PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

गठबन्धनलाई सिंहको प्रश्न: अर्को पार्टीकाले पाइसकेको टिकट आफ्नो पार्टी चट्ट छाडेर छड्किएकाले पाएका छन्, यस्तो पनि गठबन्धन?



निशा गुरुङ

गठबन्धनलाई सिंहको प्रश्न: अर्को पार्टीकाले पाइसकेको टिकट आफ्नो पार्टी चट्ट छाडेर छड्किएकाले पाएका छन्, यस्तो पनि गठबन्धन?

हारको ह्रयाट्रिक बनाएका दिपक सिंह यस पटक पनि चुनावी मैदानमा छन्। त्यसो त उनका प्रतस्पर्धी राप्रपा नेपालका कमल थापा र कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको पनि जितको इतिहास खासै राम्रो छैन।

२०५४ सालमा हेटौंडा उपमहानगरपालिकाको मेयरका राप्रपाका तर्फबाट उम्मेदवार सिंहले एमालेका डोरमणि पौडेलसँग पराजित भए। २०५६ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर १ मा विरोध खतिवडासँग फेरि हारे। हारको यात्रा २०७० को संविधान सभा सदस्य निर्वाचनमा पनि कायमै रह्यो सिंहको। एमालेका अनन्त पौडेलसँग सिंह पराजित भए। गएको ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सिंह हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेर तेस्रो भए।

लगातार हारको रेकर्ड राखे पनि थाकेका देखिँदैनन् सिंह। चुनावी सेरोफेरोमा केन्द्रित रहेका सिंहसँग पहिलोपोस्टकर्मी निशा गुरुङले गरेको कुराकानी:-

दुईतिर गठबन्धन छ, तपाईँ एक्लै चुनावी मैदानमा उत्रनुभएको अवस्था छ। कस्तो छ माहोल?

तपाईँहरुले देखिसक्नुभएको छ। मान्छे गठबन्धन गठबन्धन सुन्दा सुन्दै वाक्क भए। गठबन्धनले सत्तामा जानमात्रै हो। यही गठबन्धनले राष्ट्रघाती सन्धि, सम्झौता, नागरिकता विधेयक सम्पूर्ण तपाईँ हाम्रो अगाडि देखाइसके। देशको विकास भन्दा पनि मिलेर खानको लागि ठूला पार्टीका नेताहरु लागिपरेका छन्। अहिले देशभर गठबन्धनविरुद्ध जनलहर छ। कोहीकोही मान्छे पनि कांग्रेस, माओवादी , एमालेहरुले पनि बचाइराखेको छैन। विचारको सिद्धान्तको राजनीति भन्दा पनि सत्ता प्राप्तिको खेलको राजनीति गर्नेबाहेक अरु केही छैन। वर्षमा तीनचोटी प्रधानमन्त्री फेर्ने, ६/६ महिनामा प्रदेश सरकार फेर्न यही गठबन्धन हो। जनताले सोच्न थालिसके। यत्रो लामो समयसम्म उहाँहरुले काम गर्दाखेरी जनताको घरदैलोमा विकास, जनताको छोराछोरीलाई रोजगारी केही पनि दिन सक्नुभएन। जहाँ पनि कमिसन आफ्नो मान्छे, आफ्नो परिवार र आफ्नो नाताबाहेक केही गर्न सक्नुभएन। त्यस कारणले पनि यो गठबन्धनप्रति सम्पूर्ण देशका र मकवानपुरका ज्यादा जनता वाक्क दिक्क भइसके।

सत्ता गठबन्धन र एमाले राप्रपा नेपालमा तपाईँको असन्तुष्टि कुन चाहिँ गठबन्धनसँग?

मेरो असन्तुष्टि कोहीसँग छैन। यी ठूला गठबन्धनको चरित्र जनताले देखिसकेको छ। पदमा पुग्न त्यो ठाउँमा पुग्नको लागि आफ्नो विचार बेचिसकेका छन्। त्यो ठाउँमा पुग्न अहिले गठबन्धनबाट उठ्नुभएको डिनाजी प्रधानन्यायाधीश जसलाई महाभियोग प्रकरणमा जोडिनुभएको छ। मकवानपुरका जनताले के भनि सोच्ने? गठबन्धन सत्ता हत्याउनको लागि मात्रै हो। मैले १५ वर्षमा यो यो काम गरेँ भन्ने ठाउँ छैन। यो गणतन्त्र बचाउनको लागि गठबन्धन भन्छ तर, कमाउनेबाहेक अरु उपाय छैन। उहाँहरुको सत्ता प्राप्तिको लागि गठबन्धन छ भनेदेखि मेरो गठबन्धन मकवानपुरका जनतासँग मनमुटुको छ। विद्यार्थी, युवा, भाइबहिनी र मजदुर किसानसँग मेरो गठबन्धन छ। मेरो गठबन्धन सत्ता खाने होइन पवित्र छ। साँच्चै भन्ने हो भने यो राष्ट्रलाई आमुल परिवर्तण गर्न सबको  देखिसकेका छन्। अहिलेको चुनावको नतिजा मकवानपुरमा हलोले एकलौटी पार्ने धेरै सम्भावना देखिसकेको छ।

तपाईँले भन्न खोज्नुभएको अरु उम्मेद्वारको चाहिँ नेताहरुसँग गठबन्धन तपाईँको जनतासँग गठबन्धन?

अवष्य, किनकी अरु नेताले त चुनवाको लागि मात्रै सत्ता प्राप्तिको लागि मात्रै गठबन्धन गरेका छन्। मेरो त्यो गठबन्धन होइन। मेरो जनताको विकास, उन्नति, बेरोजगारी भाई-बहिनीलाई रोजगारी यी सब कुरा लिएर मैले घरघर दैलोदैलो पुगेको छु। आज ६ महिना जति हुन थालिसकेको छ। म जनताको हरेक भेगमा पुगिसकेको छु। यो गठबन्धनका नेता भर्खर १५/२० दिन भयो देखापरेका टिकट लिनका लागि शेरबहादुर देउवाको वरिपरि घुमिराखेका छन्। कोही ओलीको कोही प्रचण्डको वरिपरि घुमिरहँदा म ६ महिनासम्म जनताको घरदैलोको वरिपरि घुमिरहेको छु। र, जनताले सबै कुरा बुझिसेका छन्। जनताले रक्सी, मासु र पैसामा मत परिवर्तन गर्ने छैन भन्ने मलाई विश्वास छ।

गत स्थानीय तहमा पराजित भएको तपाईँलाई अझै थकाई लागेन?

होइन, मेरो कुरा के छ भने म राजनीतिमा लागेर घरबार, सालासाली, भाञ्जाभाञ्जी यिनीहरुलाई ब्यवस्थित गर्नको लागि होइन। मैले जे गर्छु जनताको लागि गर्छु। म जे विकास गर्छु पक्षपात नगरी जनताको आवश्यकता अनुसार गर्छु। आज मसँग लड्ने दुई जना नै पटक-पटक मन्त्री बनिसके, १०/१० वर्ष माननीय बनिसकेका छन्। उहाँहरुले यत्रो शासन चलाउँदा पनि सम्बन्धित मन्त्रालय हाँक्दा पनि केहि गर्न सक्नुभएन। त्यही कुरो जनताले पनि देखिसकेको छन्। अब मेरो थकाई जुन दिन आर्यघाटमा जान्छु, त्यही दिनमात्रै लाग्छ। जबसम्म मेरो शरीर यो अवस्थामा छ। म निरन्तर जनताको लागि लड्नेछु। म पटक-पटक हारेको मान्छे। हार्दा पनि मकवानपुरको उन्नति प्रगति र यो भेगको जनताको लागि म जहिले पनि सर्मपित हुनेछु।

तपाईँको पूर्वअध्यक्ष अहिले नयाँ पार्टी खोलेर त्यसमाथि सूर्य चिन्ह लिएर तपाईँसँगै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ नि?   

त्यसमा कुनै अचम्म छैन। उहाँलाई त्यो पद चाहिएको थियो। त्यसकारण पनि आफ्नो पार्टीमा बसेर नदेख्ने भएपछि अहिले के कारणले हो अर्को पार्टीको चिन्हबाट उठ्नुभएको छ। त्योभित्र पनि धेरै एमालेका मित्रहरु असन्तुष्टि हुनुहुन्छ। त्यसकारणले उहाँ किन कसको ईशारामा गरिराख्नुभएको छ। मलाई भन्नु छैन।

मकवानपुरको राप्रपामा धेरै पसिना बगाएका नेता हुन् कमल थापा, राप्रपाको मत उतै जाने हो कि?

त्यो त स्थानीयको चुनावले पनि देखाईदिएको छ। अब आउने मंसिर ४ को चुनावमा पनि जनता न्यायाधीश हुन्छन्। मैले म जित्छु। उहाँले उहाँ नै जित्छु। डिनाजीले म जित्छु भन्नु स्वभाविक हो। तर मकवानपुरको माहोल बेग्लै छ। आज विचार, सिद्धान्त र नीतिमा छैन। आज गठबन्धन एउटा पूर्वबाट फर्केको छ अर्को पश्चिम फर्केको छ।  यो के को गठबन्धन? आफ्नो पार्टी चट्ट छोडेर अर्को पार्टीकाले पाइसकेको टिकट आफूले छड्काउँदा पनि गठबन्धन हो? छैन। सबैजना ठूला ठूला पार्टीका ठूला ठूला नेताहरु त्यो पद पाई त्यो सुबिधा उहाँहरुले पाइसक्नुभएको छ। नेपाली कांग्रेसको हेर्नुस्, डिनाजी १० वर्ष माननीय बन्नुभयो उहाँ जलस्रोत राज्यमन्त्री हुनुभयो। त्यही मान्छेलाई अहिले प्रत्यक्षको टिकट दिने के को लागि? महाभियोग लगाउने उहाँको पार्टी फिर्ता लिने उहाँ। हामी मकवानपुरेहरुको उहाँको त्यो हर्कतले शिर निहुरेको छ। आज कांग्रेसकै धेरै मित्रहरुले भन्नुभएको छ। डिनाजीले त्यो गर्नुहुन्नथ्यो।

उहाँले कुन चाहिँ नारीलाई रोजगारी दिन सक्नुभयो? उहाँले रोजगारी त आफ्नै श्रीमानलाई बीमा संस्थानको चेयरमेन बनाउनुभयो। कोहीले आफ्नै भाईलाई माननीय बनाएका छन्। त्यसकारण यो चोटी मैले जित्ने हो।

तर पटकपटक हार्नुभएको तपाईँ, यसपटक पनि मेयरमा तेस्रो हुनुभयो?

स्थानीय तहको चुनावमा पनि बाजी त मैले मारेको थियो। मेरो पार्टीका मेरै कार्यकर्ताहरुले यसरी भोट हाल्ने भनेर घरदैलोमा सिकाईदिएको भए ८ हजार ७ सय भोट बदर हुने अवस्था आउँदैथियो। त्यो बदरमध्ये ९८ प्रतिशत मत मैले पाएको थियो। मेरो कमी कमजोरीको कारणले हो। छोटो समय जम्मा ११ दिन मैले प्रचारप्रसार गर्न पाएँ। म बाहिरा थिएँ। मरो परिवार बिरामी थियो। तर आज त म ६ महिना भइसक्यो। घरदैलो किसान, मजदुर , विद्यार्थी, महिला दिदीबहिनी, किसान, मजदुर सम्पूर्ण गाउँ गाउँमा पुगेको छु। त्यसैले हेरिराख्नु यो चोटीको नतिजा के हुन्छ?  मैले पनि नसोचेको नतिजा मेरो पक्षमा आउँछ जस्तो लाग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell