उम्मेदवारीले गठबन्धनको मत काट्ने भूमिका खेल्यो। कांग्रेसभित्रकै असन्तुष्ट पक्षले मत दिन सक्छन्। एक छापे कांग्रेस मतदाताको मत महादेवलाई जाने सम्भावना बढी छ। गठबन्धनलाई कमजोर बनायो,’ ती कांग्रेस नेताले भने।

जसलाई सघाए उसैलाई हराउन मैदानमा

२०७० र २०७४ सालको निर्वाचनमा कास्की २ मा एमालेले निर्वाचन जित्यो। स्वर्गीय रविन्द्र अधिकारी उम्मेदवार थिए यस क्षेत्रबाट। पर्यटनमन्त्री बनेका रविन्द्रको हेल्किपटर दुर्घटनामा निधन भयो। निधनपछि भएको उपनिर्वाचनमा रविन्द्रको श्रीमती विद्या भट्टराई चुनावमा होमिइन। २०७६ मंसिरमा भएको उपनिर्वाचनमा २४ हजार ३९४ मत ल्याउँदै विद्या निर्वाचित भइन। अहिले पनि विद्या मैदानमा छिन्। उनको प्रतिद्धन्दी एकीकृत समाजवादीका श्रीनाथ बराल हुन्। उनै श्रीनाथ जसले रविन्द्रलाई जिताउन सक्रिय भूमिका खेले। रविन्द्रको निधनपछि विद्यालाई राजनीतिमा फर्काउन राम्रै भूमिका खेलेका थिए श्रीनाथले। विद्या उपनिर्वाचनमा होमिँदा रविन्द्रलाई साथ दिए जसरी नै सक्रिय रुपमा लागे श्रीनाथ। अहिले विद्यालाई हराउनका लागि श्रीनाथ मैदानमा छन्।

एमाले निकट भातृ संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी विद्या वैवाहिक जीवनपछि राजनीतिबाट अलग भइन्। रविन्द्रसँगको विवाहपछि प्रत्यक्ष राजनीतिमा नजोडिए पनि एमालेका भातृ संस्थामा आवद्ध थिइन्। रविन्द्रको निधनपछि उनी सक्रिय रुपमा राजनीतिमा फर्किएकी हुन्। यता लामो समयदेखि राजनीतिमा लागेका श्रीनाथ भने अवसरबाट बन्चित रहे। पार्टीमा माधवकुमार नेपालको समर्थनमा उभिने उनी पार्टीभित्रको अवसरमा सधैँ पन्छिए।

गठबन्धनबाट उम्मेदवार बनेका श्रीनाथ र विद्या दुबै आफ्नो जितमा दाबी गर्छन्। गठबन्धनलाई महादेवको उम्मेदवारी भारी पर्नसक्छ। यता, एमालेलाई आफनो विरासत जोगाउन हम्मेहम्मे भने पक्कै पर्ने देखिन्छ। स्थानीय तह निर्वाचनको अकं गणितले पनि देखाउँछ गठबन्धनको केही हदमा पल्ला भारी छ। ११ वडा रहेको यस क्षेत्रमा जम्मा पाँच वटा वडामा एमाले निर्वाचित भयो। बाँकी ६ वडामा कांग्रेसले जित निकाल्यो।

सबै वडामा उम्मेदवार उठाएको एमालेका वडाध्यक्षहरुले यस क्षेत्रबाट जम्मा २१ हजार १६४ मत ल्याएका थिए। दोस्रोमा कांग्रेसका वडाध्यक्षहरुले १९ हजार ८०० मत ल्याएका थिए। एकीकृतको मत यसक्षेत्रबाट २ हजार ५३ मत थियो। दलगत हेर्दा एमालेकै मत अग्रतामा छ। तर, गठबन्धनका कारण एमाले पछाडि देखिन्छ। कांग्रेस, एस र माओवादी केन्द्रले पाएको १ हजार १ सय ९८ मत जोड्दा एमाले लगभग एक हजार मतले पछाडि छ। स्थानीय तहकै निर्वाचनको मत परिणाम हेरेर प्रतिनिधि निर्वाचनको परिणाम भने आकलन गर्न सकिँदैन। महादेवले कांग्रेसको अत्याधिक मत तान्न सके भने गठबन्धनलाई मत घट्न सक्छ।

यसै क्षेत्रबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार छन् ऋगेन्द्र नेपाली गिरी। नेपालमा गाँजा वैधानिक बनाउनुपर्छ भन्ने मुद्धासहित निर्वाचनमा होमिएका युवा उम्मेदवारलाई युवाको मत जान सक्छ। युवाको केही मत तान्न उनी सफल भए दुबै दलको मत काटिने  देखिन्छ। यसले मत परिणाम दुबै दलले नसोचेको जस्तो आउने परिस्थिति बन्न सक्छ।

तर, एमाले आफनो जितमा दाबी गर्छ। कारण छ एमालेको पकड रहेको कास्कीमा पनि सबैभन्दा बलियो क्षेत्र कास्की २ मानिन्छ।

रविन्द्र अधिकारको आकर्षण अझै पनि यस क्षेत्रमा कायम छ। पछिल्लो समय राजनीतिमा विद्या सक्रिय भइसकेपछि उनले पनि आफनो छवि आकर्षित बनाएकी छिन्। यिनै कारण देखाउँछ एमाले आफनो जितको लागि।

‘स्थानीय तहको चुनावमा पार्टीभित्र पनि केही समस्या थियो। जित्ने अपेक्षा गरेका वडामा पनि हामी हार्न पुग्यौँ। अहिले त्यस्तो समस्या छैन। पोखरा १६ र २० नम्बर वडाबाट पनि राम्रो मत आउँछ। रविन्द्रजीको योगदान र उहाँलाई सम्झेर पनि विद्या कमरेडलाई मत आउँछ,’ ती नेताले भने।

प्रदेशतर्फ नयाँ र दोहोरिएको अनुहार

कास्की २(१) मा एमालेका भीम कार्की मैदानमा उत्रिँदा गठबन्धनका तर्फबाट माओवादीका विश्वप्रकाश लामिछाने मैदानमा छन्। २(१) मा पोखराका ७, १५, १७, २१ र ३३ नम्बर वडा पर्छन्। दुबै उम्मेदवार निर्वाचनमा पहिलोपटक भिड्दै छन्। माओवादीबाट विश्वप्रकाशले अवसर पाए पनि भीमले पार्टीबाट बल्ल अवसर पाएका हुन्। विभिन्न जिल्लामा पार्टीको संगठन विस्तारमा भूमिका खेलेको नेता मानिन्छन् उनी। यस क्षेत्रको ग्रामीण भेगदेखि शहरी वडामा भीमको राम्रो पहिचान छन्। अघिल्लो पटक पनि यस क्षेत्रबाट कृष्णा थापा सांसद पदमा निर्वाचित भएका थिए।

यस्तै कास्कीको २(२) मा एमालेबाट मीना गुरुङ प्रतिस्पर्धामा रहँदा गठबन्धनबाट कांग्रेसका बहालवाला मन्त्री विन्दुकुमार थापा मैदानमा छन्। मीना पनि गण्डकीकी पूर्वसांसद हुन्।

समानुपातिकबाट सांसद चुनिएकी मीनाले यसपटक प्रत्यक्षमा चुनाव लड्ने अवसर पाएकी छिन्। यस क्षेत्रमा पोखराका ४, ८, ९, ११, १६ र २० नम्बर वडा पर्छन्। अघिल्लो निर्वाचनमा विन्दुले निर्वाचन जिते पनि यसपटक पार्टीभित्रबाट अन्तर्घातको डर छ। कांग्रेसको महाधिवेशनबाट केही नेता विन्दुसँग रुष्ट छन्। बहालवाला भौतिक पूर्वाधार मन्त्री कुमार खड्का पनि यस क्षेत्रबाट टिकट प्राप्त गर्न आकांक्षी थिए। तर, उनको बदलामा विन्दुले टिकट पाए। त्यसैले पनि आन्तिरक रुपमा असहज रहने आकलन गर्छन् विन्दु निकट कार्यकर्ता।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell